Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

साफ च्याम्पियनसिपमा नेपालद्धारा बंगलादेश पराजीत

काठमाडौं । भुटानमा जारी १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले बंगलादेशलाई २–१ ले स्तब्ध पारेको छ । थिम्पुमा भएको खेलमा २२ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेर अग्रता दिलाएका थिए । तर त्यसको ८ मिनेट नपुग्दै बंगलादेशले बराबरी गोल फर्काएको थियो ।

५३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर विश्वनाथ घोस बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो । बंगलादेशको उत्कृष्ट प्रहारहरु नेपालले बचाएको थियो । १० खेलाडीमा सिमित भए पनि बंगलादेशले राम्रो प्रदर्शन गरेको थियो । ७९ औँ मिनेटमा नेपालले गोल गर्दै अग्रता लिएको हो ।

४० याडबाट हानेको फ्रि किक गोलमा परिणत भएको हो । यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । नेपालले आउँदो ११ गते भारतसँग खेल्नेछ । भारतसँगको खेल पनि जित्नुपर्ने दबाबमा नेपाल छ ।

गएको शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स छन् । सबैले एक अर्कासित खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबिच फाइनल खेल हुने छ । अहिलेसम्म अंकतालिकामा बंगलादेश, भुटान र नेपालको ६–६ साथै भारतको ३ अंक छ । माल्दिभ्सले भने खाता खोल्न सकेको छैन।


ताजा समाचार