Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

संबिधान दिवसमा राष्ट्रपति, प्रधानमन्त्री देखी दलका प्रमुख नेताको सन्देश

 

असाेज ३, काठमाण्डाैँ   । संबिधान दिवसको अबसरमा नेपाली राजनीतिको शिर्षस्थ तहबाट संबिधानको सबल कार्यन्वयनको प्रतिबद्धता आएको छ । संबिधानको सबल कार्यन्वयन र सर्ब स्वीकार्यता अबको चुनौति हो । यो चुनौति सामना गर्न राष्ट्रिय एकता अनिबार्य सर्त हो ।

तर पछिल्ला राजनीतिक घटनाक्रम र गठबन्धनले राष्ट्रिय एकता बलियो होइन कमजोर हुदै जान थालेको छ । यस्तो बेला संबिधान कार्यन्वयनको लागि सार्बजनिक गरिएका राजनीतिक तथा सरकारी प्रतिबद्धताहरु कसरी पुरा हुन्छन हेर्न धेरै पर पुग्नु पर्ने अबस्था छैन । नेपालको संविधान जारी भएको दुई बर्ष पुरा भएको छ ।

दुई बर्षको अवधिमा यसको कार्यन्वयनको लागि हुनु पर्ने स्थानिय तहको चुनव सम्पन्न हुने चरणमा छ भने प्रदेश तथा सँघको चुनाव पनि घोषणा भइसकेको छ । संविधान कार्यन्वयनको अवस्थाले गति लिइरहेको छ तर जुन गति लिनु पर्ने त्यो गति नदेखिएको आम जनवुझाई छ । दिवसकै अवसरमा राष्ट्रपति देखि दलका प्रमुख नेताहरुले सन्देश दिदै राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस भनि सन्देस दिएका छन् ।

राष्ट्रिय एकता, सहकार्य र सद्भाव कायम हुन सकोस्  : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको २०७४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छिन् ।
शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक क्षेण भएको उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ “संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ । यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”,

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएकी छिन् ।

संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट छ :  प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको सन्देश दिदै नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको वताउदै यो अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश दिँदै उनले संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको बताएका छन् ।
प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिएका छन् । स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ ।

संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको छ: ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको बताएका छन् ।

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै सन्देशमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरी निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढ्नेमा केन्द्रित हुन सबैमा आग्रह गर्दै यतिबेला देशलाई राष्ट्रिय एकताको आवश्यकता परेको बताएका छन् ।

 


ताजा समाचार