बर्दियामा चितुवाकाे छालासहित दुई जना पक्राउ
बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाको एक होटलबाट चितुवाको छाला किनबेच भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो नेपालगञ्जको टोलीले बर्दियाको गुलरियामा रहेको विजया गेष्ठ हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ९ निवासी ६३ वर्षका नरबहादुर शाही र बाँसगढी नगरपालिका-१ निवासी ५२ वर्षका जीतबहादुर देवकोटा रहेका छन् ।
उनिहरुलाई १ थान चितुवाको छाला बेचविखन गर्न राखिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
१० लाख रुपैयाँमा छाला किनबेच भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । १ फिट १० इन्च चौडा र ९ फिट लम्बाई भएको छाला बैतडीबाट चिसापानी, भोडीगाउँ हुँदै बर्दियाको गुलरिया ल्याईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ । छालासहित पक्राउ परेका उनिहरुलाई जिल्ला वन कार्यालय बर्दियामा बुझाईने उपरीक्षक भट्टराईले बताउनुभयो ।
उज्यालाे अनलाइनबाट