Loading... आजः बुधबार, कार्तिक ५, २०७७

दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार थापाकाे ‘रजगज’ मा

काठमाडौं । नेपालका राजनीतिक दल, अदालत र अख्तियारभित्र हुने गरेका भ्रष्टाचारको फेहरिस्त समेटिएको पुस्तक ‘रजगज’ मंगलबार सार्वजनिक भएको छ ।

पत्रकार हरिबहादुर थापाद्वारा लिखित पुस्तक ‘रजगज’ राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती, सांसद राधेश्याम अधिकारी र कान्तिपुर दैनिकका प्रधान सम्पादकले थापाको पुस्तकको विमोचन गरेका थिए ।

पुस्तकका लेखक हरिबहादुर थापाले नेपालमा राणा कालदेखि नै भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले राणा कालमा स्वदेशी पैसालाई विदेशमा लैजाने चलनको सुरुवात भएको बताउनुभयो । त्यस्तै प्रजातन्त्रकको स्थापनापछि २००७ सालदेखि ६३ सालसम्म पनि नारायणहिटी दरबार र त्यस वरिपरीका व्यक्तिले राज्यको ढकुटीको दोहन गरेको थापाले बताउनुभयो । उहाँले २०४७ साल पछाडि नेपाली राजनीतिक दलका नेताहरुले सरल र आदर्श जीवन बिताउन खोजे पनि छोटो समयर्म राजधानीमा महल बनाउने, पजेरो–प्राडो चढ्ने र छोराछोरीलाई महंगा विद्यालयमा पढाउने हैसियतमा पुगेको बताउनुभयो ।

नेपाली राजनीतिक दलहरु राजनीतिक मुद्दामा राष्ट्रिय सहमतिमा नआए पनि अनियमितताको विषयमा भने एक ठाउँमा उभिने गरेको थापाले बताउनुभयो । नेपालमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको भन्दै यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही गर्न नसक्ने उहाँले बताउनुभयो ।  थापा भन्नुहुन्छ, ‘संसदमा समेत विभिन्न चलखेल हुने गरेको छ, को कहाँबाट प्रभावित भएको हुन्छ थाहा नै हुँदैन ।’ थापाले विपक्षीले सत्ता पक्षले गरेको अनियमितताका बारेमा संसदमा आवाज उठाउनुपर्ने भए पनि नेपालमा त्यस्तो हुने नगरेको बताउनुभयो ।

पुस्तकका बारेमा बोल्दै कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले थापाले राणा कालदेखि नै नेपालमा हुने गरेको भ्रष्टाचारलाई पुस्तकमा समेटेको बताउनुभयो । उहाँले पनि नेपालमा भागबण्डा र अनियमितताका विषयमा दलहरुले राष्ट्रिय सहमति गर्ने गरेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले थापाको पुस्तक ‘रजगज’ले तीन कुरालाई उजागर गरेको बताउनुभयो । उहाँले थापाको पुस्तकले राज्यको ढुकुटीको दोहन, भ्रष्टाचारका वास्तविक दोषीले पाउने गरेको उन्मुक्ति तथा सरोकारवाला निकायमा बसेका जिम्मेवार नभएको कुरालाई प्रस्तुत गरेको बताउनुभयो । वस्तीले सरोकारवाला निकायमा बस्ने जिम्मेवार व्यक्ति इमान्दार हुने हो भने भ्रष्टाचार कम गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य वस्तीले पुस्तकमा नेपालमा विभिन्न कालखण्डमा भएका भ्रष्टाचारलाई थापाले केलाएको बताउनुभयो । उहाँले २०६२ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले नेपाल वायुसेवा निगमको जहाज व्यक्तिगत प्रयोजनका लागि तीन हप्ता अफ्रिका लगेको बताउनुभयो । त्यसको सम्पूर्ण खर्च सरकारले बेहोरेको थियो ।

त्यस्तै नेपालमा सम्पत्ति छानबिनको विषयमा कसैले दाइजो, कसैले पुख्र्यौली सम्पत्ति र कसैले कृषि आम्दानी भनेर सम्पत्ति विवरण बुझाउने गरेको बताउनुभयो । उहाँले नेताहरुका ‘रुखले आँप नफलाई रुपैयाँ फलाउने गरेको’ बताउनुभयो । त्यस्तै मौलाउँदै गरेको नीतिगत भ्रष्टाचारलाई रोक्न नसके यसले विकराल रुप लिने उहाँको भनार्य थियो । भ्रष्टाचारका विविध पक्षलाई उजागर गर्दै थापा ‘लाज जगाउने अभियानमा लागेको’ वस्तीले बताउनुभयो ।

त्यस्तै पुस्तकका बारेमा बोल्दै सांसद तथा संसदको विधायन समितिका सदस्य राधेश्याम अधिकारीले पहिले शासकका पक्षबाट इतिहास लेखिने गरे पनि अहिले नागरिकका पक्षबाट इतिहास लेखिन थालेको बताउनुभयो । उहाँले थापाको पुस्तक ऐतिहासिक दस्तावेज भएको बताउँदै लेखकले तटस्थ रुपमा घटनाक्रमलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपालको सार्वजनिक प्रशासनमा व्यापक भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले २०४७ साल पछाडिका सबै प्रहरी प्रमुखलाई भ्रष्टाचारको आरोप लाग्नुले प्रहरी भित्रको ‘सिस्टम’ नै पो फेलियर भएको हो कि भन्ने आशंका उब्जिएको बताउनुभयो । उहाँले भ्रष्टाचारलाई घटाउन सिंहदरबारमा बस्नेहरु नै इमान्दार हुनुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले थापाले ‘रजगज’ मार्फत नेपालका विभिन्न क्षेत्रमा भएका भ्रष्टाचारलाई प्रस्तुत गरेको बताउँदै सबैले भ्रष्टाचारको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले युवा पुस्तामा भ्रष्टाचारका विरुद्ध जागरण आएमा मात्रै भ्रष्टाचार कम हुने पनि बताउनुभयो ।

थापाको पुस्तक ‘रजगज’ फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हाे । ३५४ पृष्ठको पुस्तकको मूल्य ४८८ रुपैयाँ रहेको छ ।

उज्यालाे अनलाइनबाट 


ताजा समाचार