अमेरिकी चेतावनीपछि सेनालाई सजग रहन आह्वान
काराकास : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारीसाथ अघि बढ्न निर्देशन दिएका छन् । मादुरोले बिहीबार प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो तथा उच्च सैनिक नेतृत्व, रक्षामन्त्री, जनरल रेमेजियो सेवालस, रणनीतिक कमान्डर लगायतका सुरक्षा क्षेत्रका अधिकारीलाई भेला गरेर सैनिक अभ्यास शुरु हुन दुई दिनअघि इमान्दार र अडिग रहन निर्देशन दिएका हुन् ।
मादुरोले भने, ‘खासगरी सेनामा रहेका युवा, प्रष्ट हुनुपर्छ कि हाम्रो सेना मातृभूमिका लागि संघर्ष गर्नुपर्छ । यसको अर्थ सेनामा भएका शंका यति नै बेला छोड्नुपर्छ । तपार्इंहरू ट्रम्प र साम्राज्यवादीहरूसँग वा बोलिभरियन राष्ट्रिय सैनिक बल तथा मातृभूमिसँग कोसँग रहने निर्णय गर्ने बेला आएको छ । भेनेजुएलामाथि यसअघि कहिल्यै यस्तो चेतावनी आएको थिएन ।’
मादुरोले राष्ट्रिय संकट समाधान गर्न नसकेको बताउँदै उनको विकल्प खोज्न भन्दै प्रतिपक्षी दलको महिनौं लामो आन्दोलनको सामना गरेपछि संविधानसभाको निर्वाचन गराएका थिए । संविधानसभाले विभिन्न कार्य विभाजन गरी काम शुरु गरिसकेको छ । अहिले सरकारको मुख्य भरोसा सेना भएको र सेनाले खुट्टा कमाउन नहुने मादुरोको ठहर छ ।
तर प्रतिपक्षीले मादुरोलाई छाडेर आफूहरूको आन्दोलनलाई सहयोग गरी राष्ट्रियताको पक्षमा उभिन पटकपटक आग्रह गर्दै आएको छ । मादुरोले सेनालाई भीषण युद्ध गरेर अमेरिकी हस्तक्षेपको मुकाविला गर्न इमान्दारीसाथ लड्ने तयारी गर्न भेलामा निर्देशन दिए । भेनेजुएलाको सरकारलाई उनीहरू तानाशाही शासकका रूपमा व्यवहार गर्ने गरेको तर आफ्ना नागरिकको अधिकारका लागि डटेर अघि बढ्न आग्रह गरे ।
अन्नपुर्नपोस्ट बाट