Loading... आजः मङ्लबार, असार ८, २०७८

शैक्षिक सरोकारवालाका नाममा चिठी

ललित विक्रम सिंह, 

शिक्षाक्षेत्रको व्यवस्थापन र संचालनका विभिन्न क्षेत्र र तहमा संलग्न आदारणीय सरोकारवालाहरु सवैमा शैक्षिक अभिभावदन ।

हामी आज २०७३ भाद्र २३ गते तदअनुसार ८ सेप्टेम्वर, २०१६ का दिन Reading the past, writing the future भन्ने आर्दश वाक्यका साथ ५० औ अन्तराष्ट्रिय साक्षरता दिवस तथा समृद्ध राष्ट्रका लागि जीवनपयोगी शिक्षामा लगानी भन्ने आर्दश वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस मनाइ सकेका छौ । हामी सवैलाई अवगत छ कि हरेक दिवसका पछाडी एउटा ऐतिहासिक विरासत रहेको हुन्छ । साथसाथै उक्त दिवसले सम्वद्ध सरोकारवालाहरुमा नयाँ सन्देश, नयाँ सपना, नव योजना र नव मार्गदर्शन समेत प्रदान गर्ने प्रण गरेको हुन्छ ।

जुनसुकै दिवसले पनि विगतको समिक्षावाट वर्तमानमा सिकाइ लिने र भविश्यको नयाँ मार्गदर्शन तय गर्ने गर्दछ । अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवसका अवसरमा पनि यस क्षेत्रमा सम्वद्ध हामी सवैले आआफ्नो कर्मको गम्भिर समिक्षा गर्न जरुरी छ ।  यस पवित्र दिवसका दिन हामीलाई कुन काम ? कुन जिम्मेवारी ? कुन सेवा प्रवाहका लागि सार्वजनिक जिम्मेदारीका पदमा करार गरिएको थियो ? हामीलाई उक्त जिम्मेवारी निर्वाहका लागि भुक्तानी गर्नु परेको वेतनको व्ययभार राज्यले वोकी रहदा हामीले हामीवाट राज्यले अपेक्षा गरेको नतिजा दिन सक्यौ कि सकेनौ ? साथसाथै हामी यही समाजका सचेत नागरिक पनि भएकाले हामीवाट समाजले अपेक्षा गरेको व्यवहार प्रदर्शित गर्न हामी समर्थ  वन्यौ कि वनेनौ ? समिक्षाको विषय वन्नु पर्दछ ।

साथै हामी एउटा खोक्रो शरीरमा चेतना भर्ने, संस्कार भर्ने, सक्षमता भर्ने, मानवता भर्ने गहन जिम्मेवारीमा छौ, भलै कसैको काँधमा यो जिम्मेवारी प्रत्यक्ष होला, कसैको काँधमा अप्रत्यक्ष रहला । तर पनि जिम्मेवारी त छ नि ? । साथै यो जिम्मेवारी गहन पनि छ, संवेदनशिल पनि छ, युगिन पनि छ । तर हाम्रो व्यवहार जिम्मेवारीले मागे अनुरुप छ कि छैन ? जिम्मेवारीले भन्छ, तिमी आफ्नो  ड्युटीमा १ मिनेट ढिला हुन्छौ भने वालवालिकाको भविश्य १ दिन पर सरि सकेको हुन्छ, एक दिन ढिला हुन्छौ भने १ वर्षले वालक पछि परि सकेको हुन्छ, एवं रीतले तिमी जिम्मेवारीमा जतिजति ढिला हुदै जान्छौ, त्यति त्यति नै वालकको दुर्गति वढाउँदै जानेछौ, अहिले भएकै यहि होइन ? सुन्दर सुदुर भविश्यको आशा उमार्न विद्यालय पुगेका वालवालिकाहरुले भोगेको यर्थाथ के यहि होइन र ? मैले कति फोरममा सुनिसके, हाम्रै जिल्लाको शैक्षिक संस्थाले उत्पादन गरेका  स्नातकसम्म उतीर्ण जनशक्ति नेपालीको सामान्य अनुच्छेद सरसती पढन नसकिरहेको वास्तविकता ? । यसरी दशकौ वर्ष स्कूलमा विताएर निस्केको वालकले सामान्यत २÷३ वर्षकै अवधिमा सिकी सक्नु पर्ने कुरा सिक्न नसक्नु, सिक्न नपाउनु, सिक्न नसकाउनु, कस्को कमजोरी हो ? के यो हाम्रै कर्मले सिर्जना गरेको अपराध होइन र ? सोचौ, हामीले धेरै गल्ती गरिसकेका छौ, हाम्रा गल्ती अक्षम्य भइसकेका छन् ।  अझै यिनै गल्ती दोहोर्याउने, हिलोमा लम्पसार परीरहने, विराएको वाटोमा वरालिरहने कुचेष्टा भने नगरौ ।  यही कोर्स सच्याउनका लागि हामीले शै.स.२०७३ लाई शैक्षिक सुधारको वर्ष घोषणा गर्यौ । हामी शिक्षकहरु शिक्षण सिकाइमा प्रतिवद्ध हुने, अभिभावक र समुदाय विद्यालय र विद्यार्थीको नियमित पठनपाठनका लागि सहयोगी वन्ने, वि.व्य.स.,राजनैतिक दल र सामाजिक क्षेत्र विद्यालयको नियमित र प्रभावकारी पठनपाठनको वातावरण तयार पार्न हरदम प्रतिवद्ध हुने, प्रतिवद्धता व्यवहारमा खरो रुपमा कार्यान्वयन भएको देख्न सकिएन । १२ वर्ष कुकुरको पुच्छर ढुग्रोमा हाले पनि वाङगै भन्ने उखान फेरी पनि गलत सिद्ध गर्न सकिएन कि ? भन्ने लागिरहेछ । नियमित ढंगले गुणस्तरीय रुपमा पठनपाठन गर्न भनी नियुक्त भएको शिक्षकको विद्यालयमा नियमित उपस्थिति देखिएन, शिक्षक मित्रहरुलाई स्कूल जानोस, नियमित रुपमा पढाउनुहोस भनेर दिनदिनै भन्नु पर्ने भएसि कसरी होला गुणस्तरीय पठनपाठन ? विना सूचना पटक पटक अनुपस्थित हुने शिक्षकलाई किन यसरी गयल हुनु भयो ? समेत भन्न नचहाने र नसक्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति भएसि कसरी विद्यालयको सुचारु संचालन र व्यवस्थापनको आशा गर्ने ? यसरी नै आफ्नो जिम्मेवारी र कर्तव्य के हो ? आफू को हुँ सम्म भन्ने हेक्का राम्ररी नराख्ने व्यक्तिहरु नै जिम्मेवार शिक्षाकर्मी भै दिएसि, अझै उहाँहरुले नै चर्काेचर्काे श्वरमा कराउने आँट गरेसी हाम्रो शिक्षाको के होला हविगत ?, कस्तुरी आफ्नै नाभीको विना नचिनेर मर्छ भन्छन्, हामी मनुवाहरु आफ्नो गल्ती र कमीकमजोरीको रतीभर हेक्का नराख्ने तर जीन्दगीभर ३ औलाको मद्दत लिइ अर्कैको गल्ती कोट्याउन र औल्याउन शिवाय केही जान्दैनौ जस्तो पो लाग्न थाल्यो अचेल ।

आदारणीय सरहरु,

अहिले हाम्रा विकास र संभावनाका असीम स्रोतहरु विना उपयोग हुनुको रोदनमा छटपटिएका छन्, राष्ट्रको उत्पादन ठप्प छ, शिक्षित वेरोजगारी वढ्दो छ । लाखौको संख्यामा रहेका युवाहरु निरुद्देश्य वरालिएको देख्दा, भिसा र पासपोर्टको लाइनमा लामवद्ध भएको देख्दा, तमाम युवाहरुमा झागिएको विदेश मोह, विकृती प्रतिको मोह र विद्रोहको मोह देख्दा र वुझ्दा मन कटक्क काटिन्छ सवैको । उनीहरुमा अभूत पूर्व जोश जागर, उर्जा र सुन्दर भविश्यप्रतिको मोह नभएको होइन तर असिम संभावनाका खानी हुँदा हुँदै कतिको जीवन निरर्थक वनेको देखिन्छ, स्वप्ननील भविश्यको कल्पना कतिको जीवनमा निर्रथक संस्मरण मात्र सावित भएको छ ? कतिको गरिवी र अभावको जीन्दगीवाट उठेर अघि वढ्ने चाहना चाहना मै खुम्चिने अवस्था वनेको छ ? भएन अव त अघि वढ्नु पर्यो भन्दै अगाडी पाइला सार्नेहरु विगतकै थलोमा कति थचारिनु परेको छ ? कल्पना गरी साध्य छैन । कति मुना हुन चाहन्थे मुना हुन सकेनन् । कति मुनावाट फक्रन चाहन्थे फक्रन सकेनन, कति फक्रिएर सुगन्ध फैलाउन चाहन्थे फैलाउन सकेनन् । यहि होइन र हाम्रा युवाहरुले भोगेको वर्तमान ? ।

यस्तै प्रतिनिधि पात्रहरु मध्ये कोही कालापहाडमा विवसतापूर्ण वर्तमान धकेलिरहेछन् । कति साउँदीको चर्काे धुप पचाउन वाध्य छन् । कति स्वदेशमै रहेर आफ्नै माटोमा वरालिन विवश छन्  । कति जीवनको सार्थकता सिद्ध गर्न नसकेर आज अलाप विलाप गर्दैछन ? के उनीहरु अहिले जे छन् विगतमा त्यही हुन चाहन्थे ? के उनीहरुले आफ्नो जिवनमा मूलभूत परिवर्तन ल्याउनका लागि कुनै प्रयत्न गरेनन् ? हात वाँधेर वसिरहे मात्र ? के स्कूलको दैलो उघारेनन् उनीहरुले ? के उनीहरुका अभिभावकले उनीहरुको जीवनउपर कुनै आशा उमारेनन् ? आफ्ना छोराछोरीको सुन्दर सुदुर भविश्यको परिकल्पना कुनै गरेनन् ? के एउटा आमावावु हुनुुको कुनै कर्तन्वय निर्वाह गरेनन् ? यदि हो भने किन यिनीहरु वर्तमानमा वरालिन पुगे  ?, कालापहाड किन यिनीहरुको जिवनको पर्याय वन्या ?, अरवियन देशहरुमा दुखजिलो वर्तमान विताउनु पर्ने नियती किन आइलाग्यो ? । जे गर्दा नि जीवनको सुलतित वाटो पहिल्याउन नसक्ने विडम्वनाको सिकार किन यिनीहरु भइरहनु पर्यो ?। सुखको जिवन वाँच्ने चाहनामा किन वज्रपातको सामना गरिरहन पर्यो । किन आज यिनीहरुका जीवन जीउन गरिने हर प्रयत्नहरुले सर्पको रुख चढ्ने नियति वेहोरि रहन पर्यो ? । किन जीवनका हरेक क्षणहरुमा अलिनो मन पारिरहनु पर्यो ? आँखाहरुमा धमिलो भेल वगाइ रहन पर्यो ? मस्तिष्कमा आँधीवेहरी सिर्जना गरिरहन पर्यो ?।

यसरी आज हाम्रै समकोणमा उँभिरहेको एउटा  संभावनापूर्ण युवाले गरिवी, वेरोजगारी, अभावै अभाव, सपनाको मृत्यु, निराशा, कुण्ठा तथा दिग्दारीको जुन सामना गरीरहेको छ । त्यो हामीले सिर्जना गरेको परिवेशको उपज होइन र ? यदि होइन भने, के उस्ले जन्मजात रुपमा उस्ले वर्तमानमा सामना गरीरहेका समस्याहरु सवै वोकेर ल्याएको थियो त ? के उस्को जन्म समस्याको पोको मात्र थियो त ? यदि जनसाँख्यिक सिद्धान्तको कसीमा हेर्यो भने, उ त संभावनाको खानी मात्र थियो । आफ्नो जीवनलाई सक्षमतापूकर्वक चलाउन उसमा कमी केही के कुराको थियो र ?, के उ एउटा सक्षम प्रणाली सँगै लिएर पृथ्वीमा पर्दापण भएको होइन र ? । खाली मेरो प्रश्न आज एउटा युवा जे छ, उ उस्ले पाएकै शिक्षाको कारण त्यस्तो भएको होइन र ? हो नै भने राम्रोको जस लिउ, विग्रेको अपजस पनि आत्मसात गरौ र सुधारको वाटोमा अघि वढौ ।

सँगै एउटा व्यक्ति भित्र सक्षमताको विकास गर्न व्यक्ति, परिवार, समुदायदेखि लिएर राज्यको तहवाट समेत विभिन्न प्रयत्न पनि नभएका कहाँ हो र ? वच्चा गर्भमा रहेदेखी नजन्मदासम्म राज्यले स्वस्थ रुपमा जन्मन नसाघएको कहाँ होइन र ? जन्मी सके पछि पनि सक्षमताको विकासका लागि गाउँ गाउँ, टोल टोलमा स्कूल खोल्ने देखि लिएर स्तरयुक्त पठनपाठन गर्ने प्रयत्न नगरेको अवस्था कहाँ छैन र ? व्यक्ति स्वं पनि आफ्नो विकास र प्रगतिका लागि प्रयत्नसिल नभएको कहाँ हो र ? विडम्वना त के भन्दा जिवनको सार्थकता सिद्ध गर्न अनेकन प्रयत्न गर्दागर्दै पनि किन आज हाम्रा युवाहरु न घरका न घाटका वनिरहे । यसमा दोष कस्को ? शिक्षा प्रणालीको कि ?  तपाईहरुको पेशागत गैर जिम्मेवारी को कि ? कि जीवनलाई मिसगाइड गर्न गरी उ आफैले अंगिकार गरेको जीवनशैलीको ? कि अन्य कुनै कारणको ? । यस्को गम्भिर समिक्षा गरौ सरहरु ।

हामीलाइ अवगतै छ कि शिक्षा नै यस्तो शक्ति हो जसले ज्ञान गुणका कुरा मात्र सिकाउँदैन, हातमा सीप मात्र घस्दैन, मस्तिष्कमा समझदारी, मनमा आँट र आत्मविश्वास, काँधमा जिम्मेवारीको पनि विजारोपण गर्दछ । व्यक्तिमा अत्यावश्यकीय ज्ञान, सीप र अभिवृतिको विकास गरेर वयैक्तिक सामथ्र्यताको जन्म समेत गराउँछ । यहि व्यक्तिगत सामाथ्र्यले आत्मविश्वासको सिर्जना गर्दछ । त्यही आत्मविश्वासले प्रगति र उन्नतिको ढोका खोल्दछ । यति मात्र होइन शिक्षाले आर्दशवान नागरिक चरित्रको विकास समेत गर्दछ । गर्न हुने र गर्न नहुने कामको सीमा निर्धारण शिक्षाले नै गर्दछ । सुसस्कृत आचरणको विकास शिक्षाले नै गर्दछ ।  मैले के गर्दा मेरो र समाजको हीत हुन्छ, के गर्दा अहीत हुन्छ, सोको निक्र्याैल पनि शिक्षाले नै गर्दछ । यसरी शिक्षा नै त्यस्तो अस्त्र हो जसले व्यक्तिलाई प्रगति र उन्नतीका हिमशिखरहरु चढ्न उद्धेलित गर्दछ, केही गर्नका लागि मनमा आँट र प्यास अनि मस्तिष्कमा उर्जा उमारि दिन्छ, सपनामय जीवनको गन्तव्यमय यात्रा तय गरि दिन्छ । अनि व्यक्ति आफ्ना संभावनाका अनेक ढोका ढकढक्याउँदै निरन्तर रुपमा लक्ष्यको सुमार्गमा अविचलित रुपमा अघि वढिरहन्छ, लक्ष्यका गन्तव्यहरु एक पछि अर्काे चुम्दै अघि वढी रहन्छ निरन्तर ।  जसले गर्दा उस्ले नसोचेको भविश्य, नसोचेकै जीवनको प्राप्ती गर्न सक्छ अर्थात आफ्नो सर्वागिण विकासको प्राप्ती गर्दछ  । शिक्षाको यस्तो अपार शक्ति के हामीले हाम्रा मुनाहरुमा चढाउन सक्यौ त ? ।

यस्तो अनुपम शिक्षा, अपार शिक्षा, असीम शिक्षाको प्राप्तीका लागि हाम्रो भूमिका के रह्यो ? हामीले यस्को व्यवस्थापनमा कहाँ कहाँ ? कसरी कसरी योगदान पुर्यायौ ? हाम्रा कुन प्रयत्नले कति विद्यालय वने, कति नयाँ विद्यालय खुले, कति विद्यालयको सुव्यवस्थापन  भयो ? कति कक्षाकोठाको धुलो हट्यो ? कति कक्षाकोठाको फर्निचर वन्यो ? कति विद्यालयको खेल मैदान तयार भयो ? कति विद्यालय शैक्षिक सामग्रीको अभाववाट मुक्त भए ? कति विद्यालयले योग्य शिक्षक पाए ? कति विद्यालयहरु राजनीतिक दाउपेचको सिकार हुनवाट वचे ? कति  पढ्न नपाएको वालवालिकाहरुले विद्यालयको दैलो उघारे ? गरिवी र अभावको कारण विद्यालय शिक्षामा निरन्तरता दिन नसकिरहेका कति वालवालिकाहरुले आड र भरोसा पाएर विद्यालय शिक्षा पूरा गर्न सक्ने वातावरण पाए ? नियमित र स्तरीय पठनपाठनको सुनिश्चितता भइ कति वालवालिकाले सुन्दर सुदुर भविश्यको हकदार हुने मौका पाए ? के हामीले गरेका शैक्षिक योगदान र कर्तव्य निर्वाहको फेहरिस्त सम्झेर गर्भ गर्न सक्ने अवस्थामा छौ । हो, हामी कोही कर्मचारी छौ, कोही राजनीतिकर्मी हौ, कोही सचेत नागरिक हौ आदि आदि तर हामी सवैको काममा शैक्षिक जिम्मेवारी छ । हामी सवैले उक्त शैक्षिक जिम्मेवारी पूरा गरे पछि मात्र शिक्षामा सुधार संभव छ । तर यहाँ विडम्वना छ, शैक्षिक सुधारको जिम्मा जिल्ला शिक्षा कार्यालयको मात्र अझ जिल्ला शिक्षा अधिकारीको मात्र भनेर जुन  सतही वुझाइ छ । यसै वुझाइको सिकार भएको छ शैक्षिक सुधार, परिवर्तन र उन्नयन । के यो शैक्षिक सुधारको हविगत हामीलाई अवगत छ ? के हामी हरेकले आआफ्नो जिम्मेवारी चिन्ने, वुझ्ने र आत्मसात गर्ने गरेका छौ ? ।

आदारणीय शैक्षिक नीति निर्माताहरु, शैक्षिक योजनाकारहरु, राजनीतिकर्मी ज्यूहरु,

जिल्लाभरको शैक्षिक अवस्था हेर्यो भने, १२ वटा स्रोतकेन्द्र, ४५१ वटा विद्यालय, ३०७ वटा वालविकास केन्द्र, २४ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । यिनै निकायवाट प्रत्येक दिन ७२ हजार विद्यार्थीलाई नियमित रुपमा शिक्षण सेवा प्रवाह हुन्छ ।  यिनी ७२ हजार विद्यार्थीको नियमित र स्तरयुक्त पठनपाठनको चिन्ता गर्ने यिनका दाइ भाइ, दिदी वहिनी, वाजे वज्यै घटाउँदा र वावु र आमाको मात्र हिसाव गर्दा शैक्षिक सेवाको सेवाग्राही अन्य १४४ हजार जनसंख्या भयो । यिनीहरुकै सेवा प्रवाहमा संलग्न शिक्षक कर्मचारी गरेर ४ हजारको थप संख्यालाई समेत व्यवस्थापन गर्नु पर्ने अवस्था छ । यिनै वालवालिकाको लागि  एक हजार विद्यालय भवन, १ हजार शौचालय,  ४ सय ५१ पुस्तकालय, ४५१ खानेपानी धारा र  २ सय प्रयोगशाला समेत गरि ४ हजार वढी कक्षाकोठा, ३६ हजार थान फर्निचर, ७२ हजार सेट पाठ्यपुस्तकको आवश्यकता पर्दछ ।  यस्को समग्र व्यवस्थापनको जिम्मेदारी सर्लक्क जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारीको थाप्लोमा थुपारेर अनि चोकचोकमा जिल्ला शिक्षा कार्यालयलाई गाली गर्दै जिल्लाको शैक्षिक विकास र उन्नयनमा चासो नराख्ने, चिन्ता नगर्ने तर असन्तुष्टी मात्र पोख्ने, आलोचना मात्र गर्ने प्रचलनले शिक्षाको विकास हुन सक्ला र ? साथै मैले स्थानीय निकाय लगायत सम्वद्ध विभिन्न स.घसंस्थाको योजना र वजेट निर्माणको चरणमा सुन्ने गरेको छु । विद्यालयलाई, शिक्षालाई वजेट किन ? यसको लागि जिल्ला शिक्षा कार्यालय छँदै छ त ? यो सुन्दा मलाई लाग्छ, हाम्रो यही मोटो वुद्धी र विवेकले आज जिल्लाको शैक्षिक अवस्था दुरह वनेको छ । हामीले प्रत्येक योजना निर्माणका हरेक चरणमा, स्रोत साधन तथा वजेट विनियोजनका हरेक चरणमा हामीले कहिल्यै पनि उचित भवन र कक्षाकोठा नपाएर घाम पानी सहेर पठनपाठन गराइ रहेका विद्यालयहरुलाई सम्झन सकेनौ, विद्यालयमा यथोचित फर्निचर नपाएर धुलाम्मे भइ पढ्न विवश विद्यार्थीहरुको मर्का वुझ्न सकेनौ, शौचालय र रेष्ट रुम नभएका कारण स्कूल नछोडू भन्दा भन्दै छोड्न वाध्य वालवालिका र किशोरीको मनोविज्ञान वुझ्न सकेनौ, पुस्तकालय र प्रयोगशाला नहुदा ज्ञानप्राप्तीको भोक जाग्रित गर्न नपाएका र ज्ञान प्राप्तीको भोक प्यासवाट तृप्त हुन नसकेका हाम्रा कर्णधारहरुको मर्म वुझ्न सकेनौ । हाम्रा वालवालिका, विद्यार्थी र विद्यालय प्रतिका यि वेवस्ता र नजर अन्दाजको आंकलन गर्दा मलाई प्रश्न गर्न मन लाग्छ, विद्यालयमा पढ्ने वालवालिका आखिर हाम्रै परिवार र समाजका सदस्य होइनन र ? विद्यालय हाम्रा सामाजिक विकासका संवाहक संस्था नभइ के हुन ? हुन भने, विद्यालय र विद्यार्थीप्रति किन घोर उपेक्षा तपाई हामीहरुको ?

हामीले जिल्लाको समग्र विकासको योजना र वजेट वनाइरहदा, जिल्लाको विकास र प्रगतिको वहस छेडिरहदा तथा चिन्ता र चासो गरिरहदा, यस्को केन्द्रविन्दु विद्यालय रहनु पर्दछ, वन्नु पर्दछ । यदि वन्न सकेन भने, त्यो वहस, त्यो योजना, त्यो वजेट निरर्थक वन्दछ । किनकि चिनिया उखान नै छ, एक वर्षका लागि हो भने धान रोप, १० वर्षका लागि हो भने रुख रोप, १०० वर्षका लागि हो भने शिक्षामा लगानी गर । यो उखानलाई के हामी हाम्रा योजना, नीति र कार्यक्रम निर्माणमा आत्मसात गर्न सकेका छौ त ? ।

हरेक वालवालिकालाई सफलताको सिढीमा पुर्याउन, सुन्दर भविश्यको हकदार वनाउन गरिएका प्रयत्न, ठेकिएका जिम्मेवारी धेरै पूरा भएनन, पूरा नभएकै कारण यो हवीगत भयो, यसै कारण कति सुन्दर भविश्यको विट मार्दै मुग्लान पसे, कति जीवनको प्रवाह नगरी खाडी छिरे, कति जीवन उपर जोखिम उठाउँदै कुलतको दलदलमा फसे, कतिले सडकसँग साहरा मागे, कतिले विद्रोह गरे, कतिले विद्रोहको तानामाना वुन्दै होलान । यि विभिन्न प्रसंग उमारिरहदा, गल्ती कहाँनेर भयो, कमजोरी कस्ले गर्यो । सुधार कसरी गर्न सकिन्छ ? सोचौ र लागौ, विगतको पश्चताप नगरौ, वरु विगतवाट सिकेर अघि वढौ ।

१) पहिलो गल्ती घर परिवारवाटै भयो । गरिवी, अशिक्षा र अभावका कारण उचित लालन पालन, उपयुक्त शिक्षा दिक्षाको प्रवन्ध मिलाउन परिवार चुक्यो । जसले गर्ला कोही अस्वस्थ, रोगी भयो होला, ढिलो गरी स्कूल गयो होला, वीचैमा पढाइ छाड्यो होला ।

२) दोस्रो गल्ती राज्यवाटै भयो । शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुच विकास भएन । भएकामा गुणस्तर भएन । न्यूनतम पूर्वाधार भएन । स्कूल त खुले, शिक्षक दरवन्दी पर्याप्त भएन ।

३) तेस्रो गल्ती शिक्षकवाट भयो । उनीहरु प्राय शिक्षण कौशलमा दक्ष भएनन, पेशागत दक्षताको विकासमा प्राय लागेनन, भएका विद्यार्थीको सिकाइप्रति उत्तरदायी भएनन । जागिरे मानसिकताले राज गर्यो । हाजिर लगाउने, कक्षामा जाने काम त भयो होला तर विद्यार्थीको सिकाइ स्तर कसरी विकास गर्ने ? कसरी विद्यार्थीलाई सक्षम वनाउने ? कसरी गुरु गूढ, चेला चिनी वनाउने ध्याउन्ने भएन ? गुरु दधिची जस्तो चेलाको सर्वागिण विकासमा समर्पित हुन सकेनन शिक्षकहरु । समस्या यहिनेर रह्यो, अझ त अनेकन वहानामा स्कूलमा गैर हाजिर रहने, पढाउनुलाई कष्टप्रद ठान्ने अवस्थाले गाँज्दै ल्यायो ।

४) चौथो गल्ती विद्यार्थीवाटै भयो । आफ्नै खुट्टामा नजानिदो ढंगले वन्चरो प्रहार गर्दैछन् विद्यार्थीहरु । उनीहरुको ध्यान पठनपाठनमा नभइ परीक्षामा पुग्यो । आफ्नो ज्ञान, सीपका सिकाइ र आचरणको विकसमा उनीहरुले ध्यान दिन छाडे, दुःख गरेर पढ्ने विषय दूर भयो, मोज गर्ने सोच पलायो । शिक्षकले नियमित रुपमा नपढाएकोमा उनीहरुमा आक्रोस छैन, आक्रोस त परीक्षामा चीट चोर्न नपाएकोमा र नचोराएकोमा पो वढ्न थाल्यो । कक्षाकार्य र गृहकार्य पूरा गर्न नभइ कसरी छल्न सकिन्छ भन्ने योजना उनीहरु गर्न थाले । अझ त स्कूल लाइरा हुन्छ, विद्यार्थी स्कूलमा देखिदैन । लामो विदा पछि विद्यालयको हेडसर र जिल्ला शिक्षा अधिकारी घरघरमा स्कूल आउन हो भन्दै निम्ता दिन जानु पर्ने अवस्था पो देखिन थालेको छ । साथै स्कूलमा तर्दथ खालको उपस्थिति देख्छु म त, जस्तो किताव, कापी,  कलम अँगालोमा वोकेर स्कूल जान्छन् उनीहरु, यिनीहरुलाई झोला वोक्ने चेतना नभएको कि चेत नखुलेको, झोला त वोकेर आउँ भन्न विद्यालयले भन्न नसकेको कि नचाहेको ? स्कूल पोशाकमा स्कूल इतरमा उनीहरु रहदा अभिभावक र शिक्षक कता भूमिगत रहेको ? इन्टरभल पछि उनीहरुको टाप कस्ने योजना किन विफल वनाउन नसकेको ?

५) अभिभावकको गल्ती झनै अक्षम्य । आफ्नो छोराछोरीका लागि विद्यालय जानका लागि आवश्यक शैक्षिक सामग्रीको जोहो गर्न, घरमा उपयुक्त पठनपाठनको वातावरणको प्रवन्ध गर्न, स्कूलमा उनीहरुको गतिविधिको नजिकवाट अवलोकन गर्न र उनीहरुको शिक्षण सिकाइ वारे विद्यालय र शिक्षकसँग नियमित अन्तरक्रिया गर्न अभिभावक चुकेका छन् । जसको प्रतिफल उनीहरु आफै भोग्दै छन् ।

साथै शिक्षाको सर्वसुलभ पहुँच विकास गर्न हामीले गरेका प्रयत्न के पर्याप्त छन् ? विद्यालयको स्थापना र संचालन गर्दा  उक्त विद्यालयवाट लाभान्वित हुने वालवालिका हाम्रो प्राथमिकतामा रहे कि उक्त विद्यालयमा शिक्षकको रुपमा नियुक्तिको अवसर पाउने अमुक व्यक्ति प्राथमिकताको विषय वने ? ।

विद्यालयको प्रधानाध्यापक हुँदा विद्यालयको विकास, विद्यार्थीको सिकाइ उपलव्धी हाम्रो अर्जुन दृष्टि वन्यो कि विद्यालयमा प्राप्त हुने स्रोत साधनको वयैक्तिक हीतमा दोहन गर्ने विषय ? विद्यालयको शिक्षकमा नियुक्ति पाउँदा हामीले अवोध वालवालिकाको सुन्दर भविश्य निर्माण गर्ने विषयलाई प्राथमिकता दियौ कि जसोतसो तलव थापेर आफ्नो जिजिविसा चलाउने विषयलाई ?

आज हामी यि र यस्तै अनेक प्रश्नहरुले घेरिएका छौ । यिनै प्रश्नहरु अनुत्तरित भइरहदा शिक्षण जस्तो सामाजिक मर्यादाको उच्च सिढीमा रहेको पेशा धर्महराटको अवस्थामा छ । सामाजिक सम्मानको भावले हेरिने शिक्षक सामाजिक अपमानको हिनतावोधवाट ग्रसित हुन वाध्य छ । हामीले किन आज शिक्षण पेशाको मर्यादालाई स्खलनको दलदलमा भासेका छौ, फसाएका छौ ।

१ )   हामी जागिरे भयौ, शिक्षक हुन सकेनौ, पेशाका लागि अत्यावश्यक त्याग र सर्मपण घटाउँदै जाँदा लोभ र स्वार्थको श्रृखला विस्तार हुँदैै जान्छ अनि व्यक्ति वढ्दो लोभ र स्वार्थको कारण म र मेरो मात्र प्रधान ठान्छ । अरु सवै गौण देख्छ ।

२ )   हामीले हाम्रो कर्तव्य र जिम्मेवारीलाई अन्य पेशासँग दाँज्न थाल्यौ, आह्रा रिस गर्न थाल्यौ । राम्रोलाई नराम्रोसँग तुलना गर्न पुग्यौ फलत राम्रो नराम्रोमा परिणत हुँदै गयो, दिन ढल्यो अँधेरी रातमा भने झै ।
३ ) सर्वाेत्कृष्ट पेशालाई सर्वाेत्कृष्ट व्यक्तिको रोजाइको विषय वनाउन सकेनौ । कहि नसके शिक्षक, सवै भन्दा कमजोर शिक्षकको अवस्था रह्यो ।

निष्कर्षमा 

सरहरु हामीले सत्य नै वोल्न पर्दछ कि शिक्षा सपार्न न शिक्षक अघि सर्यो, न शिक्षाविद अघि वढ्यो, न दलले नै नेतृत्व लिए । शिक्षामन्त्रीको पद मुख्य दलहरुले रोज्ने भन्दा छोड्ने विषय धेरै वन्यो ।  शैक्षिक ऐन कानूनहरुको निर्माण र विर्निमाणमा यथोचित ध्यानदिन सकिएन । नत्र खुला विश्वविद्यालय ऐनले सार्थकता पाउन डेढ दशक किन लाग्थ्यो ? शिक्षा ऐनको आठौ संशोधन हुन किन १२ वर्ष कुर्नु पर्दथ्यो ? शिक्षक व्यवस्थापनको विषय किन दिन दिनै जटिल वन्थ्यो ? यसरी हेर्दा कमजोरी राजनीतिमा पनि छन्, कर्मचारीतन्त्रमा पनि छन्, शिक्षकहरुमा पनि छन्, विद्यालय व्यवस्थापन समितिमा पनि छन्, विद्यार्थी र अभिभावकको तहमा पनि छन् । सर्वत्र छन, सर्वव्यापी छन् । यि सवै खाले कमजोरीको न्यूनीकरण चाहिरहेको छ, शिक्षा क्षेत्र । विगतको समस्याको गाँठो फुकाएर अघि वढ्न चाहिरहेका छ, शिक्षाक्षेत्र । यसरी नै हरेक वालवालिका सुन्दर भविश्यको खोजीमा भौतारिएको छ, छटपटिएको छ, आफ्नो सफल भविश्यको सुनिश्चितता खोजिरहेको छ उ । अभिभावकका लागि पनि छोराछोरीको भविश्य भन्दा प्यारो चिज केही छैन यहाँ । छोराछोरीको भविश्यका लागि के गर्न तयार छैनन अभिभावक ?, खाडी मुलुकमा स्वाभिमान वेच्न तयार छन, जीवनको जोखिम उठाएर आँखामा नानीहरुको सपना सजाउन तयार छन्, घरवार, थातथलो छोडेर दुःख गर्न, कष्ट मोल्न तयार छन् । अव एक पटक फेरी सोचौ, यिनै नानीहरुको भविश्य निर्माणका लागि समाज र राष्ट्रले हामी उपर धेरै विश्वास गरेको छ, तिनै घरवार र थातथलो छाडेका नेपालीहरुको श्रम पसिनावाट आएको पैसावाट हामीलाई राज्यले पालेको छ भने हामी तिनैका सन्ततीको भविश्य निर्माण गरी तिनीहरुले जीवनमा भोगेको पिडा किन चट गर्न लागि नपर्ने ? साथै हामीमा पेशागत दक्षता छ, ज्ञान छ , सीप छ, यो पेशाको मर्यादा राख्न के कुराको कमी छ र हामीमा ? छैन केही कमी । कमी भए, प्रतिवद्धता, इच्छाशक्ति र समर्पणको कमी होला, इमानदारिता र अनुशासनको कमी होला । यो कमिको अव निराकरण गरौ, व्यवहारगत कमिकमजोरीले पेशागत मर्यादालाई छोपेको छ, अव हटाऔ र एक पटक फेरी शिक्षक महान, शिक्षक असल, शिक्षक सर्वज्ञ र शिक्षक नै सामाजिक विकासको अभियन्ता भन्ने विरासतको पुनरावृति गराऔ । यही मेरो अनुरोध सवैमा, यहि मेरो शुभकामना अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस, २०७३ को । धन्यवाद ।

 (लेखकः जाजरकोट जिल्ला शिक्षा अधिकारी हुन्)


ताजा समाचार