Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जाजरकोटमा बलात्कारका मुद्दाहरू आर्थिक लेनदेनमा यसरी प्रभावित हुन्छन्

जाजरकोट: जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ मचकोटका २५ वर्षीय कृष्णबहादुर शाहीलाई ४ महिना सम्म कारागार बस्नुपर्‍यो । सोही ठाउँकी महिलालाई जबर्जस्ती गरेको उनीमाथि आरोप थियो । पीडितको जाहेरी अनुसार जिल्ला अदालतले शाही विरुद्ध अभियोग अघि बढाएपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । तर पीडित महिलाले अदालतमा गरेको प्रति बयानले कृष्णबहादुरलाई लागेको जबर्जस्ती अभियोग ठहर हुन सकेन ।

छेडागार नगरपालिका–१० झाप्राका विश्व थापा र पदम महरलाई १३ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको आरोपमा ५ महिना जेल बस्नुपर्‍यो । त्यस्तै, वडा ३ का चन्द्रबहादुर शाही र ८ का शेरबहादुर बुढा पनि सोही आरोपमा ३ महिना कारागार बसे । अदालतले थापा, महर, चन्द्रबहादुर र शेबहादुरलाई पनि उक्त अभियोग ठहर गर्न सकेन ।

जाहेरीवाला पीडितले नै अदालतमा बयान फेर्दा अभियोग ठहर हुन नसकेको हो । अदालतले कृष्णबहादुर र शेरबहादुरका नाममा झूटो जाहेरी दिने तथा मुद्दाको बयान फेर्ने २ महिलालाई ३ हजारका दरले जरीवानासमेत गरेको छ । यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, पीडितले जबर्जस्ती करणीबारे प्रहरीमा जाहेरी दिने र आर्थिक लेनदेनपछि अदालतमा बयान फेर्ने गर्दा बलात्कारका अधिकांश मुद्दा ‘होस्टाइल’ हुने गरेका छन् । जाजरकोट अदालतमा चालु वर्षमा जबर्जस्तीका आधा दर्जन मुद्दा होस्टाइल भए ।

पीडित पक्षले बलात्कार मुद्दा दर्ता गर्ने र अदालतमा गएर होस्टाइल गर्ने गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । आर्थिक चलखेलपछि पीडितले अदालतमा बयान फेर्ने गरेको रिमाल बताउँछन् । जुन गतिविधिले वास्तविक पीडितले न्याय नपाउने अवस्थाको सिर्जना भएको रिमालले बताए । ‘पीडितको जाहेरीबमोजिम आरोपीलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने, साक्षी प्रमाण जुटाउने, मुद्दाको अंग पुर्‍याउनेलगायत कार्य सम्पन्न भइसकेपछि मुद्दा होस्टाइल हुन्छ,’ उनले भने । पीडित पक्षको होस्टाइलले मुद्दाको अंग पुर्‍याउनका लागि सरकारी वकिल, प्रहरीलगायत जनशक्तिले गरेको मेहेनत खेर जाने गरेको रिमालले बताए । वास्तविक पीडितले पनि आर्थिक प्रलोभनमा बयान बदल्ने गरेको उनको भनाइ छ । जबर्जस्ती करणी मुद्दाका पीडकबाट २ देखि ५ लाखसम्म रकम असुलेपछि पीडित होस्टाइल हुने गरेको अधिवक्ता सहदेव जंग शाह बताउँछन् ।

जाजरकोटमा पछिल्लो समय यस्ता विकृति अति मौलाउँदै गएको अधिवक्ता शाहले बताए । कतिपय जबर्जस्ती करणी मुद्दाका पीडितले मिसिलको ठीक उल्टो बयान गरेर पीडकलाई उम्कने मौका दिएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीको बुझाइ छ ।

जाहेरी दरखास्तको व्यहोरा इजलासमा गरेको बयानमा आकाश–पाताल फरक हुँदा पीडकलाई उन्मुक्ति मिल्न गएको हो,’ उनले भने । अदालतमा पुगेर होस्टाइल हुने नाबालकबाहेकका महिलालाई जरिवाना गर्ने गरेको उनले बताए । यस्तो प्रचलन बढ्दै गए त्यस्ता महिलालाई कैद सजाय पनि गर्न सकिने जिल्ला न्यायाधीश अधिकारीले बताए ।

कान्तिपुरबाट


ताजा समाचार