Loading... आजः शनिबार, कार्तिक ६, २०७८

गाउँपालिकाको बजेटः गर्भवती महिलालाई एक किलो नुन र जनतासँग अध्यक्ष रेडियो कार्यक्रम

सल्यान: सल्यानको त्रिवेणी गाउँपालिकामा नीति तथा कार्यक्रम (बजेट) प्रस्तुत गरिएको छ । बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभामा २० करोड ३१ लाख ४८ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको गाउँसभामा बजेट तर्जुमा तथा कार्यक्रम समितिका संयोजक करुणा खड्काले वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट पेश गरेकी हुन् ।

जसअनुसार पूर्वाधार विकासमा ५ करोड ५० लाख ५० हजार, सामाजिक विकासतर्फ ३ करोड ३५ लाख ७६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ३८ लाख २४ हजार बजेट विनियोजन गरिएको छ । आर्थिक विकासमा ९ लाख, संस्थागत विकासमा ४० लाख २६ हजार, वित्तीय व्यवस्थापनमा ४३ लाख ५० हजार र म्याचिङ फन्टमा १ करोड १० लाख बजेट पेश गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खड्काले गर्भवती महिलालाई गर्भ जाँच गर्न आउँदा १ किलो आयोडिनयुक्त नुन दिने, सुत्केरी खर्च रु ५ सय र वच्चालाई न्यानो झोला वितरण गरिने घोषणा गरिन् ।

यस्तै त्रिवेणी गाउँपालिकाले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सम्मान गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने, धुवाँरहित चुल्हो बनाउने, प्रत्येक वस्तीमा कृषि–प्राविधिक भेटघाट कार्यक्रम संचालन गर्ने तथा भौतिक पूर्वाधारतर्फ ५ लाख भन्दा कमका योजना छनौट गर्न नपाइने नीति लिएको छ ।

जनगुनासो सुन्न र प्रत्यक्ष सम्बोधन गर्न जनतासँग अध्यक्ष रेडियो कार्यक्रम तथा रेडियो बहस कार्यक्रम संचालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
एक घर एक रुख रोप्ने, एक घर एक करेसाबारी, २ वर्षभित्र धुवाँमुक्त र पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउनका लागि अभियान नै संचालन गरिने पनि बजेट तर्जुमा तथा कार्यक्रम समितिका संयोजक खड्काले जनाइन् ।

गाउँसभा उद्घाटन समारोहमा सल्यानका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सफा, हराभरा, शुन्दर, शान्त र सुशासनयुक्त त्रिवेणि गाउँपालिका बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको जनाउँदै अव जनताले परिवर्तनको महसुश गर्ने विश्वास व्यक्त गरे ।

यस्तै स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, कांग्रेस सल्यानका सभापति गणेश चन्द, पूर्व जिविस सभापति उदय बोहरा, पूर्व कांग्रेस केन्द्रीय सदस्य डिल्ली रेग्मी, एमाले सल्यानका सदस्य लोकेन्द्र खड्का लगायतकाले शुभकामना मन्तव्य राख्दै सर्वसाधारण नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने र बढि भन्दा बढि स्थानीयहरुको सहभागीता हुने योजनाहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले आफु एक्लै नभएको भन्दै आफूसहितको टिमले सबै तह र क्षेत्रका नागरिकहरुसँग सल्लाह समन्वय गरेर उत्कृष्ट गाउँपालिका बनाउने सपना रहेको जनाएका थिए ।


ताजा समाचार