Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

नगरका मेयर घरैबाट बोकेर ल्याएको काठे कुर्सीमा बसेर जनताको काम गर्दै

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा निर्वाचित मेयरले काठे कुर्सीमा बसेर जनताको काम गर्न सुरु गरेका छन् । काँग्रेसबाट हालै निर्वाचित भएका मेयर दिलबहादुर ऐरले सुविधा सम्पन्न सरकारी कुर्सी छोडेर काठे कुर्सीबाटै कार्यालयको काम सुरु गरेका हुन् । उनको नामै काफी छ दिलबहादुर । उनको दिलले जे माग्यो त्यही भयो ।

जनताको सेवा नगरपालिकाको बजेटमा खरिद गरिएको घुम्नेकुर्सी बाट होइन भन्दै घरैबाट काठको कुर्सी बोकेर कार्यालय पुगेका मेयर दिलबहादुर भन्छन्– ‘म जनताको कामदार तथा सेवक हुँ । सँधै काठको कुर्सीमा बस्ने गरेको छुँ । नगरपालिकाको कामकाज गर्दा पनि काठको कुर्सी नै उपयुक्त हुन्छ ।’  जनताको काम गर्न पाउनुमै दिल खुस् पारेका मेयर दिलबहादुरले घरबाटै कुर्सी बोकेर आएको बताए ।

सधै साधारण लवाई खवाई मन पराउने दिलबहादुरले सरल स्वभावले नै शुक्लाफाँटाबासीको दिल जिते । पातलो शरीर  र मिलनसार स्वभाव भएका मेयर   दिलबहादुर आनी बानीले नै नागरिकको रोजाइ बन्न पुगे । कर्मचारीसँग पनि उतिकै भद्रता प्रदर्शन गरिरहेको भन्दै नगरका कर्मचारी खुलेरै प्रशंसा गर्छन्  ।

नयाँ मेयरका लागि भनेर नगरपालिकाले २२–२५ हजार खर्चेर कुर्सी खरिद गरेको छ । कार्यालयले मेयर निर्वाचित हुनु अघिनै कुर्सी खरिद गरिसकेकाे थियाे । तर, मेयर साब घरैबाट काठको कुर्सी बोकेर कार्यालय आउनुभयो,  शुक्लाफाँटा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले भने, ‘हामीले कर गर्दा पनि घुम्ने कुर्सीमा बस्न मान्नु भएन ।’ उहाँको साधारण जीवन शैली नरम र मिजासिलो स्वभावले चुनाव मात्रै होइन हामी सबैको मत जित्नु भएको छ, कार्यकारी अधिकृत बुढाले भनेका छन् ।

पहिलेदेखि समाजसेवामा सक्रिय मेयर दिलबहादुर भन्छन्, ‘जनताको सेवा गरेकैले मलाई जनताले पुरस्कृत गरे । जनताको सेवा गर्न मेयरका रुपमा जिते पनि शुक्लाफाँटाबासीको समग्र विकास मेरो ध्यय हो, कुर्सी होईन ।’ सामाजिक सेवामा समर्पित मेयर दिलबहादुर गोर्खा दक्षिणबाहु जस्तो राष्ट्रिय पदकबाट सम्मानित व्यक्ति हुन् ।  उनको जीवनशैली नजिकैबाट बुझेका स्थानीय दुर्गादत्त भट्ट भन्छन्, ‘साधा जीवनका धनी दिलबहादुर जस्ता मेयरको विचार र उहाँको धारणाको सबैले अनुसरण गर्ने मात्रै हो भने पनि स्थानीय तह सुशासनयुक्त र भ्रष्टाचारमुक्त हुन्छ ।’

दिलबहादुर समाजवादी चिन्तनका उदाहरण हुन् । नगरपालिकाको कार्यालयमा बसेर जनताको काम गर्न  घरैबाट कुर्सी बोकेर कार्यकक्षमा छिरेका मेयर दिलबहादुरको बानी सुन्दा आश्चर्य लागेपनि यो कामलाई धेरैले अनुकरणीय भनेका छन् ।

हाम्राकुराबाट


ताजा समाचार