Loading... आजः सोमवार, कार्तिक १०, २०७७

सामान्य पात्रको अर्को कथा ‘धनपति’

गत वर्ष निस्किएको खगेन्द्र लामिछानेको कथा संग्रह ‘फूलानी’भित्र एउटा कथा छ ‘बाउसाप्को साइकल’। कथाको मूल पात्रको नाम हो भुवनेश्वर। यो साल खगेन्द्रले कथा र कथाका पात्र भुवनेश्वरको नाम परिमार्जन गरेर चलचित्र बनाएका छन् ‘धनपति’।

‘पशुपतिप्रसाद’ होस् चाहे ‘टलकजंग भर्सेस टुल्के’ आम पात्रको संवेदनालाई सूक्ष्मतापूर्वक समात्न प्रयास गर्नु खगेन्द्रको विशेषता हो। ‘धनपति’मा पनि उनले आम पात्रको भोगाइ, नियति, सपना र मनोविज्ञान उतार्ने सिलसिलामै उनले धनपति पात्र चुनेका छन्। अघिल्ला फिल्ममा झैं यस पटक पनि उनी आफैं केन्द्रीय भूमिकामा छन्।

धनपति बुबा हो, श्रीमान् हो र हो विगतमै भए पनि सम्पत्ति, शक्ति र राजनीतिसँग नजिक भएको सम्भ्रान्त परिवारको छोरा पनि। तर आफ्नो विगतलाई बिर्संदै काठमाडौंको एउटा रेस्टुराँमा काम गरेर जीविकोपार्जन गर्ने पात्र हो।

धनपतिको छोरी सानी छ। आफ्नी सानी छोरी झैं उसको सपना पनि ठूलो छैन। सहरका धेरै नानीबाबु झैं ऊ आफ्नी छोरीलाई सरकारी स्कुलको साटो बोर्डिङ स्कुलमा पढाउने सपना पालेर बसेको छ। तर काठमाडौंको महँगीमा एउटा सानो रेस्टुराँमा काम गरेर यो सपना पूरा गर्नु उसका लागि आकाशको फल आँखा तरी मर् बनेको छ।

छोरीकै उमेरका नानीहरु स्कुल र निजी गाडीमा स्कुल गएको देख्छ, उसलाई औडाहा हुन्छ। जबजब छोरीले सरकारी स्कुलको साटो निजी बोर्डिङमा पढ्ने जिद्दी गर्छे, ऊ भित्रभित्रै छटपटाउँछ। उसलाई यो गरिबीबाट मुक्ति पाउन केही गरौं भन्ने लागिरहन्छ। धनपतिको यो छटपटीमा उसकी पत्नी (सुरक्षा पन्त) पनि सरिक हुन्छे। श्रीमतीको आँखामा देखिने छटपटीले धनपतिको दुःखलाई झनै दोब्बर बनाउँछ। त्यही भएर ऊ घरी सुकसुकाउँछ, घरी हिक्कहिक्क गर्छ तर कहिले डाँको छोडेरै रोइदिन्छ।

बिचरो धनपति, यो बाहेक गरोस् पनि त के?

अनेक उपायबारे घोत्लेरे पनि, ऊ धेरै महत्वकांक्षी पनि बन्न सक्दैन। किनकी उसले आफ्नो सीमा आफैं निर्धारण गरेको छ। त्यही भएर ऊ सहरका सडक ढाक्ने मोटरसाइकल र ठूला गाडीहरुको भीडमा साइकल गुडाएरै यात्रा गर्दा पनि खासै दुःखी छैन। वश उसलाई गुनासो छ, यो सहरमा ऊ कहिलेसम्म यसरी नै धुवाँ धुलो निल्दै, गाडीवालले थुकेका थुकका बाछिटा पुछ्दै साइकलमा हुइँकिरहनुपर्ने हो?

कीर्तिपुरको एक कोठे डेराबाट बल्खु–त्रिपुरेश्वर रुटमा साइकल गुडाउँदा उसको भेट पटक पटक नेतागिरी गर्ने पात्र (आशान्त शर्मा) सँग हुन्छ। उपल्लो नेताको आदेशअनुसार धनपतिलाई राजनीतिमा तान्न ऊ भगीरथ प्रयत्नमा हुन्छ। अनेक प्रलोभन देखाउँदा पनि धनपति राजनीति शब्दबाटै तर्सिन्छ। ऊ राजनीतिबाट तर्सने कारण भेउ पाउन दर्शक पनि उत्सुक हुन्छन्। तर फिल्ममा यसलाई लामो समय रहस्यमै राखिन्छ। यो रहस्यको चुरोसम्म दर्शक चाँडै पुग्न चाहन्छन्, तर लामालामा दृश्य र धनपति र उसको परिवारको उस्तै दिनचर्यामा फिल्म अल्झिन्छ। यहाँनेर दर्शकलाई झिँझो पनि लाग्छ।

धनपति आफ्नो भाग्य आफैं बदल्ने पात्र होइन। ऊ नियतिको चक्रमा पिल्सिएको छ। त्यसैले सोझो बाटो हिँड्दा पनि अनाहकमा गुण्डाहरुबााट प्रताडित हुन्छ। राजनीतिको नाममा गरिने बन्द हड्तालका नाममा साइकलको हावासमेत खुस्काइ दुःख दिनेहरुबाट आजित हुन्छ। छोरीको, ‘बाबा म बोर्डिङ स्कुल कहिलेदेखि जाने प्रश्नबाट वाक्कदिक्क हुन्छ।’

नचाहेरै पनि ऊ राजनीतिमा हाम्फाल्न बाध्य बन्छ। अझ भनौं, पर्दा पछाडि बसेर राजनीतिक गोटी चाल्ने केही कर्ताहरुले उसलाई सक्रिय राजनीतिमा तानेरै छोड्छन्।
यसैक्रममा आउने आरोह अवरोह नै धनपतिको मूल कथा हो।

धनपति होमिएको राजनीति हाम्रो देशको राजनीतिजस्तै विकृत छ। जसले मान्छेका समस्या सुल्झाउने काम गर्दैन, बरु श्रम गरी खानेका समस्यालाई झनै गाँठो पार्ने काम गर्छ। जहाँ मन जोडिँदैन, बरु तोडिन्छ। ज्सरी बन्दमा तोडिन्छन्, साइकल, गाडी, ट्याक्सी, एम्बुलेन्सहरु।

धनपतिको राजनीतिले न प्रेमको भाषा बोल्छ, न त बुझ्छ नै। तर विडम्बना, जब निर्दोष धनपति दोषी र जाली बन्छ तब बल्ल उसको परिवारको ओठमा हाँसो छाउँछ। सफा मन पारुन्जेल धनपतिको आँखामा दुःख टल्किनु र उसको मन धमिलिएपछि मात्रै ऊसँगै उसको परिवारकै मुहारमा हाँसो छचल्किन्छ।

यो दुखद छ, तर समाजको अनुहार चिन्न अर्थपूर्ण छ। किनकी जानीजानी वा अन्जानमै हामी बाँचेको समाजमा असलबाट खराबमा रुपान्तरण भएका धनपतिहरुको कमी छैन।

इमानको बाटो छोडेर बेइमानी रोजेको धनपतिहरुको खुसीको आयु कति लामो होला? इमानकै बलमा सुखसयलका साथ बाँच्न नेपालीले कहिले पाउने होलान्? धनपति फिल्मले उठाएको मूल प्रश्न यही हो। नामचाहिँ धनपति तर गरिबीसँग जुध्दा जुध्दा गलेको पात्रको कथा भनिनु योजनाबद्ध शिल्प हो।

च्रित्रप्रधान फिल्म धनपतिको कथा सरल छ। कथा र संवाद समेत आफैंले लेखेकाले फिल्ममा खगेन्द्र पुरै हाबी छन्। यो फिल्मको बलियो पक्ष र कमजोरी पनि दुबै हो। धनपतिका रुपमा खगेन्द्र हाबी हुँदा फिल्म चरित्रप्रधान त बनेको छ, तर उनको अभिनयमा पुरानै शैलीको निरन्तरता छ। अलिकति लाउड, अलिकति रुन्चे भूमिकामा उनलाई यसअघिका फिल्ममा पनि देखिसकिएको छ। यस पटक पूर्वी तराईमा जन्मे हुर्केको चरित्र निभाएकाले मधेसी लवज मिसाएर बोल्न भने प्रशस्तै मिहिनेत गरेका छन्।

सानोकाजीका रुपमा पूर्वी मधेसको माटोमा हुर्केका सम्भ्रान्त परिवारको विरासत धान्ने मोह गजबको छ। फिल्ममा यसलाई दर्शाउन, श्रीमान श्रीमती एकअर्कालाई मात्रै नभई सानी छोरीलाई पनि आइस्यो, गइस्यो भन्छन्। सम्भ्रान्ती ढोङ देखाउन प्रयोग गरिएको यस्तो भाषा कतै स्वभाविक लाग्छ भने कतै कानलाई बिझाउने खालको छ। धनपतिको ढाका टोपी र मधेसी लवजको संयोजन भने प्रतीकात्मक छ।

निर्देशक दीपेन्द्र के. खनाल र खगेन्द्र लामिछानेको जोडीले यसअघि पशुपतिप्रसाद बनाएर प्रशंसासँगै धेरै अवार्डहरु हत्याउन सफल भएको थियो। यद्यपि पशुपतिप्रसादमा यथार्थपरक कथालाई नाटकीय मोड दिइँदा त्यसमा पनि कमजोरी थिए। तर पशुपतिप्रसादको कथामा गति थियो, पात्रको संवेदनालाई दृश्यमा प्रवाह गर्न निर्देशक सफल थिए। अझ, पशुपति परिसरको परिवेशलाई फिल्ममा गज्जबसँग उतारिएको थियो।

यो विशेषता धनपतिमा पनि नभएको होइन। काठमाडौंको सहरीया परिवेशलाई चित्रण गर्न निकै मिहिनेत गरिएको छ। फिल्मको सुरुमै देखिने खाली सडक र चोकका दृश्यहरु लोभलाग्दो गरी खिचिएका छन्। यथार्थपरक चित्रणलाई महत्व दिँदै धनपतिका थुप्रै दृश्यहरु सार्वजनिक ठाउँमा आममान्छेलाई थाहै नदिई खिचिएका हुन्। यसैकारण, बजारमा हिँडेका दृश्य होउन् वा आन्दोलन गर्दै गाडी फुटाइएका दृश्य, जीवन्त बनेका छन्।

तर दुःखको कुरा, मध्यान्तरअघिको धनपति गतिहीन छ। लामालामा दृश्य र उस्तै सन्दर्भको पुनरावृत्तिले पट्यार लगाउँछ। ‘डिटेलिङ’मा काम गर्ने चक्करमा मूलकथामा धेरै ढिलो गरी प्रवेश हुन्छ। कारुणिकता र रोनाधोनामा अलि बढी नै अलमलिएको छ धनपति। पटकथा र निर्देशनको तालमेल चुस्त छैन।

संवाद सहज कम, बोझिला बढी छन्। तर राम्रो पक्ष पात्रको मनोविज्ञान खोतल्ने ससाना दृश्यहरु भने प्रभावकारी छन्। चाहे त्यो श्रीमान् श्रीमातीको आँखा जुधाइ होस्, चाहे उनीहरु बीचको मतभेद। धेरै कुरा नबोली उजागर भएको छ। मौनताबाटै सुरक्षाका गम्भीर हाउभाउको चित्रण मर्मस्पर्शी छ।

बालकलाकार सुरभी बर्तौलामा बालसुलभ निर्दोषपन झल्किएको छ। अभिनयमा आशान्त शर्माले भने बाजी मारेका छन्। मनिष निरौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे, सरोज अर्याल, सफर पोखरेललगायतका कलाकारको अभिनय पनि भूमिकाअनुसार सुहाउँदो छ। आधा सुरको संगीतमा बनेको सुख दुःख गीत मीठो छ।

बेरोजगारी र गरिबीले उब्जाएको वर्गीय खाडलदेखि हत्या र हिंसाले सिर्जना गरेको बेथितिसम्मका विषयलाई छोएको धनपति गम्भीर फिल्म हो। व्यक्ति ऊ बाँचेको समय र राजनीतिको चक्रमा कसरी फस्छ, धनपति र उसको परिवार यसको प्रतिनिधि पात्र हुन्।

तर विषयको गाम्भीर्य अनुसार प्रस्तुतिमा चुस्तता नहुँदा धनपति औसत फिल्म बन्न पुगेको छ। धनपति राजनीतिबाट टाढा बस्न चाहने कारण ढिलो गरी खुलाइनु फिल्मलाई रोचक बनाउने प्रयत्न हो। तर यो प्रयत्न धेरै बलियो छैन। किनकी फिल्म अघि बढ्दै दर्शकले अनुमान गरेअनुसारकै घटनाहरु पर्दामा आउँछन्।

पशुपतिप्रसाद, टलकजंग भर्सेस टुल्के र धनपति तीन ओटै फिल्म मार्फत खगेन्द्रले निरन्तर समाजका गम्भीर मुद्दामा फिल्म मार्फत हस्तक्षेप गरिरहेका छन्। राज्य, समाज र बजारको भीडमा हराएका सामान्य पात्रलाई केन्द्रमा ल्याउने उनको प्रयास सराहनीय छ।

तर पशुपति प्रसादजस्तै धनपति पनि ‘पति’कै कथा हो। आममान्छेको कथा भन्ने क्रममा उनले ‘पत्नी’का कथालाई समेट्न जरुरी छ। किनकी धनपतिकी पत्नीलाई ‘कजिनी’ वा गृहिणी जुन रुपमा प्रस्तुत गरिए पनि छायाँ पात्र मात्र हुन्।


ताजा समाचार