Loading... आजः शनिबार, कार्तिक ८, २०७७

कांग्रेसलाई खतराको घण्टी: गगन थापा

स्थानीय निर्वाचनको दोस्रो चरणमा नेपाली कांग्रेसबाट वक्ताको रुपमा सबैभन्दा बढी निम्त्याइएका नेता थिए केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा। सरकारबाट बाहिरिए लगत्तै कांग्रेसका युवा नेता थापाले खासगरी एक नम्बर प्रदेशका चुनावी सभाहरूमा प्रभावकारी मन्तव्य दिए। तर दोस्रो चरणमा एमालेलाई उछिनेर पहिलो हुने लक्ष राखेको कांग्रेस फेरि पनि दोस्रोमै खुम्चियो। यस्तो कसरी भयो त? नेपालखबरको प्रश्नमा थापाले भने– कांग्रेससँग चुनावी रणनीति नै थिएन र अस्तव्यस्त अवस्थामै चुनावमा होमिएको थियो। बुधबार थापासँग गरिएको वार्ताको सम्पादित अंशः

पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम सन्तोषजनक नआएपछि दोश्रो चरणमा पहिलो पार्टी बन्ने कांग्रेसको रणनीति सफल भएन। किन हो?
पहिलो चरणको निर्वाचनमा जुन परिणाम आयो, त्यसको विश्लेषण गर्ने बेला हामी खुसी हुने कि दुःखी हुने भन्ने थियो। भन्नै नसके पनि, अहिले चलेको तीव्र हावाले हामीलाई स्वाट्ट खुम्च्याएर पहिलो संविधानसभाको जस्तो सानो पो बनाइदिने हो कि भन्ने डर पनि थियो, भित्र मनमा।

तर पहिलो चरणमा करिब करिब एमालेसँग हाराहारीमा आयौं। काठमाडौं महानगरमा पनि उपमेयर आयो। ललितपुर आयो। चितवन निर्णय भएको थिएन। परिणाम ठिकै आयो। नेपाली कांग्रेस कुनै रणनीति बिना चुनावमा गएको हो। पार्टीभित्र निर्वाचनको ज्वरै आएन। निर्वाचनमा पालना गर्नुपर्ने सामान्य नियमको पालना नगरेको, गर्नुनहुने गल्तीहरु एकपछि अर्को गर्दै गएको अवस्था थियो।

निर्वाचनको ठिक अगाडि राष्ट्रिय राजनीतिमा केही निर्णयहरु गरिए, त्यो सही–गलत छाडिदिनुस्, तर त्यसलाई सही हो भनेर पुष्टि गर्ने समय पनि पाएन कांग्रेसले। त्यो सबैको भारी बोकेर निर्वाचनमा जानु परेको थियो। त्यो बेला मतपरिणाम आउँदै गर्दा अलिकति चुनावी अभियानको रणनीति बनाएको भए यो भन्दा राम्रो परिणाम निकाल्न सकिन्थ्यो भन्ने लाग्छ।

दोश्रोमा पहिलो हुने कांग्रेसको रणनीति थिएन, त्यो कामना मात्रै थियो। हे भगवान पहिलो चरणको पनि दुरीलाई कम गरेर अलिकति माथि आइदिए हुन्थ्यो भन्ने आम कांग्रेसको कामना हो, आकांक्षा हो। तर त्यो अपेक्षा साकार पार्न रणनीति बनाइएन। जस्तो पहिलो चरणमा चुनाव लडेको हो दोश्रोमा पनि त्यसैगरी अव्यवस्थाका बीचमा चुनाव लडेको हो।

अव्यवस्थाका रुप अरु पनि थिए। मुद्दाहरु पाएन है कांग्रेसले?
त्यत्रो समय पाउँदापनि धेरैजसो महत्वपूर्ण ठाउँहरु र उम्मेदवारहरु असाध्य ढिलो तय भए। रणनीति बनेन, पार्टीको केन्द्रीय समितिको बैठक बसेन। पहिलो चरणको निर्वाचनको सामान्य समिक्षासमेत भएन। जसरी रक्षात्मक भएर अघिल्लो चरणको निर्वाचनमा गएको हो त्यसैगरी रक्षात्मक भएरै दोश्रो चरणको चुनावमा पनि गएको हो।

देशभर कांग्रेसको इलेक्सन न्यारेटिभ नै थिएन। कार्यकर्तालाई के हो हाम्रो लाइन भन्ने नै थिएन। राजनीतिक दलहरुको सन्दर्भमा जहिलेपनि जनताको बिचमा सूचना जाने दुईवटा स्रोत हुन्छन्। एउटा आफु, एउटा अर्को। कांग्रेसको चाहिँ कस्तो भयो भने आफु त शून्य भयो। आफ्नो बारेमा उसले आफैले के हो भन्नै पाएको छैन, भनेकै छैन। उसका बारेमा सबै बाहिरकाले भनिदिएको छ।

कांग्रेस के हो भनेर भन्ने जिम्मा अहिले केपी ओलीले लिनुभएको छ। एमाले यस्तो हो भनेर पनि आफैं बताउनुभएको छ र कांग्रेस कस्तो भनेर उहाँले नै बताइरहनु भएको छ। यो राजनीतिको सामान्य फेनोमेना हो। खासमा चुनावको क्याम्पेनमा त हामी के हो भनेर पहिला हामीले बताउने हो नि। अरुको बारेमा पनि बताउने हो। अनि न विचारको प्रतिष्पर्धा हुन्छ।

अर्को कुरा, म थुप्रै जिल्ला गएँ, यति धेरै पार्टीभित्रको अनुशासनहिनता यसअघिका कुनै पनि आम निर्वाचनमा मैले अनुभव गरेको थिइनँ। पार्टीका क्रियाशील सदस्यहरुले पार्टीको उम्मेदवारलाई मत नदिने अवस्था देखियो। पार्टीको प्रचारमै नआउने, अर्को पार्टीलाई मत दिने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने प्रवृत्ती पहिलापहिला पनि अलिअलि हुन्थ्यो, तर यो स्केलमा थियो होला भन्ने मलाई लाग्दैन।

एक नम्बर प्रदेशमा हामी बराबर गर्छौँ, पाँचमा हामी बराबर जस्तो आउँछौं, सातमा हामी एकदम राम्रो लिड गर्छौँ भन्ने अनुमान फेल खायो।

यसमा अर्को एउटा कारण पनि छ, स्थानीय निर्वाचनमा उम्मेदवार छनौट एकदम महत्वपूर्ण हुन्छ। यसमा पार्टीलाई भोट हाल्ने भन्दापनि ठूलो संख्यामा मतदाताहरुले मान्छेलाई हेर्ने हुनेरहेछ। यसले एकदमै ठूलो अर्थ राख्ने रहेछ। नयाँ गाउँपालिका बनेको छ, त्यसमा उम्मेदवार उठाउँदै गर्दाचाहिँ त्यहाँको जातीय कम्पोजिसन के छ, ब्याकग्राउण्ड के छ, त्यहाँका मतदाताहरुको ट्रेन्ड के छ, जस्ता थुप्रै कुराले असर गर्छ। त्यस्ता कुराहरुको विश्लेषण गर्ने काम पार्टीभित्र भएन।

अर्को एकदम याद नगरिएको कुरा जो मैले अनुभव गरेको छु त्यो हो कार्यकर्ता इम्पावर गर्ने कुरा। जस्तोः अघिल्लो संविधानसभा अघि दुई तीन वर्षदेखि पार्टीले जिल्लामा सम्मेलनहरु गर्ने, प्रशिक्षणको कार्यक्रमहरु गरेको थियो। ममात्र पचासौं जिल्लामा प्रशिक्षक भएर पुगेको छु। अहिले फर्किएर हेर्दा त्यतिबेला हाम्रो पार्टी त प्रशिक्षणमात्रै गर्छ भनेजस्तो भइराख्ने हुन्थ्यो। कार्यक्रमहरु भइराख्ने हुन्थ्यो। तर त्यसले के गरेको रहेछ भने तलका पार्टी कार्यकर्तालाई र विशेष गरी क्रियाशील सदस्यको पंक्तिलाई एकदम सुशुचित र इम्पावर गरेको रहेछ।

कुनै कोठामा बसेर क्याम्पेनको स्ट्राटेजी बनाएको होइन, यत्तिकै गएको हो, तर तीनचार वर्ष जसरी कार्यकर्तालाई इनभेष्टमेन्ट भयो, प्रशिक्षणसभा सम्मेलनको जसले तल एउटा न्यारेटिभ बनाएको रहेछ। देशैभरीको कांग्रेसको एउटै एउटै खालको कुरा हुँदो रहेछ। तर यसपालि त्यसको ठ्याक्कै उल्टो भएको छ। कार्यकर्ताहरु एकदम शक्तिहिन जस्तो, निराश जस्तो, कतिपय सन्दर्भमा अनुशासनहिन। त्यसैले कांग्रेसको पराजयमा यीनै कारणहरु महत्वपूर्ण रहे।

नेपाली कांग्रेस आफैं सरकारमा थियो अघिल्लो चुनावमा, यो चुनावमा त आफ्नै नेतृत्वमा सरकार छ। यसकोणबाट हेर्दा कांग्रेसले जितको रणनीति किन तय गरेन?
चुनावलाई नै केन्द्रमा राखेर रणनीति बनाउने, त्यो रणनीति अनुरुपका कार्यक्रमहरु तय गर्ने अभ्यास भएको पार्टी होइन कांग्रेस। तर कुनै बैठक बसेर चुनावी रणनीति बनाएको नभएपनि हामीले गरेको एक्सन आफैंले चुनावी रणनीतिको काम गरेको रहेछ त्यतिबेला। माओवादीसँग नै प्रतिष्पर्धा हो भनेर दुई तीन वर्षदेखि संगठनलाई धारिलो बनाएको, बैचारिक हिसाबले मजबुत कार्यकर्तापंक्ति जस्ता कुराले त हाम्रो अवस्था ठिकठाक बनेको रहेछ। हामीले पहिला पहिला पनि गरि नआएकाले यसपल्ट पनि चलिहाल्छ भनेर केही पनि गरेनौं।

अहिले म दोश्रो चरणको निर्वाचनमा विभिन्न ठाउँमा बोल्न गएँ तर ती ठाउँ जाँदै गर्दा प्रदेश नम्बर २ को चुनाव किन सारेको भनेर मञ्चमा गएर के बोल्ने भन्ने थाहा थिएन। म स्थानीय निर्वाचन सम्बन्धि पार्टीको ‘पब्लिक मिटिङ’मा सायद सबैभन्दा बढि बोलाइएको मान्छे होला। तलको मान्छेले प्रश्न लिएर आएको हुन्छ मैले त उत्तर दिनुपर्याे। थुप्रै प्रश्न बोकेर आएका छन् मान्छेहरु। हामीचाहिँ त्यो प्रश्नबाट भागिरहेका छौं। हामी सुशुचित नभएर भागेको हो खासमा। केन्द्रीय समितिदेखि संसदीय समितिसम्मका बैठकमा छलफल छैन, समिक्षा त धेरै परको कुरा भयो। पहिला पनि यहि थियो अब पनि चल्छ भन्ने सोच्यौं। हामीले स्थानीय चुनावलाई एकप्रकारले हेप्यौं।

कांग्रेसको यसखालको प्रवृत्ति कहिलेसम्म चल्न सक्छ? अथवा अब चल्दैन? चल्दैन भने गर्नु के पर्छ?
अब चल्दैन। यो चुनाव परिणामका हिसाबले यसभन्दा पनि बर्बाद हुन सक्थ्यो। हामी स्थानीय तहकै चुनावको सन्दर्भमा पनि, प्रदेश नम्बर २ को चुनाव पछाडि कम्तिमा बराबरी हैसियत ल्याएर टुंग्याउन सक्ने अझै पनि सम्भावना बाँकी छ। त्यसैले यो बर्बाद भएको चाहिँ होइन। तर खतराको घण्टी हो भन्ने त बुझ्नुपर्यो।

मूख्य चुनावहरु आउनुभन्दा पहिल्यै स्थानीय निर्वाचनका दुईटा चरणमा नेपाली कांग्रेसलाई जनताको तहबाट ठूलो सन्देश आयो। यसपटक पार्टीको प्राबिधिक कुरामात्र होइन राजनीतिक सन्देश पनि आयो। राजनीतिक कुरा के भने हामीले ‘कम्युनिकेट’ गर्न सकिरहेका रहेनछौं।

यसबेला हामीले मुख्य सहरहरुमा भोट किन पाएनौं? राष्ट्रिय राजनीतिमा हामीले लिएको पोजिसन गलत हो भने सच्याउनुप¥यो। म हामीले लिएका सबै पोजिसन गलत भयो भन्दिन तर हामीले जनतालाई बुझाउन सकिरहेका छैनौं। जस्तोः संविधान संशोधनको विषय।

संविधान संशोधन भनेको एउटा टुल हो। खास नेपाली कांग्रेसले त आधारभुत रुपमा हाम्रो राष्ट्रियता भनेको बहुसांस्कृतिक, बहुभाषिक र विविधतापूर्ण हो भन्ने बुझाउन त सक्नु पर्यो नि। हाम्रो सन्दर्भमा डाइभर्सिटीको ब्यवस्थापन हुन सकेन भने त्यसबाट के के समस्या आउँछन् भन्ने पनि हामीले हाम्रा शुभेच्छुकलाई बताउन सक्नु पर्यो।

पछिल्लो समय भारतभित्र भएको कास्मिरदेखि गोर्खाल्याण्डसम्मका विषय हेर्यौँ भने थाहा हुन्छ। ‘डाइभर्सिटीको म्याटर’ भनेको अहिले सबै बिकसित देशहरुको पनि चुनौतिको विषय हो। यसमा दुई खालको प्रवृत्ति देखिन्छ। एउटा त्यसलाई ब्यवस्थापन गरेर सम्हालेर लाने प्रवृत्ति। र अर्को त्यसमा खेलेर शक्ति आर्जन गर्ने प्रवृत्ति। कांग्रेस त्यसलाई व्यवस्थापन गरेर लिएर अघि जाने प्रवृत्ति हो। र आम रुपमा हाम्रो जस्तो समाजका मान्छेहरु त्यसलाई व्यवस्थित गरेर लिएर जाने पक्षमा हुन्छन्। त्यसलाई उचाल्ने, उकास्नेमा हुँदैनन्। उचाल्ने र उकास्ने काम एकदम क्षणिक हुन्छ। हामी भनेको पोजेटिभ प्रवृत्ति हो, प्रोग्रेसिभ भनेका हामी हौं। यसबारेमा हामीले बुझाउनै सकेनौं।

लम्पसारवादीकै आरोप खेपिरहेछ नि कांग्रेसले त।
हाम्रो कहाँनेर ब्रान्डिङ भइदियो भने यो विषयलाई राष्ट्रवादसँग लगेर जोडिदिइयो। अब हेरौं न, प्रदेश नम्बर दुईमा जाँदा राजपाले हामीलाई मधेस विरोधी बनाइदिएको छ। प्रदेश नम्बर एकमा हामीलाई ‘एन्टी नेपाली’ बनाइदिएको छ। राष्ट्रिय हितमा सम्झौता गर्ने पार्टी हो भन्ने बनाइदिएको छ। हामी त त्यो होइन नि त।

मैले अघि नै भनें, हाम्रा बारेमा अरुले बताइदिएको छ। हामी के हौं भन्ने एउटा ‘एग्रेसिभ न्यारेटिभ’ बनाएर नेपाली कांग्रेसले बताउनै सकेन। हामी के चाहन्छौं? मानौं अहिले संविधान संशोधन हाम्रो हातमा हुने र नेपाली कांग्रेसले चाहेको सबै पुरा हुने आइडियल अवस्था हो भने हामीले गर्नचाहिँ चाहेको के हो त? हामीले मधेसका जनतालाई पनि संविधानसँग जोडेर, संविधानको सीमामा ल्याएर सबै चुनावहरु टुंग्याएर, नेपालको डेमोक्रेसीलाई जति सकिन्छ अधिक समावेशी बनाएर, यसलाई संस्थागत गर्ने हो। र, योपछिको डिस्कोर्स भनेको डेभलपमेन्ट मात्र हो अरु केही पनि होइन।

समावेशिता बिनाको विकास त विकास नै होइन। हामीले गर्न खोजेको त त्यो हो नि त। हामीले त्यो कुरै बताउन सकेनौं। अब त अर्को चुनावमा जानुअघि आफैंभित्र छलफल गर्नुपर्छ। यसका लागि पहिला त पार्टीको मुख्य नेतृत्व तयार हुनुपर्‍यो। प्रत्येक दिन हामी सबै काम गरिरहेका छौं नि। कोही दौडिरहेका छौं, कोही भाषण गरिरहेका छौं, कोही सरकार चलाइरहेका छौं। हेर्दाहेर्दै असोज २ गते आउँछ। त्यो चुनावमा पनि ढ्वांग थापेर हामी त पहिलो पार्टी हो भन्नु त कामना जस्तै मात्र हुन्छ।

अहिले एकदमै राइट टाइममा खतराको घण्टी बजेको छ। अब यसका संकेतहरु बुझियो भने हामी सम्हालिएर जान्छौं। सम्हालिए पछि केहिपनि फरक पर्दैन। बिग्रिएको भत्किएको केहिपनि छैन। हामीले त्यस्तो ऐतिहासिक गल्ती गरेको भए पो हामीहरु एकदमै धेरै डराउनुपर्ने थियो। हाम्रो व्यवस्थापन न बिग्रिएको हो। तर यसलाई बुझेनौं र सम्हालेनौं भनेचाहिँ यसले गर्दा डिजास्टर हुन सक्छ।

नेपालको सन्दर्भमा बहुसांस्कृतिक समाजलाई ब्यवस्थापन गर्ने शक्तिका हिसाबले कांग्रेस प्रगतिशील हो भन्नुभयो। त्यसमा चलखेल गरेर शक्ति आर्जन गर्नेहरु छन् भन्नुभयो। त्यो शक्ति कुन हो?
अहिलेको सन्दर्भमा म आफ्नै चुनावी अनुभव सुनाउँछु। म दार्चुला र ताप्लेजुङ गएँ। कांग्रेसको मान्छे जो दार्चुलामा भाषण गर्दा पनि र ताप्लेजुङमा भाषण गर्दैगर्दा पनि भनिरहेको छ, मधेसीलाई जनअधिकार दिनुपर्छ, मधेसीलाई अधिकार दिइएन भने यस्तो हुन्छ त्यस्तो हुन्छ। त्यो भनेर कहीँ कतै उसको तत्कालको भोट बढ्नेवाला छैन। तर छेउमा कतै एमालेको सभा भइरहेको छ, त्यहाँ कांग्रेसले देश बेच्यो, सारा नागरिकता बेचेर नेपाल समाप्त गर्न लागिसक्यो भनिएको छ। दार्चुला पुग्दा सुनियो, कांग्रेसले तल कैलाली कञ्चनपुर टुक्राउन लागिसक्यो, भारतलाई बेचिनै सक्यो भनिएको रहेछ। तर कांग्रेसको मान्छे त्यहाँ थारुहरुलाई कसरी प्रोमोट गर्ने, प्रदेश नम्बर सातको संबृद्धिका लागि थारुहरुको समावेशिता बिना सम्भव छैन भन्छ। तर त्यहाँ एकजना पनि सुन्ने थारु छैन। तर कांग्रेसको ‘ओरियन्टेसन’ त्यो छ।

एमालेको केन्द्रीय नेताले आएर कांग्रेसले कैलाली कञ्चनपुर टुक्राउँदै छ, कांग्रेसले देशै बेच्दै छ भन्नुभएको रहेछ। भाषण नै कैलाली कञ्चनपुर बेच्दैछ भनेर गर्नुभएको छ। अब प्रश्नकर्ताले एमाले नेताले यसोयसो भन्नुभएको छ कृपया प्रष्ट पारिदिनुहोला भनेर सोध्नुभयो। कांग्रेसले चाहिँ त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था बन्यो। त्यसैले हामीले सबभन्दा पहिले न्यारेटिभ त बनाउनु पर्‍यो नि। नेपाली कांग्रेसको न्यारेटिभ यो हो, यसको ब्याख्या, यसको बर्णन यो हो भन्नुप¥यो। अनि त्यो बनेपछि बल्ल प्रवाहको रणनीति बन्छ।

अब मलाई लाग्छ प्रदेश नम्बर २ तर्फ जाँदा त्यहाँ फेरि मधेसकेन्द्रीत दलले आक्रमण गर्ने कांग्रेसलाई नै हो। उसले त्यहाँ के भन्छ भने यो कांग्रेसले अब संविधान संशोधन पनि गर्दैन, यसकै कारणले गर्दा अधिकार खोसियो। अब हेर्नुहोला त्यहाँ एमालेलाई आक्रमण हुँदैन। त्यहाँ सम्पूर्ण आक्रमण कांग्रेसलाई हुन्छ। त्यहाँ फेरि हामीलाई पहाडियाको पार्टी बनाइन्छ। कांग्रेसले मधेसको अधिकारका लागि लड्दै गर्दा पहाडमा मुल्य चुकाएको छ भनेर हामी कसैले पनि भन्दैनौं। राजपाका नेताहरुले त त्यो भन्नेवाला छैनन्। किन भन्ने उनीहरुले? भन्नु त हामीले नै पर्‍यो नि त। जसले मधेसका जनताको भावनालाई उत्तेजित बनाएर शक्ति आर्जन गर्छ, त्यसले पनि त्यहाँ गरेकै छ। र, पहाडमा पनि भावना भड्काएर उत्तेजित गर्नेले गरेकै छ।

भनेपछि एमालेले राष्ट्रवाद भजाएको मात्र नभएर जहाँ जे भन्दा अनुकुल हुन्छ त्यो भन्दै हिँडेको छ?
राष्ट्रवादको चाहिँ अहिले नेपालमा देखिएको फेनोमेना नेपालको मात्र होइन। संयुक्त अधिराज्य अमेरिकाको चुनाव झण्डै नजिकबाट निक्कै चासोका साथ हे¥यौं, त्यहाँ नारै थियो अमेरिकालाई फेरि ग्रेट बनाउनुपर्‍यो भन्ने। लगत्तै हामीले फ्रान्सको चुनाव हे¥यौं। तर त्यहाँका मतदाताले चाहिँ त्यही प्रकृतिको मुद्दा रिजेक्ट गरिदिए। यद्यपी राष्ट्रवाद अहिले ग्लोबल फेनोमेना देखिन्छ।

नेपालको सन्दर्भमा चाहिँ नेपाली कांग्रेसले चुनाव जिते वा हारे पनि हामीले राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकताका विषयमा कोहीसंग सम्झौता हुँदैन भन्छौं। तर सँगसँगै हाम्रो मुल प्रवृत्तिचाहिँ मिलेर जाने प्रवृत्ति हुनुपर्छ भन्ने विशेषतालाई हामीले प्रतिनिधित्व गर्छौँ। मान्छे खासमा मिलेर बस्ने खालको हुन्छ। आधारभुत रुपमा उसले मिलेर जानेबारे सोच्छ। तर मान्छेको त्यो तर्कसंगत विचारलाई मारेर इमोशनल र एकदम उत्तेजित पनि बनाउन सकिन्छ। कुनै सभामा गएर मान्छेहरुलाई हिन्दु धर्मावलम्बीमात्र पनि बनाउन सकिन्छ। उसलाई पहाडिया मात्र पनि बनाउन सकिन्छ। उसलाई नेपाली मात्र पनि बनाउन सकिन्छ। तर उसलाई के बनाउने भन्ने मुल प्रश्न हो। हामीले चाहिँ एउटा तर्कसंगत मान्छे जसले चाहिँ सम्पूर्णरुपमा नेपाललाई हेर्छ, नेपालको बिबिधता हेर्छ, मानवीय हुन्छ त्यस्तो बनाउन खोजेको हो। त्यो प्रोगेसिभ कुरा हो।

हामी के हौं भन्ने म भन्न सक्छु। अरुको कुरा त उनीहरुले नै जानुन्।

यसरी पनि भन्न सकिएला, संविधानसभाको पहिलो र दोश्रो निर्वाचनमा माओवादीविरोधी सेन्टिमेन्ट थियो जसले गर्दा कांग्रेसलाई सहज भयो। अब स्थानीय चुनावसम्म आइपुग्दा त माओवादीसँग गठबन्धन नै भयो, निर्वाचनमा तालमेल नै भयो, कांग्रेसको आफ्नो ठोस योजना नहुँदा निर्वाचन परिणाम कांग्रेसको अनुकुल भएन।

कतिपय कुरामा यो हो पनि तर पूर्ण रुपमा यही अन्तिम सत्य होइन। चुनावचाहिँ मैले यो यो गरें र अब यो यो गर्छु भनेर जाने हो कि अन्तर्विरोधसँग खेलेर जाने भन्ने कुरा हो। अहिले जो संस्थापन छ, त्यसको गल्ती कमजोरीलाई देखाएर, नङ्गाएर जाने हो। चुनाव सामान्यतया लड्ने भनेको त्यसरी नै हो। हाम्रो त त्यो पनि भएन।

यसपालि त हामी सरकारमा छौं, हुँदैन भनेको स्थानीय चुनाव गरायौं, हामी त एकदम आक्रामक, सकारात्मक भएर जानुपर्ने। हामीले यो गर्यौं, त्यो गर्यौं भनेर जानुपर्ने। नेकपा एमाले जो सरकारभन्दा बाहिर छ, उसले सरकारमा बसेर यीनले यो गल्ती गरे, यो कमजोरी गरे भनेर आक्रमण गरेको गर्यै छ। सरकारमा बसेर मैले यो गरें, बृद्धभत्ता दिएँ, यो गरें त्यो गरें भनेर आक्रामक पनि उही छ। ऊ दुईटै एडभान्टेज लिएर गएको छ।

हामी आठ नौ महिना सरकारमा गएर यत्रो स्थानीय चुनाव गरेका छौं, विकासका हिसाबले पनि यो सरकारले धेरै गरेको भनिएको छ यसलाई डेलिभर गर्न सकेनौं। तालमेलको विषयमा दोश्रो चरणको निर्वाचनमा पहिलो चरणको अनुभवलाई लिएर हामीले स्थानीय कमिटीलाई नै गर्ने प्राधिकार दियौं। त्यो प्राकृतिक पनि देखियो। र, स्थानीय तहबाटै गरिएको कांग्रेस माओवादी तालमेललाई पनि अप्राकृतिक मानिएन।

तर पहिलो चरणमा चितवनको तालमेल हामीले सही समयमा गरेनौं। तालमेल गर्नैपर्ने भए समयमै उम्मेद्वार छनोट गरेर, तालमेललाई तलैबाट ग्राह्य बनाएर गरिएन। र, चितवनको तालमेलले अन्य धेरै ठाउँमा प्रभावित गर्यो। तर, म कांग्रेसको सांसद लाइन लागेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा भोट हालिसकें, माओवादीका सांसदले अस्ति लाइन लागेर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई भोट हालिसक्नुभयो। अब तलचाहिँ मतदाताले भोटै हाल्नु हुँदैन, कार्यकर्ताले भोटै हाल्नु हुँदैन भन्ने तर्क त भएन। प्रधानमन्त्रीचाहिँ बनाउन मिल्ने गाउँपालिका अध्यक्षचाहिँ तालमेलबाट बनाउन नमिल्ने?

आज हामी माओवादीसँग किन नजिक किन भएको भने, आज हाम्रो निश्चित कुरामा ‘डिरेक्सन’ मिल्छ। विविधतालाई सम्बोधन गर्ने, संविधान बनाउने, यसलाई कार्यान्वयन गर्ने कुरा मिल्छ। त्यही भएर हामी मिलेर गयौँ। यो कारण पनि हामीले तालमेल गरेका हौं भनेर बुझाउन सकिएन भन्ने लाग्छ।

नेपाल खबरबाट


ताजा समाचार