Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

कांग्रेस र दोस्रो चरण चुनाव

            हरि अधिकारी

स्थानीय तहका ३३४ स्थानका लागि गत १४ गते भएको दोस्रो चरणको निर्वाचनको अन्तिम परिणाम प्रकाशमा आउनै लागेको छ। यो लेख पाठकका हातमा पुग्ने बेलासम्म विराटनगर महानगरपालिका जस्ता दुई/चारबाहेक सबैजसो स्थानको मतगणना पूरा हुने अनुमान छ। मतगणना भइरहेका स्थानमध्ये पनि रूझानका आधारमा कुन दलको स्थिति मजबुत छ अथवा कसले जित्ला भनेर अनुमान गर्न सकिने अवस्था छ भने केही स्थानमा चाहिँ प्रमुख प्रत्याशीले बराबर जस्तै मत ल्याइरहेकाले अन्तिम परिणाम यस्तै आउला भन्न गाह्रो छ। जे भए पनि अहिले निर्वाचन परिणामको एउटा सुस्पष्ट चित्र भने बनिसकेको देखिन्छ।

 नकारात्मक स्थितिबाट पार्टी बाहिर निकाल्न नसक्ने हो भने देउवाकै कार्यकालमा यो दल अर्को ऐतिहासिक दल नेपाल प्रजा परिषद्झैँ स्मृतिका पानामा सीमित हुन बेर छैन।

अहिलेसम्म टुङ्गिएको र टुङ्गिने क्रममा रहेको मतगणनाले भन्छ– एमालेले १३१ स्थान जितेको छ र १३ स्थानमा अग्रता कायम छ। उसलाई पछ्याइरहेको नेपाली कांग्रेसले ११६ स्थान जित्दै ७ स्थानमा बढत लिएको छ। यो नतिजा सामुन्ने राखेर हेर्दा दोस्रो चरणको चुनावमा कांग्रेस पार्टीले आफ्नो स्थितिमा उल्लेख्य सुधार गर्नेछ भन्ने त्यस दलका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतागणले गरेको दावी गलत सावित भएको छ। यसपटक पनि गत जेठ ३१ गते भएको पहिलो चरणको चुनावमा जस्तै विपक्षी वामपन्थी दल नेकपा एमालेको हातबाट नेपाली कांग्रेस पराजित हुन पुगेको  छ। यो तथ्यले कांग्रेसका सभापति देउवा र पार्टीको वर्तमान नेतृत्व वर्गलाई त गहन आत्मसमीक्षा गर्नुपर्ने स्थितिमा पुर्‍याएको छ नै, त्यस प्रजातान्त्रिक राजनीतिक संगठनका लाखौँलाख समर्थक मतदातालाई समेत निराशाको गर्तमा धकेलिदिएको छ।

यो निराशा स्थानीय तहको चुनावमा कांग्रेसले हार्‍यो भनेरमात्र फैलिएको भने होइन। यो निराशाभित्र बिस्तारै बिस्तारै राजनीतिमा नम्बर वन बन्दै गएको एमालेले अहिले गर्दै आएको र भविष्यमा अपनाउने अनेक प्रकारका तिकडमका भरमा लामो समयसम्म मुलुकलाई गिरफ्तमा लिएर प्रजातान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाएर छाडिदिने हो कि? भन्ने डर लुकेको छ। हुन पनि सैद्धान्तिकरूपमा अन्योलग्रस्त त्यो अर्धवामपन्थी दलले जुन किसिमको सस्तो लोकप्रियतावादी नीति अख्तियार गर्दै आएको छ, जसरी खोक्रो राष्ट्रवादको नारा उचालिरहेको छ र जे/जस्ता अनर्गल आश्वासन बाँडेर जनतालाई भ्रमित बनाइरहेको छ त्यो निकै खतरनाक छ। सस्ता नाराका पछाडि आँखा चिम्लेर दगुर्ने, राजनीतिकरूपमा अल्पशिक्षित जनताको भावनाको दोहन गर्दै निकट भविष्यमा हुने प्रादेशिक र केन्›ीय संसद्को निर्वाचनमा पनि त्यो शिखण्डी संगठनले जीत हासिल गर्ने सम्भावना प्रवल बन्दै गएको छ। यसका साथै, चतुर गफाडी केपी ओलीको नेतृत्वमा बलशाली भएको त्यस दलले अख्तियार गरेको जुन वितरणमुखी अर्थनीति छ त्यो संसदीय निर्वाचनपछि मुलुककै मूल नीति बनेका खण्डमा त्यसले देशमा उत्पन्न गर्न सक्ने वित्तीय अराजकता कल्पना गर्न सक्नेभन्दा बढी भयाबह हुने अनुमान धेरैले गरेका छन्।

स्थानीय तहको चुनावमा कांग्रेसको पराजय अन्तर्घातले गर्दा भएको हो भन्ने आमधारणा छ।  कतै कतै अन्तर्घात भयो पनि होला, केही ठाउँमा कांग्रेसले कांग्रेसलाई हराउन लुकिछिपी प्रयास पनि गरे होलान् तर त्यसले गर्दा मात्र नेका एमालेको हातबाट पछारिएको हो भन्नु सही हुँदैन। कांग्रेसको राजनीति र त्यसका नेताको सोच र कार्यशैलीलाई एकदमै नजिकबाट नियालिरहेको यस लेखकका विचारमा नेकाले जसरी आफ्नो साख गुमाउँदै गएको छ त्यसका पछाडि कार्यकर्ता तहमा रहेको वैमनष्यभन्दा नेताले निर्माण गरेका आआफ्ना हनुमान मण्डली र टिकट वितरणका बेला नेतामाथि ती मण्डलीले पार्ने अनुचित प्रभावको ठूलो हात छ।

आजको कांग्रेसमा सभापतिदेखि लिएर पदाधिकारी र अलि बलिया केन्द्रिय सदस्यसम्मले वफादार सहयोगी ठानिएका कथित कार्यकर्ताको एक/एकवटा वृत्त बनाएका छन्। विडम्बनाको विषय त के छ भने त्यस्ता वफादार ठानिएका हनुमानहरू प्रायः पैसावाल र कांग्रेस राजनीतिमा नयाँ आएका नै हुने गरेका छन्। नेतासँग नजिक भएका तिनीहरूले जिल्ला र क्षेत्र तहमा आआफ्ना समर्थक/सहयोगीहरूको अर्को वृत्त बनाउने गरेका छन्। चुनावमा टिकट बाँड्दा होस् वा पार्टीले दिनसक्ने लाभका अवसर वितरण गर्दा, प्रायजसो अवसरमा नेतानिर्मित त्यही मण्डलीका सदस्यहरूले प्राथमिकता पाउने गर्छन्। त्यस्ता मण्डलीबाहिर रहेका कांग्रेसले ती  जतिसुकै योग्य र उपयुक्त किन नहुन् कुनै अवसर पाउँदैनन्।

अहिले नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्› पौडेलको एउटा गुट छ कृष्णप्रसाद सिटौलाको अर्को। गणेशमान सिंहको सुपुत्र भएका कारण पार्टीको राजनीतिमा सिंहांश (लायन्स सेयर) दाबी गर्दै र पाउँदै आएका प्रकाशमान सिंहले पनि आफू वरिपरि झुम्मिइरहने अधिकांश बेकम्मा परजीवीको एउटा झुण्ड पालेका छन्। एक समयका शक्तिशाली केन्›ीय नेता खुमबहादुर खड्का पनि के कम? उनले पनि आफ्ना वफादारको बलियो मण्डली बनाएका छन्। सभापति शेरबहादुर देउवाको आधारभूमि सुदूर पश्चिमको स्थिति त झनै विचित्रको छ। त्यहाँका अधिकांश जिल्लामा उनकै आशीर्वाद पाएको दाबी गर्दै धेरैजसो दुई/दुईवटा र कुनै जिल्लामा त तीनवटा पनि गुट सक्रिय छन्। ती गुटका नेता लाभका अवसर आफू र आफ्नाका पोल्टामा पार्नका लागि हरदम मरिहत्ते गरिरहेका देखिन्छन्।

यस्तो गुटगत विभाजनको सबैभन्दा नराम्रो प्रभाव पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाको आधारभूमि सुदूरपश्चिमाञ्चल त्यसमा पनि मुख्यतः उनकै जिल्ला डडेलधुरा र कैलालीमा परेको देखियो। देउवाको राजनीतिक जीवनमा आफ्नै निर्वाचन क्षेत्र डडेलधुरालाई लिएर यस्तो अन्योल, अनिश्चितता, अन्त्यमा गलत निर्णय र पराजय कहिल्यै पनि देखिएको थिएन। उनकै नाम लिएर डडेलधुरामा गुटगत राजनीति गर्दै आएका कर्ण मल्ल र रघुवर भट्टको स्वार्थान्ध गुटवाजीलाई बेलैमा कठोरपूर्वक व्यवस्थापन गर्न नसकेर त्यस जिल्लाको केन्›स्थ नगरपालिका अमरगढी नै एमालेको पोल्टामा गएको टुलुटुलु हेर्न बाध्य भए सुदूरपश्चिमाञ्चलकै एकछत्र नेता देउवा। देउवाकै प्रभावक्षेत्र मानिएको कैलालीको कथा पनि डडेलधुराभन्दा धेरै फरक छैन। यस मामिलामा देउवाको प्रभाव क्षेत्रमै पर्ने कञ्चनपुर जिल्ला पनि नकारात्मक प्रभावबाट अछूतो रहन सकेन।

डडेलधुरा र कैलालीका जस्ता घटना अन्यत्र पनि दोहोरिएका छन्। दाङलाई ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ। पार्टीको सुदृढ गढका रूपमा रहेको दाङमा प्रत्याशी चयनका समयमा नेता खुमबहादुर खड्काले अनुचित हस्तक्षेप गरेर निश्चित जित हुने कतिपय स्थानमा पराजय भोग्न बाध्य पारिदिए। पूर्वमा अर्का नेता कृष्णप्रसाद सिटौलाले राम्रा होइन हाम्रा मान्छेलाई काखी च्याप्ने भएर आफ्नै प्रभाव क्षेत्रमा पार्टीलाई हराइदिए। इलाममा वरिष्ठ नेता कुलबहादुर गुरुङले युवा कार्यकर्तालाई अवसर दिने उदारता देखाउन सकेनन्, फलतः जिल्लामा पार्टी धराशायी हुन पुग्यो। त्यसैगरी लुम्बिनी अञ्चलमा नेता बालकृष्ण खाँडको भूमिका पनि अनालोच्य रहन सकेन। वास्तवमा कांग्रेसका माथिल्लो तहका सबैजसो नेताले आआफ्नो हैकमका साना साना प्रभावक्षेत्र बनाएर तिनैलाई बलियो बनाउने र राज गर्नेमा मात्र ध्यान केन्द्रित गरेका छन् भन्दा अत्युक्ति हुँदैन। यो प्रवृत्ति प्रजातन्त्र र पार्टी प्रणालीको सुदृढीकरणका दृष्टिले चरम् प्रत्युत्पादक छ।

वास्तवमा नेपाली कांग्रेसमा अहिले केही कुरा पनि मिलिरहेको छैन जस्तो देखिन्छ। पार्टीका प्रथम पंक्तिका कुनै पनि नेतामा आत्मविश्वास देखिँदैन। सभापतिको सहकर्मी नेताहरूमा भरोसा छैनझैं लाग्छ भने ती नेताहरू सभापतिले के गर्ने हुन् भनेर सधैँ शंकित रहने गर्छन् जस्तो देखिन्छ। सबैजना आफू र आफ्नो ठाउँलाई बलियो बनाउने ध्याउन्नमा लागेका छन् तर उनीहरूले पार्टी नै कमजोर भयो भने आफ्नो ठाउँ सुरक्षित रहन सक्दैन भन्ने कुरा बिर्सिएजस्तो छ। सभापतिले पनि केही नेतालाई खास खास ठाउँको सुबेदार जस्तो बनाएर सो क्षेत्रमा उम्मेदवार चयनदेखि लाभका पद वितरणसम्मका सबै काम पूरै जिम्मा दिने र तिनले गलत नै गरे पनि वास्ता नगर्ने नीति अख्तियार गरेका छन्।

सभापतिको यो निस्पृह उदारताले केही नेताको क्षेत्रीय प्रभुत्ववादी सोच र कार्यशैलीले प्रोत्साहन पाएको प्रस्ट देखिन्छ। यसले गर्दा पार्टीमा नयाँ नेतृत्व पंक्ति तयार हुने प्रक्रिया पूरै कुण्ठित हुन पुगेको छ। केही नेता सधैंका मालिक भएका छन् भने कार्यकर्ता वाणीहीन नोकर। यसले पार्टीको भविष्य नै जोखिममा पारेको छ। यस्तो नकारात्मक स्थितिबाट पार्टीलाई बाहिर निकाल्न नसक्ने हो भने वर्तमान सभापतिको कार्यकालमा नै यो ऐतिहासिक दल अर्को ऐतिहासिक दल नेपाल प्रजा परिषद् जस्तै स्मृतिका पानाहरूमा सीमित हुन बेर छैन।


ताजा समाचार