Loading... आजः शुक्रबार, असार ४, २०७८

मेरा विरुद्ध अख्तियारमा उजुरी

मैले गरिरहेको पत्रकारीता र शिक्षणको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका बारेमा मुख खोलेरै केही भन्ने पर्ने ठानेर केही लेख्ने जमर्काे गरेको छु । मलाई उजुर दिने व्यक्तिले भनेका एउटा कुरा सत्य छ, मैले शिक्षण संगै पत्रकारीता गरिरहेको छु । तर उनले मैले पत्रकारीताका नाममा विद्यालयमा गएर नपढाउने गरेको भनेर गरेको दरिद्र जिकिर प्रति मेरो पुरै असहमति छ । मैले पत्रकारीता अर्थात रेडियो र पत्रपत्रिकामा समाचार लेख्ने काम १७ वर्ष अघि देखि गर्दै आएको छु तर मैले शिक्षकको रुपमा काम गर्न थालेको तीन वर्ष भएको छ । उजुरीकर्ताले मैले पढाउने समय र तह कति हो बुझेकै होइनन् की बुझ पचाएका हुन् ठम्याउन गाह्रो भयो ।

पत्रकारीता मेरो कुनै पूर्णकालिन जागिर र जिम्मेवारी होईन भन्ने कुरा पनि उनले बिर्सेको पाए । विहान ६ वजे देखि ११ बजे सम्म कक्षा ११ र १२ का विद्यार्थीलाई पढाएर दिन भरिको समयलाई मैले पत्रकारीतामा बिताएको अवस्था प्रति उजुरीकर्ता जानकार नै नभई के आधारमा उजुरी दिन गए अचम्ममा परेको छु ।

पढाउने आफनो जिम्मेवारी र कर्तव्यको समय बाहेकको अवधिमा मैले सिर्जनात्मक काम गर्न पाउने कि नपाउने ? मेरो सीप र क्षमताको प्रयोग गर्न पाउने कि नपाउने ? खाली समय मैले सुतेर बिताउनु पर्छ अपांग जस्तै भएर बस्नुपर्छ भन्ने उजुरी कर्ताको आसय होकी जस्तो लागेको छ ।

व्यक्तिगत रुपमा पूर्वाग्रही साँधेर गरिएको उजुरीमा कुनै दम छ जस्तो मलाई लाग्दैन । प्रमुख जिम्मेवारीलाई बाधा वा असर पर्ने गरि निजामति र अन्य व्यक्तिहरुले गरिरहेको पेशा र व्यावसाय प्रति कुनै पनि निकायको ध्यान नजाने आखिर किन ?जाजरकोटमा मुल पेशा बाहेक पत्रकारीता या अन्य पेसा गर्ने म मात्रै छु ? पत्रकार महासंघको अध्यक्ष पनि हो तर पत्रकारीता र पत्रकार महासंघकै कारणले विद्यालयमा पढाउन नजाने पढाईमा गम्भीर व्यवधान पुगेको भनेर उजुरी दिने तपाई उजुरकर्तालाई एकपटक मैले पढाउने त्रिभुवन माध्यमिक विद्यालयमा आउन आग्रह गर्दछु । मेरो हाजिरीमा कति दिन विदा लेखिएको छ ? कति दिन गयल लेखिएको छ ? अनि मैले पढाउने विद्यार्थीलाई गोप्य रुपमा सोध्नुहोस् मेरो विद्यालयमा अनुपस्थित या उपस्थितिको अवस्था के छ ? यी सबै सवालका लागि म उजुरी कर्ता, अख्तियार र जिल्ला शिक्षा कार्यालयलाई अनुसन्धान र अनुगमन गर्न आग्रह गर्न चहान्छु ।

विहान ६ वजे देखि ११ वजेको मेरो जिम्मेवारी र काम सकेर मैले कुनै पार्टीको झोला बोकेर गाउँ–गाउँ हिडेको छुकी ? मैले कुनै साम्प्रदायिक समुहको पक्ष या विपक्षमा लागेको छुकी ? के गरेको छु ? उजुरी कर्ता र अन्य सरोकारवालाहरुलाई अनुसन्धानका लागि आग्रह गर्न चहान्छु । विहान ११ बजे पछिको समयलाई मैले पत्रकारीताका माध्यमबाट र सामाजिक विकृतिहरुका विरुद्ध भुमिका निर्वाह गरेको कुराले अधिकारको दुरुपयोग भएको हो भने मेरो भन्नु केहि छैन । शिक्षक भएर विद्यालयमा पढाउनु र अतिरिक्त समयमा पत्रकारीताका माध्यमवाट समाजमा जागरण फैलाउनु अपराध या गल्ती हो ?

एउटा सचेत र शिक्षित नागरिक भएको हिसावले सामाजिक परिवर्तन विकास र सिर्जनाका लागि आफ्नो विचार जनताका माझ सम्प्रेषण गर्नु के गलत हो ? मैले फुर्सदको समयलाई आफनो सिर्जना फलाउने काममा लगाउनै नपाउने ? मैले दोहोरो तलव खाएको छु ? पार्टटाइममा काम गर्न जसले पनि पाउँछ । निजामति देखि सबै सरकारी गैरसरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुले पार्टटाइम काम गर्ने गरेका छन् कि छैनन् ? एउटा निजामति कर्मचारी पार्टीका झण्डा समातेर उफ्र्रिन मिल्छ तर एउटा शिक्षकले विद्यालयमा कुनै बाधा नपारी फुर्सदका समयमा रचनात्मक काम गर्न मिल्दैन ?

सरकारी सिन्दुर पहिरिएको मान्छे ठेकेदार बनेर जिम्मेवारीमा वेईमान बन्न मिल्छ, पार्टीको कार्य समितिमा कार्यकारी पदमा बस्न मिल्छ ? यो उजुरी दिने व्यक्तिले कति पूर्वाग्रहपूर्ण शोच राख्नु भएको छ भन्ने कुरा यो उजुरीको व्यहोरा र एक, दुई जना व्यक्ति मात्र तोकेर गरिएको उजुरीको व्यहोराले प्रष्टै पारेको छ । उजुरीकर्तालाई मेरा केहि प्रश्नहरु छन् । मैले पत्रकारीताको नाममा कति दिन विद्यालयमा गयल भएको छु ? विद्यालयमा नपढाएको भनेर विद्यार्थी र अभिभावकले कति पटक सार्वजनिक ठाउँमा कुरा उठाएका छन् ?

पढाउन छोढेर मात्र होइन मैले आफूले पाएको क्यावि र पर्व विदा समेत खर्च पूरै भएको अवस्था छैन विद्यालयको नियमितताले भनेपछि कसरी तपाईले भन्नु भयो विद्यालयमा पढाई बिग्रियो भनेर ? अनि पत्रकारीता गरेर अस्पतालमा मर्न लागेको मान्छे माथि मैले अन्याय गरेको देख्नु भएको छ ? पत्रकारीता गरेर कुनै भ्रष्टचारी या सामाजिक विकृतिको पक्षमा समर्थन गरेको देख्नु भएको छ ? या कुनै राजनैतिक दलको पक्षमा कलम चलाएको देख्नु भएको छ ? आस्था र विचार नहुने यहाँ कोहि पनि छैन पत्रकार भएर शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता पालना नगरेको के देख्नु भएको छ ? सामाजिक अराजक्ता र विकृतिमा मैले लेखेको या बोलेको कुन कुराले मद्दत पुर्याएको देख्नु भएको छ ?

 -लेखक, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका पूर्व अध्यक्ष हुन् ।


ताजा समाचार