Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

कांग्रेसको गढमा प्रमुखमा माओवादी, उपप्रमुखमा एमाले विजयी

महेन्द्रनगर : संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ वटा निर्वाचित काँग्रेस सभासद दिवान सिंह विष्टको गृह क्षेत्रमै स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित भएको छ । क्षेत्र नम्बर १ को निर्णायक ठाउँ मानिएको अहिलेको बेलौरी नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एमालेले जित हासिल गरेको छ । नेपाली कांग्रेस भने तेस्रो स्थानमा झरेको छ । नगरपालिकाको प्रमुखमा निर्वाचित नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरीले ६ हजार ७ सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत प्राप्त गर्नुभयो ।

कांग्रेसको आधार क्षेत्र मानिएको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले पराजय भोगेको छ । बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले ५ हजार ४ सय १२ मत प्राप्त गरेको छ । बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी चित्राकुमारी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी राधा कँडेललाई ६ सय २७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार राधा कँडेलले ६ हजार १ सय २१ र एमालेकी चित्रा चौधरीले ६ हजार ७ सय ४८ मत प्राप्त गर्नुभयो ।

माओवादी केन्द्रकी उम्मेद्वार कँडेल चुनावको केहिदिन अघि मात्रै नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका यज्ञ कँडेलकी धर्मपत्नी हुन् । एमालेमा बेलौरी नगरपालिकाको प्रमुखमा टिकटको आकाक्षीं रहनुभएका यज्ञ कँडेलले पार्टीले टिकट नदिएपछि एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेश गरेसंगै उहाँकी धर्मपत्नीलाई नेकपा माओवादी केन्द्रले बेलौरीको उपप्रमुखको टिकट दिएको थियो।

नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार हरेन्द्र विष्टले ५ हजार ४ सय १२ र उपप्रमुखका उम्मेदवार खिना भण्डारीले ५ हजार ६ सय २७ मत प्राप्त गरे । १० वटा वडा रहेको बेलौरी नगरपालिकाका अधिकाशं वडामा मिश्रित नतिजा आएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १, ५, ६ र १० मा नेकपा माओवादी केन्द्रले प्यानल सहित विजयी हासिल गरेको छ । ६ नम्बर वडाको २ वटा सदस्य बाहेक वडा अध्यक्ष र २ सदस्य विजयी भएको हो । नेकपा एमालेले २,४, ८ र ९ नम्बर वडा प्यानल सहित विजयी भएको छ । नेपाली कांग्रेसले ३ र ७ नम्बर वडामा प्यानल सहित विजयी भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बेलौरीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर चुनावी अभियानमा हुनुहुन्थ्यो । उहाँ संविधान सभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका दिवान सिंह विष्टसंग पराजित हुनुभएको थियो ।


ताजा समाचार