Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तालिमले उद्यमी बन्दै महिला

‘नेपाल पशुपति…राजा मरे रानी सती
नेपाल पशुपति….
देखे पनि गति उतनि वैकुण्ड रै’छ
देखे पनि गति….’
दिउँसो करिब २ बजेतिर डम्बरी विकको पसलमा पुग्दा उनी गीत गाउँदै सामान मिलाउँदै थिइन् । डम्बरीको घर मुडभरी पुग्न डोटी सदरमुकाम सिलगढीबाट ६ घन्टा हिँड्नुपर्छ । उनी मुस्किलले वर्षको एकचोटि सदरमुकाम पुग्थिन् । सहर भन्ने त देखेकै थिइनन् । घर भान्सा खेतीकिसानीमै दिन बित्थ्यो ।

डम्बरीका २४ वर्षे छोरा भारतमा काम गर्छन् । कान नसुन्ने श्रीमान्, अनि तीनजना छोरीको परिवार पाल्न डम्बरीलाई निकै धौ-धौ थियो । पोहोर साल डम्बरीको गाउँमा गरिब, पिछडिएका समुदाय, एकल महिलालाई उद्यमी बनाउने कार्यक्रम आयो । कार्यक्रमका लागि आवेदन दिनुपथ्र्यो । गाउँलेले डम्बरीको नाम पनि पठाइदिए । डम्बरी छानिइन् । असोजमा तालिम लिन काठमाडौं आइन् । उनी भन्छिन्, ‘मान्छेसँग यसरी कुरा गर्ने, सामान यसरी बेच्ने भन्ने तरिका तालिमबाट सिकें, घर फर्केपछि अहिले पसल हालेको छु, तालिमले मेरो जिन्दगी नै फेरिदियो ।’

डम्बरीको पसलमा साबुन, स्याम्पु, सरफजस्ता सरसफाइका सामान पाइन्छन् । अहिले उनले झन्डै ४० हजार बराबरका सामान राखेकी छन् । यी सामान बिकेपछि अझै सामान थप्ने उनको योजना छ । पढाउने पैसा नहुँदा डम्बरीले धेरैसम्म छोरीहरूलाई विद्यालय पठाएकी थिइनन् । जब पसल गर्न थालिन्, आम्दानी हुन थाल्यो । अहिले डम्बरीका तीनै जना छोरी स्कुल जान्छन् । मिहिनेत र सीपले अहिले उनको आत्मविश्वास पनि बलियो पारेको छ । भन्छिन्, ‘अब छोरीहरूले पढ्छु भनेसम्म पढाउँछु ।’

यस्तै कथा छ, गौरीकुमारी ताम्राकारको । उनी अहिले १८ वर्षकी भइन् । आमाबाबु छैनन् । दाजु-भाउजू काम गर्न भारत गएका छन् । आफूमुनिका तीन जना भाइबहिनीलाई गौरीले ज्यामी काम गरेर स्कुल पठाउँथिन् । जब उनले कार्यक्रमबारे सुनिन्, आफैं सदरमुकाममा रहेको कार्यालयमा गएर कुरा गरिन् । तालिम लिन इच्छुक रहेको बताइन् । अहिले उनी सरसफाइका सामान बेच्न गाउँगाउँ पुग्छिन् । २५ सय रुपैयाँबाट सुरु गरेको उनको व्यापार अहिले झन्डै ५० हजारको पुगेको छ । व्यवसाय थाल्नुपहिलेको दिन सम्झिँदै उनी भन्छिन्, ‘भाइबहिनीलाई कापीकलम किन्न पैसा नभएर ऋण माग्दा कहाँबाट ल्याएर तिर्छे ? भनेर कसैले दिँदैनथे । अहिले तिनै मान्छे उसले पनि व्यापार थालेकी छ, कमाएर तिर्छे भन्छन् ।’

सरकारले थालेको ‘ग्रामीण पहुँच कार्यक्रम’ अन्तर्गत तालिम लिएर व्यवसाय सिकेका मध्य र सुदूरपश्चिमका २३० महिला अहिले उद्यमी भएका छन् ।

दैलेख सदरमुकामको दक्षिण-पश्चिममा मालिका गाविस पर्छ । दैलेखको अन्य ठाउँको तुलनामा यो ठाउँको जमिन सुख्खा छ । भिरालो धेरै पर्ने भएकाले उब्जनी पनि निकै कम हुन्छ । नजिकको बजार पुग्न एक घन्टा पैदल हिँड्नुपर्छ । यहाँका धेरै मानिस काम खोज्दै भारत गएका छन् । भदौमा मालिकाकी पुष्पाकुमारी रावलले कार्यक्रमबारे सुनिन् । कक्षा ५ देखि एसएलसीसम्म पढेको, हिँड्न सक्ने अनि गाउँ वरिपरि सय डेढ सय घर भएको बस्ती हुनुपर्ने भन्ने प्रारम्भिक मापदण्ड थियो । आफ्ना लागि मिल्नेजस्तो लागेर उनले आवेदन दिइन्, छानिइन् पनि । पुष्पा भन्छिन्, ‘कार्यक्रममा लागिसकेपछि घरपरिवार धान्न अलि सजिलो भएको छ ।’

डम्बरा, गौरी, पुष्पकुमारीजस्ता मध्य र सुदूरपश्चिमका झन्डै २३० महिला अहिले उद्यमी भएका छन् । यी सबैलाई उद्यमी हुन ‘ग्रामीण पहुँच कार्यक्रम’ ले सघाएको हो । ‘ग्रामीण पहुँच कार्यक्रम’ ले कनेक्ट कार्यक्रमअन्तर्गत बैंक, साना तथा मझौला उद्योग र ग्रामीण क्षेत्रका मानिसबीच साझेदारी गराउँछ । साना र मध्यम उद्यममा लगानीको जोखिम कम गर्न र उनीहरूको उत्थानका लागि निजी क्षेत्र र व्यावसायिक क्षेत्रलाई ब्याज लाभ दिन्छ । विशेष गरी महिला र युवाका लागि व्यापार अवसर पहुँच वृद्धि गर्न सक्षम वातावरण तयार गर्नु कनेक्टको उद्देश्य हो । निर्वाहमुखी किसानलाई सस्तो ऋण उपलब्ध गराउँदै व्यावसायिक कृषितिर उन्मुख गर्न कनेक्टले सघाउने कार्यक्रम सम्बद्ध अधिकारी बताउँछन् ।

कनेक्टअन्तर्गत नै ग्रामीण पहुँच कार्यक्रमले अहिले ‘हाम्रीदिदी’ भनेर सुदूर र मध्यपश्चिममा सम्भावित महिला छानेको छ । छानिएका महिलालाई प्रमुख साझेदार कम्पनी युनिलिभर नेपाल लिमिटेडले तालिम दिन्छ । प्रभु बैंकले सुरुवाती पुँजीका लागि सहयोग गर्छ । काठमाडौंमा दिइएको तालिममा महिलालाई व्यापार कसरी गर्ने भन्ने सिकाइन्छ । तालिम लिएका महिला अहिले युनिलिभरको प्रत्यक्ष बिक्री प्रतिनिधि भएर व्यवसाय गर्न थालेका छन् । उनीहरू अहिले घरमै युनिलिभरको विभिन्न सामान ल्याएर बिक्री गर्छन् । यो आम्दानीले उनीहरूको घरखर्च राम्रै चलिरहेको छ । अहिलेसम्म ३८२ जना महिला छानिएका छन् भने २२६ जनाले व्यापार गर्न थालेका छन् ।

महिलालाई उद्यमी बनाउन सुरु गरिएको यो साझेदारीले अहिले देश विदेशसम्म चर्चा पाएको छ । र्‍यापथ्री कनेक्ट, युनिलिभर नेपाल लिमिटेड र प्रभु बैंकको यो साझेदारीले २०१७को ‘कोलाबरेसन च्याम्पियन अवार्ड’ पाएको छ । गत महिना लन्डनमा भएको एसोसिएसन फर कन्सल्टिङ एन्ड एन्जिनियरिङ अवार्ड २०१७ ले महिलाको जीवनस्तर उकास्न सहयोग गरेकामा यो अवार्ड दिएको हो ।

बेलायत सरकारको सहयोगमा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत सुरु भएको ‘ग्रामीण पहुँच कार्यक्रम’ले १७ वर्षदेखि पश्चिम नेपालको गरिबी निवारणमा काम गरिरहेको छ । यसै अन्तर्गतको निजी क्षेत्र र दाता कार्यक्रमसँगको साझेदारीको हाम्रीदिदी कार्यक्रम नयाँ सुवात हो । यसले दुर्गमका हजारौं ग्रामीण महिलालाई आर्थिक आत्मनिर्भरताको बाटो खोलिदिएको छ ।

घर-भान्सामै अल्मलिने दिदीबहिनी अहिले बाहिर निस्किएर परिवार धान्न सक्ने भएका छन् । दुर्गमका महिलालाई उद्यमी बनाउने उद्देश्यले सुरु गरिएको ‘हाम्रीदिदी’ कार्यक्रम अहिले डडेल्धुरा, बाजुरा, अछाम, दैलेख, डोटी, जुम्लामा लागू भएको छ । कार्यक्रमको अन्त्यसम्म ६ सयभन्दा बढी महिला छानिने बताइएको छ । कार्यक्रम सन् २०१९ सम्म लागू हुनेछ ।


ताजा समाचार