Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

घूससहित विद्युत प्राधिकरणका सुपरभाइजर रंगेहात पक्राउ

भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रस्थित नयाँ मिटर वितरण फाँटका सुपरभाइजर भगवानसागर भैल ११ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ पर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले भैललाई सेवाग्राहीबाट बुझिलिएको एघार हजार रुपैयाँसहित सोमबार उहाँको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।
काभ्रेको बनेपा निवासी भैलले भक्तपुरको सूर्यविनायक नगरपालिका ६ कटुञ्जे सल्लाघारीका एक सेवाग्राहीसँग मिटरको क्षमता बढाउन एघार हजार रुपैयाँ घूस लिनुभएको थियो ।
मसला पिन्ने उद्योग सञ्चालन गर्दै आउनुभएका मिलन राईले १५ एम्पियर क्षमताको मिटर प्रयोग गर्दै आउनुभएको थियो । उक्त मिटरको क्षमता ३० एम्पियर बनाउन नयाँ मिटर वितरण फाँटमा पटकपटक धाउँदा पनि आफ्नो काम नभएपछि राईले अख्तियार गुहार्नुभएको हो ।
पटकपटक मिटरको क्षमता बढाउन आउँदा काम गर्नुको सट्टा सुपरभाइजर भैलले उल्टै पैसा मागेको बुझिएको छ । सेवाग्राही राईका अनुसार प्राधिकरणको नियमानुसार लाग्ने शुल्क तिर्दा पनि मिटरको क्षमता बढाउन भैलले घूस माग्नुभएको थियो ।


राईको उजुरीअनुसार सोमबार विद्युत प्राधिकरण पुगेका अख्तियारको अनुसन्धान टोलीले आरोपी भैललाई नियन्त्रणमा लिएर उहाँसँग बयान लिएको छ । त्यस्तै राईले बुझाएको एघार हजार रुपैयाँ र त्यसको फोटोकपी तथा पैसामा लगाइएको रसायन परीक्षण गरिएको थियो ।
सबै परीक्षणबाट अख्तियारमार्फतको एघार हजार रुपैयाँ नै भैलको साथबाट बरामद भएपछि भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, स्थानीय प्रहरीको रोहबरमा भैललाई नियन्त्रणमा लिइएको छ ।
अख्तियारका प्रवक्ता जीवराज कोइरालाले नियन्त्रणमा लिइएका भैलमाथि आयोगले विशेष अदालतमा घूस लिएको भ्रष्टाचार मुद्दा चलाउने जानकारी दिनुभयो ।


ताजा समाचार