Loading... आजः सोमवार, जेष्ठ १९, २०७७

भेरी नगरपालिकाको घरदैलोले ल्यायो अपाङ्गहरुको अनुहारमा खुसी


रामचन्द्र घर्ती
जाजरकोट । भेरी नगरपालिका ६ का जस्विर खत्रीले गाँउमै अपाङ्ग परिचयपत्र पाउँदा दंग परेका छन् । पुर्ण अशक्त भएपनि अहिले सम्मा परिचयपत्र पाउन नसकेका उनी पहिलोपटक परिचयपत्र पाएपछि दंग परेका हुन् । १२ बर्ष अघि घाँसकाट्दै गर्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चीएर थलापरेका ३८ बर्षिय खत्रीले बल्ल अहिले परिचयपत्र पाएका छन् ।

यातायातकोे सहज पहुँच नभएका करण सदरमुकाम सम्म पुग्न नसक्दा परिचयपत्र बनाउन सकेका थिएनन् । “आफ्नै गाउँका मेयर भएर होला ढिलै भएपनि गाउँमै परिचपत्र बनाउन पाउदा ज्यादै खुसी भएको छु” उनले भने ।

उनिजस्तै सोही गाउँकी शसिला कामि पनि परिचयपत्र पाएपछि दंग परेकी छिन् । उनि दुवैलाई (क) बर्गको परिचपत्र दिइएको छ । परिचयपत्र पाएपछि शसिलाले पनि खुसी व्यक्त गरिन् ।

जिल्लाको भेरी नगरपालिकाले घरदैलोमै पुगेर अपाङ्गहरुलाई परिचय पत्र वितरण गरेपछि जस्विर र शसिकला जस्तै धेरै अपाङ्गले सहज रुपमा परिचय पत्र बनाउने अवसर पाएका छन् ।

अपाङ्ग भएका व्यक्तिहरुलाई नगरपालिका सम्म आउजाउ गर्न कठिनाई हुनुका साथै खर्च समेत लाग्ने भएकाले नगरपालिकाले १३ वटै वडामा घुम्ति शिविर संचालन गरेर परिचपत्र वितरण गरेको हो । अपाङ्ग परिचय पाएकाहरुले बर्गअनुसार विशेष भत्ता समेत पाउने छन् ।

उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा डक्टर सहित पुगेकोे अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको टोलीले घुम्ति शिविर मार्फत १३ वटै वडामा पुगी शारिरिक तथा मानसिक अपांगहरुलाई परिचयपत्र वितरण गरेको छ ।

नगरपालिकाको टोलीले सवै वडाका एक सय २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न बर्गको अपाङ्ग परिचयपत्र वितरण गरेको महिला शाखाकी धनसरा रानाले बताईन ।

२६ जनालाई (क) वर्गको, ६७ जनालाई (ख) वर्गको, ३० जनालाई (ग) बर्गको र ११ जनालाई (घ) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको रानाले जानकारी दिईन ।

शिविरबाट वडा न. १ मा १३ जना, २ मा १९ जना, ३ मा ८ जना, ४ मा १० जना, ५ मा ४ जना, ६ मा १२ जना, ७ मा १६ जना, ८ मा ६ जना, ९ मा १० जना, १० मा १० जना, ११ मा ८ जना, १२ मा ५ जना र १३ मा २ जनाले विभिन्न वर्गको परिचयपत्र पाएको भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलवहादुर घर्तीले जानकारी दिए । परिचयपत्रको लागि निवेदन दिएपनि ३८ जना सम्पर्कमा नआएको महिला शाखाकी रानाले जानकारी दिईन ।

नगरपालिका सम्म आएर परिचयपत्र बनाउन समस्यामा परेका व्यक्तिहरुलाई मध्यनजर गर्दै यस्तो शिविर संचालन गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । यसबाट अपांगहरु निकै लाभाम्बित भएको नगरप्रमुख घर्तीको विश्वास छ ।


ताजा समाचार