नयाँ प्रदेश प्रमुखमा यी हुन् चर्चामा रहेका नाम

Visionkhabar
प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६  || 155 Views   ||   |  

काठमाडौं– सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिदिएपछि अहिले नयाँ प्रदेश प्रमुखको चर्चा शुरु भएको छ ।

अबको केही दिनमै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने गरी सरकारले तयारी शुरु गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का केही नेताहरुको नाम भावी प्रदेश प्रमुखका लागि चर्चामा आएको छ ।

नेकपाका १ नेताका अनुसार प्रदेश २ मा सत्तासाझेदार दल समाजवादी पार्टी नेपाललाई दिएर बाँकी ६ प्रदेशमा नेकपासमर्थित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने गरी तयारी भइरहेको छ ।

‘प्रदेश २ मा समाजवादी पार्टीलाई छाड्ने कि भन्ने पनि छलफल भइरहेको छ । यद्यपि यस विषयमा नेतृत्वले यही नै हुन्छ भनिसकेको अवस्था छैन,’ नेकपाका एक नेताले भने ।

तर, २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका नेताहरुले भने प्रदेश २ को प्रमुख कुनै पनि हालतमा छाड्न नहुने भनेर नेतृत्वको ध्यानाकर्षण गराएका जनाइएको छ ।

प्रदेश नम्बर २ को प्रमुखकका लागि नेकपा नेता रामचन्द्र झाको चर्चा छ ।

यस्तै, नयाँ प्रदेश प्रमुखका लागि नेकपाकी २ जना नेतृ उर्मिला अर्याल र शर्मिला त्रिपाठीको नाम पनि चर्चामा छ ।

भावी प्रदेश प्रमुखका लागि प्रदीप नेपाल र अमिक शेरचनको नाम पनि चर्चामा छ । यसअघि नेपाल र शेरचनको नाम राष्ट्रपतिका लागि पनि चर्चामा थियो ।

भावी प्रदेश प्रमुखका लागि सोमनाथ प्यासी, अमृत बोहरा, केशव बडाल, धर्मनाथ यादव, गणेशमान गुरुङ, तिलक परियार, गुरु बराल, गोविन्द भट्ट, खेमराज भट्ट , उर्वादत्त पन्त, अशोक श्रेष्ठ लगायतको नाम चर्चामा रहेको छ ।

खबरहबबाट 

भिडियो हेर्नुहोस