नेपाली फुटबल टोली अस्ट्रेलियामा

visionkhabar
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  || 37 Views   ||   |  

अस्ट्रेलिया । एक सातापछि हुन लागेको विश्वकप फुटबल छनोट खेल खेल्न नेपाली टोली अस्ट्रेलिया आइपुगेको छ । नेपाली फुटबल टिमका म्यानेजर मधुसुदन उपाध्यायको नेतृत्वमा ३२ जनाको टोली बिहीबार बिहान सिड्नी आइपुगेको हो ।

अस्ट्रेलियाको क्यानबेरास्थित जीआइओ रंगशालामा नेपालले यही १० तारिख बिहीबार अस्ट्रेलियासँग विश्वकप छनौट खेल खेल्दैछ। अस्ट्रेलिया आइपुगेको टोलीमा ९ जना खेल अफिसियलहरु र नेपाली फुटबल टोलीका क्याप्टेन किरण चेम्जोङसहित २३ जना खेलाडीहरु छन्।

खेल हुनुभन्दा एक साताअघि नै अस्ट्रेलिया आइपुगेको नेपाली टोलीलाई यहाँ रहेको अस्ट्रेलियाली नेपाली फुटबल संस्था (एन्फा) र एनआरएनएका पदाधिकारीहरुसहित न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत लगायतले स्वागत गरेका थिए।

अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि नेपाली टोलीलाई यहाँ रहेको एन्फा र एनआरएनए युवा कमिटीले केहीदिन अघि नै बोलाएको हो।

‘नेपाली टोलीलाई हामीले यहाँ प्रतियोगिता हुनुभन्दा अघि नै अभ्यास गर्न र वातावरण बुझ्न सहज होस भन्ने उद्देश्यले चाँडै बोलाएका हौं।’ एन्फाका सञ्चार संयोजक इराज थापाले कान्तिपुरसँग भने। उनका अनुसार शुक्रबारदेखि यहाँ आयोजना हुने विभिन्न चरणका प्रशिक्षणमा सहभागी भएर नेपाली टोली ८ तारिख क्यानबेरा जाने कार्यक्रम छ। उनले सो समयका लागि नेपाली टोलीका लागि अभ्यास गर्न र बस्नका लागि उपयुक्त स्थानको ब्यवस्था गरिसकिएको बताए।

नेपाली खेलाडीहरुले सिड्नीमा नाराबियनमा रहेको सिड्नी एकाडेमी अफ र्स्पोट्समा रहनेछन् भने सोही स्थानमा प्रशिक्षण समेत गर्नेछन्। नेपाली टोलीले प्रशिक्षण लिने उक्त र्स्पोटस एकेडमी यहाँ रहेको उत्कृष्ट र सुविधा सम्पन्न मध्येको तालिम केन्द्र मानिन्छ। नेपाली टोली अस्ट्रेलियामा रहँदा एन्फा र एनआरएनले आयोजना गर्ने गाला डिनरमा समेत सहभागी हुने कार्यक्रम छ।

राजधानी क्यानबेरामा एकसातापछि हुन लागेको खेलमा नेपाली टोलीलाई समर्थन गर्नका लागि हजारौंको संख्यामा नेपालीहरुको सहभागिता हुनेछ। प्रतियोगिता हेर्नका लागि सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका स्थानमा रहेका नेपालीहरुले यसपहिल्यै नै टिकट लिइसकेका छन् भने सवारी साधन नहुनेहरुका लागि सिड्नीबाट बसहरुको समेत व्यवस्था गरिएको छ। यसैगरी सिड्नीमा नेपाली जर्सी र झण्डाको बिक्री महिना दिन अघिदेखि नै गरिसकिएको छ।