एउटै गाउँबाट १५ करोडको आलु निर्यात

visionkhabar
प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६  || 111 Views   ||   |  

सल्यान  । जिल्लाको वाफुखोलाबाट मात्रै यो सिजनमा १५ करोड बढिको आलु निकासी भएको छ ।

बागचौर नगरपालिका वडा न ११ र १२ न वडाबाट मात्रै यस सिजनमा १५ करोडको आलु निकासी भएको हो । साविकको बाफुखोला गाविसका स्थानीयले यो वर्ष दुई हजार रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ । आलुको पकेट क्षेत्रको रुपमा चिनिएको बाफुखोलाबाट वार्षिक सोही अनुमानमा आलु निकासी हुदै आइरहेको कार्यालयले जनाएको छ ।

आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक आलु खेतीमा आकर्षित हुदै आइरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यवसायिक आलु खेती गर्दै आइ रहेका बाफुखोलाबासीले झन्डै ८० प्रतिशत जमिनमा आलु खेती गर्ने गर्दछन् ।

विगतमा घरपरिवा पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जाने किसान अहिले आलुखेतीमा रमाई रहेको स्थानीय कोमला ओलीले बताए । आलु खेतीको किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उनको भनाई छ । उनले भने ‘२ दशकअघिसम्म मजदुरीका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जानुपथ्यो अहिले आलुले गाउँमा रोजगारी दिएको छ । यस सिजनमा आलुबाट सात लाख आम्दानी गर्न सफल भएको छु ।’

सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्ने गरेको किसान दुर्गा बहादुर वलीले बताए । यो वर्ष गाउँबाटै प्रतिकिलो २५ रुपैयाका दरले व्यापारीले आलु खरिद गरेको बताए । उनले भने ‘अन्य खेतीपातीको जस्तो खासै दुःख पनि छैन, उत्पादन र मुल्य पनि वर्सेनि बढि रहेको छ । बारीबाटै व्यापारीले जिल्लाबाहिर लैजाने गरेका छन् ।’

आलु उत्पादनबाट गाउँमा वर्सेनि १० देखि १५ करोड रुपैया भित्रिने गरेपनि भण्डारणको व्यवस्था नहँुदा समस्या भएको १२ न वडा अध्यक्ष दिपक वलीले बताए । गाउँका सबैजसोले आलु उत्पादन गर्दै आइ रहेका छन् । अग्र्यानिक आलु भएकाले देशका ठुला सहरमा समेत यहाँको आलुको माग छ । उनले भने ‘तर गाउँमा कोल्ड स्टोर नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता छ ।’

सल्यानको आलु दाङ, नेपालगञ्ज, धनगढी, चितवन, पोखरासम्म जाने गदछ ।