कश्मीर विवादपछि चीनले दियो भारतलाई यस्तो चेतावनी

Visionkhabar
प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  || 222 Views   ||   |  


पइचिङ । जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ । लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ ।

भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ । अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ ।

चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ । यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ । यो अस्वीकार्य छ ।’ जम्मु कश्मीरको भूभाग हाल भारत, पाकिस्तान र चीनको अधीनमा छ ।

चिनियाँ भनाइको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जम्मु कश्मीर भारतको आन्तरिक मामिला भएकाले यसबारे चीनको भनाइको अर्थ नभएको बताए ।

उनले भने, ‘भारत–चीन सीमा विवादमा दुवैले निष्पक्ष, व्यावहारिक र पारस्परिक स्वीकार्य समाधान गर्ने सहमति गरिसकेका छौं ।’  लद्दाखको कतिपय क्षेत्रमा भारत र चीनले आ–आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन् ।

एजेन्सी