जाजरकोटमा पहिलो पटक स्तनपान कक्षको स्थापना

Visionkhabar
प्रकाशित मितिः बुधबार, साउन २२, २०७६  || 197 Views   ||   |  


जाजरकोट । जाजरकोटमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले स्तनपान कक्ष स्थापना गरेको छ । नवजात शिशु तथा बच्चाहरुको पोषण प्रबद्र्धन गर्न कार्यालयमा स्तनपान कक्षको स्थापना गरिएको हो । विश्व स्तनपान सप्ताहको अन्तिम दिन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्तनपान कक्ष स्थापना गरिएको हो ।

स्वास्थ्य कार्यालय, जाजरकोटको समन्वयमा नेपाल सरकारले संचालनमा ल्याएको बहुँ क्षेत्रीय पोषण योजना तथा सुआहारा कार्यक्रम–२ र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा क्लव, जाजरकोटद्धारा संचालित नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको सहयोगमा स्तनपान कक्ष स्थापना गरिएको बहुक्षेत्रीय पोषण योजना जिल्ला संयोजक हरिबहादुर सिंहले बताए ।

स्थापना गरिएको स्तनपान कक्षले जिल्ला प्रशासन कार्यालयमा कार्यरत र लिन आएका बच्चा सहितका आमा तथा महिलाहरुलाई स्तनपान गराउन सजिलो हुने प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

जिल्लाका सबै सरकारी कार्यालयमा स्तपान कक्ष स्थापना गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । दक्ष जनशक्तिको उत्पादन गरि समग्र बिकासमा जोड दिन सबैले सभ्य, शिष्ट र मर्यादित नागरिकको परिचय दिनुपर्ने बताउदै जिल्ला समन्वय समितिका प्रमुख मनबहदुर रावलले स्तनपानका लागि गाउँ तथा नगरपालिका सरकार मात्र नभएर घर सरकार सक्षम हुनुपर्ने धारणा राखेका थिए ।

बच्चाहरुमा सबै रोगहरुसंग लड्नसक्ने तागत आमाको दुधबाट पाईने भएकोले स्तनपानलाई बिशेष महत्व दिनु पर्ने विज्ञहरुले बताउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्तनपान कक्षको उद्घाटन प्रमुख अतिथि रावलले मैनबत्ति बालेर र प्रजिअ बस्नेतले व्यानर पढेर उद्घाटन गरेका थिए ।

आमाको बिगौती दूधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व पाईने बताउदै शिशुलाई जति धेरै मात्रामा आमाको दूध चुसायो त्यति नै धेरै दूध आउने बिज्ञहरुको भनाई रहेको छ । दिन, रात गरेर कम्तीमा १० पटक आमाको दूध शिशुलाई खुवाउनु पर्ने बिज्ञहरुको भनाइ रहेको छ । विश्व स्तनपान दिवस सन् १९९२ देखि नेपाल सहित विश्वभरि मनाउन सुरु गरिएको हो ।

भिडीयो हेर्नुहोस :