विप्लवसँग वार्ताको पहल गर्दै सरकार

visionkhabar
प्रकाशित मितिः मङ्लबार, असार ३१, २०७६  || 136 Views   ||   |  

बुटवल । विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता सुरु गरिएको जनाएको छ ।

सांसद सोमप्रसाद पाण्डेले सरकारी टोलीको नेतृत्व गर्दै वार्ताका लागि लागिपरेको बताएका छन् । मंगलवार बुटवल आएका पूर्व वार्ता टोलीका संयोजक पाण्डेले केही नेता कार्यकर्तासँग कुराकानी भएको बताए ।

‘बुटवलमा खास वार्ता नै भएको छैन, केही नेताहरुसँग भेट गरेका छौँ,’ उनले भने । बुटवलमा कुराकानी गरेका भनिएका नेताहरु समेत केन्द्रीय स्तरका नभएको बताइन्छ । सरकारले वार्ताका क्रममा केही औपचारिक कुराकानी सुरुआत भएको बताए पनि ती निराधार भएको उक्त स्रोतको दाबी छ ।

सांसद पाण्डेले विप्लव नेतृत्वको जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेसहित केही स्थानीय तहका नेतासँग भने छलफल गरेको छ । सरकारी वार्ता टोली नै नबनाइ वार्ता सुरु गरिएको हल्ला फैलाएकोमा नेकपाले भने आशंका गरेको छ । सरकारले सांसद पाण्डेसहित सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मालाई जिम्मेवारी दिएको बताइएको छ ।

वार्ताका लागि तयार रहेको विप्लव नेतृत्वको नेकपाले भने आधिकारिक एजेण्डा विना वार्ता गर्नु उपयुक्त नहुने तर्क गरेको छ । ‘न सरकारी वार्ता टोली नै बनेको छ, न त एजेण्डा नै छ, जेलमा रहेका कार्यकर्तालाई भेटेर भ्रम छर्ने र जनतालाई सान्त्वना दिन मात्रै सरकारले गरेको प्रोपोगान्डा हो,’ एक नेताले नेताले काभ्रे र भक्तपुरमा गरिएको वार्ता समेत हल्ला मात्रै भएको दाबी गरे ।

विप्लवका कार्यकर्तासँग वार्ताका लागि सांसद पाण्डे सोमवार नेपालगञ्ज पुगेका थिए । त्यहाँ एकाध नेतासँग कुराकानी भएको बताइएको छ । त्यसलगत्तै उनी मंगलबार बुटवल हुँदै काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरेर बुधवार नै उनी बुटवल फर्किने बताइएको छ ।