अन्तरजातिय विवाह गर्ने जोडीको पिडा,विस्थापित जीवन विताउन वाध्य

visionkhabar
प्रकाशित मितिः बिहिबार, असार २६, २०७६  || 230 Views   ||   |  

कालीबहादुर नेपाली,
जाजरकोट । अन्तरजातिय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह तीन बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले विवाह गरेको भन्दै माईती पक्षको धम्कीले उनीहरु विवाह गरेको चार बर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् । अछुत भनिने दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइती पक्षको मात्र होइन उनीहरु सामाजिक बहिष्करणमा परेका छन् । यहाँ अहिले पनि जातिय छुवाछुत कायमै छ ।

२०६७ सालमा गणेश १७ बर्षका थिए । ज्योती १५ बर्षकी । त्यतिखेरी तिनीहरु विच प्रेम बस्यो । उनीहरु वीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतीलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग विहे गरेको भन्दै तत्काल माईती पक्षले ज्योतीलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । फेरी फर्केर हेरे बालविवाहको मुद्धा लगाउने र ज्यानै लिने धम्की दिएपछि प्रेम केही समय पछि हटे । वास्ता गर्न छोडे । तर, उनीहरु विचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुवाको धम्कीले नै । उनीहरु उमेर पुगेपछि पुनः २०७२ कार्तिक ९ गते सँगैमर्ने सँगैबाँच्ने कशम खाँदै गाँउबाट भागेका थिए । उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे । यता माईती पक्षले गणेश र उनका बुवा कमारा चदारा विरुद्ध ८ लाख ५० हजार चोरी गरेको आरोप सहित ईलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्धा दर्ता गराए । गणेशको घरमै गएर ढुङ्गामुढा गदै एक हप्ता भित्र छोरीलाई नल्याए जे पनि हुन सक्छ भन्दै धम्क्याए । प्रहरीले गणेशका बुवालाई पक्राउ गर्यो । छोरालाई खोजेर ल्याउँछु भनेपछि प्रहरीले कमारालाई छोडिदियो । उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलंगा बोलाए । गणेश धनगढीबाट खलंगा आए । सुरक्षाका कारण देखाउँदै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो । दुवै पक्षको बयानका आधारमा ज्योतीका बुवा उत्तम शाहले चोरी गरेको भनि दर्ता गराएको मुद्धा झुटा ठहर भयो । प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर विहे गरे अरुले हस्तक्षप गर्न नहुने बताउँदै दुवै पक्षलाई मिलापत्र गर्न आग्रह गर्यो तर माईती पक्षकाले मिलापत्र गर्न मानेनन् फर्केर गए । गाँउ गए उनीहरुको सम्बन्ध विच्छेद गराउने र जतिखेर पनि आक्रमण हुन सक्ने डरले आफुहरु गाँउ जान नसकेको गणेशले बताए ।

गाँउकै शिवपुरी माध्यामिक विद्यालयमा दुवै जना अध्ययन गर्थे । ११ कक्षा दुवै जना पास भयौ तर, १२ कक्षाको परीक्षा दिन पाएनौ गणेशले भने ‘१२ कक्षाको परीक्षा आवेदन फारम भरेपनि माईती पक्षको धम्कीका कारण परीक्षा दिन पाएनौ ।’ गाँउमै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माईती पक्षको धम्कीका कारण दुई पटक परीक्षा छुटाईसकेका छन् । विद्यालयले स्थानान्तरण समेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पुरा हुन नसकेको उनले गुनासो गरे । दुवै बेरोजगार । सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्छन भने ज्योतिले सदरमुकाममै सानो घुम्तिमा खुद्रा पसल राखेकी छन् । ‘जेनतेन गुजरा चलेको छ ।’ गणेशले भने ‘गाँउमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थे अहिले म साह्रै समस्यामा छु ।’ यस अवधिमा उनीहरुका दुई छोरीको जन्म समेत भैसकेका छन् । तर अझै पनि माईती पक्षको मन पग्लिएको छैन । ‘अरु हामीलाई मतलब छैन । हाम्रो छोरी मरीसकि । तिनीहरु फर्केर हाम्रो गाँउमा नआउन, आए राम्रो हुदैन भन्नु हुन्छ रे बाबामम्मीले मैले के विगारेकी छु र ? प्रेम गर्नु पाप हो र ?’ ज्योतिले भनिन ‘अहिलेको एक्काईसौ शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरे । म के गरुँ ।’ उनीहरुलाई गाँउमै पुर्नस्थापित गराउन पहल नभएको पनि होईन ।

दलित नेटवर्क जाजरकोटको पहलमा जिल्ला स्थित राजनैतिक दल, सुरक्षा निकाय, अधिकारवादी लगायतको सर्वपक्षिय बैठकले गाँउमा गएर कुरा मिलाउन २०७२ माघमा प्रहरी निरीक्षक हिक्मत बोहराको नेतृत्वमा एक टोली गर्खाकोट गएको थियो । ईलाका प्रहरी कार्यालयमा माईती पक्षकालाई बोलाएर ति जोडीलाई गाँउमा पुर्नस्थापनाको लागी पहल गर्ने क्रममा उल्टै प्रहरी कार्यालयमै आक्रमण भयो । प्रहरी नायव निरीक्षक महेश पन्त घाईते भए । तर सहमति हुन सकेन । कथित माथिल्लो जातका भनिने त्यहाँका ठकुरीले कुनै हालतमा यो विवाहलाई नस्वीकार्ने बताएपछि आफुहरु फर्केर आएको राष्ट्रिय दलित नेटवर्कका जिल्ला अध्यक्ष गोपाल नेपालीले बताए । उनले अझै पनि जातिय विभेद कायमै रहेको बताउँदै यो समस्या राज्यले सुल्झाउनु पर्ने बताए । दलित भएकै कारण तीन बर्षसम्म घर जान नपाउनु यो जस्तो विडम्बना के हुन सक्छ उनले भने ‘यो सरासर अन्यायपुर्ण ब्यवहार हो । दलित माथि गरिएको विभेद हो ।