छाेरी जन्मने बित्तिकै १० हजार, भैँसी सुत्केरी भए १६ सय

visionkhabar
प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६  || 250 Views   ||   |  

जाजरकोट । ‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत  जुनीचाँदे गाउँपालिकाले अब छाेरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ। साउन १ गते देखि लागु हुने गरि गाउँपालिका भित्र जन्मने प्रत्येक छोरीको नाममा निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा  २०७६/७७ को निति तथा कार्यक्रममा सार्वजनिक गरेको हो ।

लैंगिक रूपमा छोरीलाई विभेद गर्ने, छोरीलाई नपढाउनेजस्ता रुढीवादी संस्कार तोड्न पालिकाले छोरी सुरक्षा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए । छोरीको बैंक खातामा रकम जम्मा हुँदा आर्थिक रूपमा सुरक्षित भई अध्ययनमा अग्रसर हुने उनको भनाइ छ। बैँक खातामा रकम जम्मा गर्दा अभिभावकले समेत छोरीलाई माया गर्ने र लैंगिक विभेद अन्त्य हुने गाउँपालिकाको अपेक्षा छ।

छोरी भए गर्भमै भ्रुण हत्या गर्ने प्रबृत्ति बढेपछि छोरी बचाउँ, छोरी बढाउँ र छोरी पढाउँ अभियान सञ्चालन गरि अभिभावकहरु वीच चेतनामुलक कार्यक्रम संचालन गर्ने  वजेट तथा निती कार्यक्रममा जनाइएको छ ।

त्यस्तै गाँउपालिकामा रहेका कक्षा ३ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरुलाई निशुल्क पोशाक, झोला तथा कापी,कलम वितरण गर्ने  र गाँउ गाँउमा कार्यरत स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन स्वरुप बार्षिक एकमुष्ट १० हजार रुपैया दिने बजेटमा व्यवस्था गरिएकाे छ।

यसैगरी, जुनीचाँदेमा भैंसीपालन व्यवसायलाई प्रवद्र्धन गर्न ‘एक कृषक, एक भैँसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था छ।

व्यावसायिक रूपमा पशुपालन गर्ने कृषकलाई भैँसी पालन तथा बाख्रापालनका लागि गाउँपालिकाले ६० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाएको गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले बताइन। उनका अनुसार सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरी प्रत्येक सुत्केरी आमा तथा बच्चालाई न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा तोरीको तेल वितरणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ।