कविता : चेतनाको अखण्ड ज्योति

Visionkhabar
प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६  || 201 Views   ||   |  
  • दयाल बहादुर शाही

कविता : चेतनाको अखण्ड ज्योति

देश र जनतालाई कसले ढोग्छ ?

देशलाइ कसले ठुग्छ ?

जनतालाइ कसले चिथोर्छ ?

अस्पतालका बिरामी कसले भेट्छ ?

भन्सारका हरामीसँग कसको बसउठ छ ?

गाउँ र शहरलाइ कसले जोड्छ ?

महानदी भएर

हिमाल र तराइ कसले समेट्छ ?

कुन कुन खहरेले बस्ती बगाउँछ ?

को कर्मठ छ ? को काम चोर छ ?

कामको बेला बिसन्चो बेहाल छ

खाने बेला ठूलो थाल कहाँ छ ?

परिवारमा यस्तो गर्ने अमिल्दो को छ ?

पार्क पार्कमा रमणी कसले घुमाउँछ ?

बाह्रै महिना कसले पसिना चुहाउँछ ?

अरूका लागि कसले रित्यायो गोजी ?

देशका लागि कसले कटौती गर्छ खुशी

एक एक हिसाब राखी राख्नु

किनभने हे नौजवान

तिमी फुटबल मैदानमा चम्केको

त्यो खेलाडी जस्ता हौं

जसले जुनसुकै बेला पनि

जितहारको दिशा बदली दिन्छ ।

तिमीमा मौजुद

तिक्ष्ण राजनीतिक ग्रहणशक्ति

सदावहार रहनु पर्छ ।

जनताको कोप कसप्रति छ ?

जनताको समर्थन कता ओइरिदै ?

अनुकूलता र अबसरको पछाडि

कुद्नु छैन तिमीले

जनताको मनोदशा समयमै बदल्ने

कोप छल्ने र समर्थन बटुल्ने

औकात र साधनाको आडमा

अटल र असल रहनु पर्छ तिमी ।

भगवान सृजना गर्नेले

जनताको स्थानमा ढुंगा उभ्याएका छन

तिमी र तिम्रो पुस्ताले

जनतालाइ देख्ने, बुझ्ने र बदल्न सक्ने

सृष्टिकर्ता, पालनकर्ता र संहारकर्तामा

स्थापित गरेरै छाड्नू छ ।

सत्पात्रलाइ चिन्न र थाम्न सक्ने

खलपात्रलाइ चिन्न र ठाम्न सक्ने

कसिंगरलाइ बढार्ने

अजिंगरलाइ बटार्ने

एउटा महाशक्ति र

एउटा नयाँ सृष्टिको सिर्जना गर्नू छ ।

आस्वासन अपराध होइन

किनकी तिमीले दिएका वचन

जनताको सामथ्र्यका मापक र

सामुहिक प्रयत्नका प्रक्षेपण हुन् र हुनुपर्छ

तिमीले गरेका संकल्प उपदेश होइनन्

जनताको एकताबद्ध पहलका परिणती हुन् ।

जनताले हेर्दा हेर्दै

यो देशलाइ सुडान बनाउने

डढाउने र मसान बनाउने

भाका कबोल गरेरका जति

तिम्रो पूसताको सचेतनादेखि हैरान छन

खबरदारीदेखि जलेका छन

देश सिध्याएको र रित्याएको

बदलामा कामधेनु गाइ भएका दाताहरू

रिसाउने डरले परजीविहरूको

होशहवास उडेको छ,

नीद र चैन हराएको छ ।

दुइ दुइ वटा संविधान सभालाई

घोगा नलाग्ने उन्नत मकै बनाउने खेल

नेपाल हडप्ने षडयन्त्रको हिस्सा थियो

नत्र भूकम्पले थिलाथिला भएको देशले

संविधान बनाउने मतो कस्ता

कोही कराउनु पर्ने

कोही डराउनु पर्ने थिएन ।

नाकाबन्दी र नाकाबन्दीको समर्थनको त झन

न आवश्यकता थियो न औचित्य थियो ।

संविधान बनेपछि

मालिक रिसाउने डर र

आयश्रोत सुक्ने भयले

आमाले दुख सहेर दिएको

पूर्णचन्द्रजस्तो अनुहारमा

औंसीको अवतरण जरूरी थिएन ।

अघिपछि मुस्कान फ्याँकेर जनतालाई

मोहनीमा भुलाउने मुखमण्डलहरू

कागती निचोरे जस्ता किन भए ?

कारण, आशय, अर्थ र रहस्यको

लागत तयार पारेर

जनताको अदालतमा बुझाउन त बाँकी नै छ ।

सुम्सुम्याएर सिध्याउने ब्वाँसोलाइ

लुतो सिध्याउन आएको ठेकादार ठान्ने

सोझो अर्ना बन्नबाट जोगिनू छ ।

हरेकको मुकुण्डो उतार्न सक्ने

कला र कौशलता बिना

तोपसँग छात्ती थापेर बचाएको मातृभूमि र

वीरपुर्खाको विरासतको निरन्तरता संभव छैन ।

तिम्रो पूस्ताले सचेतनाको यो अखण्ड ज्योति

कुनै हालतमा पनि निभ्न दिनु छैन ।

दायित्वको अर्काे हिमालय बोक्ने

काँध र आँटको आपूर्तिले मात्र

मातृभूमिको दुर्भाग्य टार्नेछ

नेपाल र नेपालीको पोल्टामा

सुख र समृद्धि मात्र पार्नेछ ।

भिडियो हेर्नुहोस :