आईपीएलमा हैदरावादबिरुद्ध दिल्लीको शानदार जित

visionkhabar
प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  || 54 Views   ||   |  

भारत । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

सनराईजर्स हैदरावादलाई ३९ रनले हराउँदै दिल्लीले प्लेअफ प्रवेशको संभावना बलियो बनाएको हो । ८ खेलमध्ये ५ मा जित निकालेको दिल्ली १० अंकमा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंक भएको चेन्नई सुपर किङ्स शीर्ष स्थानमा छ ।

हिजै भएको पहिलो खेलमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको थियो । ८ अंक भएको कोलकात्ता भने हारपछि तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद ७ वल अगावै १ सय १६ रनमा समेटिएपछि दिल्लीले सहज जित हात पारेको हो । डेभिड वार्नरले ५१ र जोनी ब्रेष्टोले ४१ रन बनाएपनि हैदरावादका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । ७२ रन जोड्दा पहिलो विकेट गुमाएको घरेलु टोली १८ ओभर ५ बलमा थप ४४ रन जोड्दै अलआउट भयो ।

न्युजिल्याण्डका केन विलिएम्सन कप्तानमा फर्किएपनि हैदरावादले चौथो हार भने टार्न सकेन । कासिगो रावाडाले ४ तथा केमो पउल र क्रिस मोरिसले समान ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रनको मध्यम योगफल तयार पारेको थियो । कप्तान श्रेयस ऐरले ४५ रन बनाएको दिल्लीको ईनिङसमा कोलिन मुनरोले ४०, रिसव पन्तले २३ र अक्सर पटेलले अविजित १४ रन बनाए ।

खलिल अहमदले ३ तथा भुवनेश्वर कुमारले दिल्लीको २ विकेट लिए । आईपीएलमा आज मुम्बई ईण्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच प्रतिस्पर्धा हुनेछ । ७ खेलबाट ८ अंक जोडेको मुम्बई चौथो स्थानमा रहँदा एक खेलमा मात्र जित निकालेको विराट कोहलीको बैंङ्लोर पुछारमा छ ।