नयाँ बर्षको बिहानै दुःखद खवर : लुक्लामा जहाज दुर्घटना, तिन जनाको मृत्यु

Visionkhabar
प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६  || 183 Views   ||   |  


काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना भएको छ । आइतवार विहान समिट एयरको जहाज दुर्घटना हुुदा तिन जनाको मृत्यु भएको छ । पाइलटसहित दुईजना गम्भीर घाइते भएको जनाइएको छ ।

लुक्ला विमानस्थलमा उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । जहाजमा चालकदल मात्र थिए यात्रुहरु थिएनन् । दुर्घटनामा परि जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताएका छन् ।

विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उक्त जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् । उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन् । घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टर पुरै क्षतिग्रस्त भएको छ । श्रीएयरको हेलिकप्टरमासमेत क्षति पुगेको छ ।

भिडियो हेर्नुहोस :