पचास सैयाको अस्पतालको एक्सरे मेसिन कार्यालय सहयोगीको भरमा

Visionkhabar
प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५  || 71 Views   ||   |  

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालको एक्सरे मेसिन कार्यालय सहयोगीले चलाउने गरेको खुलेको छ । एक्सरे चलाउने दुई जना स्वास्थ्यकर्मी विदामा बसेपछि एक्सरे सेवा सहयोगीले चलाउने गरेका हुन् । एक्सरे चलाउने रेडिग्राफर मेडिना शाही र डार्क रुम असिष्टेन्ट सुनिता पुन दुवै जना एकै पटक विदामा बसेपछि कार्यालय सहयोगी रमेश वलीको भरमा एक्सरे सेवा संचालन भैरहेको छ ।

डार्क रुम असिष्टेन्ट सुनिता गत चैत्र २ गते छोरी विरामी भएको भन्दै विदामा बसेकी हुन । उनी विदामा बसेको बेला ८ चैत्रमा रेडियोग्राफर मेडिना पनि आफुलाई सञ्चो नभएको भन्दै विदामा बसेपछि एक्सरे सेवा प्रभावित भएको हो । दुवै जना विदामा गएपछि एक्सरे सेवा बन्द छ । फुर्सदको बेला कार्यालय सहयोगी वलीले मेसिन चलाउँछन् भने उनी अन्य काममा ब्यस्त भएको बेला एक्सरे सेवा नै बन्द हुने गरेको भेरी नगरपालिका ३ का बुद्धिबहादुर खत्रीले बताए । ‘एक्सरे जस्तो गम्भिर प्रकृतीको काम कार्यालय सहयोगीले गर्दा सेवा प्रवाह कति भरपर्दो होला’ उनले भने ‘अस्पतालमा हदै सम्मको लापरवाही छ ।’

दैनिक एक्सरेका लागि गएका विरामीहरु कर्मचारी नहुँदा घण्टौ कुर्नु परेको नलगाड ८ का पुर्ण शाहीले बताए । अस्पतालको सरसफाइ देखि एक्सरे सम्मको काममा कार्यालय सहयोगीलाइ लगाउँदा विरामीले निर्धारित समयमा एक्सरे सेवा लिन नपाएको गुनासो गरेका छन् । ५० शैयाको भनिएको यो अस्पतालमा सामान्य शल्यक्रिया सेवा संचालन भएपनि अन्य सेवा प्रभावकारी नहुँदा उपचार सेवा प्रभावित हुने गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा. केशर कार्कीले सुनिताको छोरी विरामी भएर विदामा गएको र मेडिना आफै विरामी भएपछि उनीहरु विदामा बस्दा सेवा प्रभावित भएको बताए । ‘स्वास्थ्यकर्मीलाई सेवा प्रभावित नहुने गरी विदामा बस्न आग्रह गरिएको थियो । रेडियोग्राफर मेडिना विहिवार नै फर्कने गरी गएपनि हाल सम्म फर्केकी छैनन् । सेवा बन्द नै गर्नु भन्दा मेसिन नलाउन सिकेका सहयोगीलाई केही दिन एक्सरे चलाउन लगाईएका हौ’ डा. कार्कीले भने ‘केही दिनमै यस्तो समस्याको समाधान गछौ ।’

डिजिटल संचार बाट