निर्मला हत्या प्रकरण: पूर्व एसपी विष्टको बयान सकियो, फैसला शुक्रबार आउने

Visionkhabar
प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५  || 130 Views   ||   |  

कञ्चनपुर । निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान सकिएको छ ।

बुधवार विष्टको वयान सकियको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । विष्ट वयानका लागि मंगलवार आफै अदालत उपस्थित भएका थिए ।

उनको यातना सम्बन्धी र प्रमाण नष्ट गरेको मुद्दामा दुई दिन बयान लिईएको हो । बयान सकिएसँगै बहस पनि भएको छ । समय अपुग भएपछि शुक्रबार फेरि बहस हुने जनाइएको छ । र फैसला पनि हुने छ । फैसला कस्तो हुने हो भन्ने चौतफी चाँसोको विषय बनेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता देवराज भारती र सह न्यायधिवक्ता मोहन जोशी तथा प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका थिए ।

पूर्व एसपी विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

यसअघि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका ६ प्रहरी अधिकारी धरौटीमा रिहा भएका छन् । अझै सीआईबीका डिएसपी अंगुर जिसी फरार छ । उनलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।