महिला भलिबलको फाइनलमा कालिकाेट र सुर्खेत भिड्ने

visionkhabar
प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५  || 250 Views   ||   |  

जाजरकाेट । जाजरकाेटमा जारी कर्णाली प्रदेश स्तरिय छनाेट महिला भलिबलको आज (साेमबार)को सेमिफाइनल खेल जित्दै कालिकाेट र सुर्खेत फाइनलमा  प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल मंगलबार हुने छ ।

खलंगास्थित त्रिभुवन माविकाे खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कालिकाेटले रुकुम पश्चिमलाई ३–१ को सेटमा हराउदै फाइनलमा स्थान बनाएको हो । मुख्यमन्त्री कपकाे  विजेता समेत रहेको कालिकाेटले रुकुम पच्छिमलाई २५–७, २५–१८, १९–२५ र २५–१० को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै भएको दोस्रो सेमिफाइनलमा सुर्खेतले दैलेखलाई ३–१ को सेटमा पराजित गर्यो । सुर्खेतले दैलेखलाई २४–२६, २५–२१, २५-९ र २५–१४ को सेटमा हराउदै फाइनलमा कालिकाेटसँगको भेट पक्का गरेको हो ।

कर्णाली प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति जाजरकाेटको सहआयोजनामा भैरहेकाे यस प्रतियाेगितामा कर्णाली प्रदेशका १० जिल्लाकाे सहभागिता रहेकाे थियाे ।