कर्णाली प्रदेश स्तरीय महिला भलिबल छनोट प्रतियोगिता जाजरकाेटमा शुरु

visionkhabar
प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५  || 241 Views   ||   |  

जाजरकाेट । आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत कर्णाली प्रदेश स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शनिबारबाट जाजरकाेटमा शुरु भएको छ ।

कर्णाली प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति जाजरकाेटको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १० जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा कर्णाली प्रदेश अन्तर्गत जाजरकाेट,  दैलेख, रुकुम पश्चिम, सुर्खेत, सल्यान, कालिकाेट, हुम्ला, जुम्ला, मुगु र डाेल्पा रहेका छन् । खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १० टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेशको महिला भलिबल टिम बनाइने जिल्ला खेलकुद विकास समिति जाजरकाेटका अध्यक्ष नर बहादुर बस्नेतले बताए ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित खलंगा स्थित त्रिभुवन माविकाे खेल मैदानमा शुरु भएको खेल फागुन २१ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति जाजरकाेटका सदस्य सचिव जय प्रसाद आचार्यले बताए ।

आज पहिलाे दिन भएकाे खेलहरुमा कालीकाेट, सुर्खेत र मुगु विजयी भएका छन् ।  कालीकाेटले दैलेखलाई २५-२०, २५-१३ काे सेटमा हरायाे त्यसैगरी सुर्खेतले हुम्लालाई २५-८ , २५-५ ले हरायाे र मुगुले जाजरकाेटलाई १३-२५, २५-१९ , २५-१९ काे सेटमा हरायाे ।