अन्योलमा आठौँ राष्ट्रिय खेलकूद, निराश खेलाडी

visionkhabar
प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  || 114 Views   ||   |  

बाँके । नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यति बेला निराश बनेका छन् ।

“हामीहरुको यो उत्साह र जाँगरमा अङ्कुश लगाउने काम भएको छ । पटकपटक मिति सार्दा खेल क्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गर्नबाट बन्देज गराएको जस्तो आभास हामीलाई भइरहेको छ । हामी खेलक्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्छौँ”, एक खेलाडीले भने ।

पटकपटक मिति सारिरहँदा निराश भएका खेलाडीहरुको एउटै आग्रह छ, समयमै प्रतियोगिता सञ्चालन होस् । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु प्रतियोगिताको मितिमै अन्योल हुँदा मेहनत खेर गइरहेको बताउँछन् । तोकिएको मितिमा प्रतियोगिता नहुनु र पटकपटक मिति सारेर अन्योल हुँदा खेलाडी र खेलक्षेत्रप्रति आयोजकले बेवास्ता गरेको खेलप्रेमी दीपक हमाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खेलाडीलाई अवसर चाहिएको छ, त्यसतर्फ सम्बद्ध पक्षले चासो नदिँदा समस्या भएको छ ।” पटकपटक मिति सारेर आयोजकले खेलाडीलाई दुःख दिन नहुने उहाँको तर्क छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण सम्पन्न नहुँदा खेलाडीहरु त्यसको मार परेका छन् ।

तोकिएको समयमा भौतिक पूर्वाधारहरु नबन्नु र प्रतियोगिताको मिति नतोकिनुले खेलाडीहरु अन्योलमा छन् । यसअघि मङ्सिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

सो मितिमा पनि प्रतियोगिता हुन नसक्दा अन्योलता सिर्जना भएको छ । राखेपले सचिवालय नै स्थापना गरेर काम शुरु गरेको भएपनि यस वर्ष प्रतियोगिता हुनेमा आशङ्का बढेर गएको छ । राष्ट्रिय गौरवको प्रतियोगिताको मिति नै अन्योलमा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्नेमा मनोबल कमजोर बनाउन नहुने खेलप्रेमी श्याम गिरीको तर्क छ ।

प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले यसै वर्ष प्रतियोगिता सञ्चालन हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्ष प्रतियोगिता सम्पन्न हुन्छ ।” रङ्गशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज निर्माण, कभर्डहल मर्मत अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विभिन्न खेलहरुको सङ्गमस्थल नेपालगन्ज रङ्गशालामा यतिबेला पुनःनिर्माणको कार्य भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी रङ्गशाला पुनःनिर्माणसँगै यसको क्षमता पनि विकास गरिँदैछ । तर प्रतियोगिताको मिति नतोकिँदा यहाँका खेलाडी तथा प्रशिक्षकहरु चिन्तित बनेका छन् । दैनिक हुने खेल अभ्यासमा खेलाडीहरुलाई मैदान अभाव भएको छ ।

रङ्गशाला पुनःनिर्माण भइरहेकाले खेलाडीहरुलाई अभ्यासका लागि ठाँउ छैन । लामो समयदेखि निर्माण कार्य भइरहेकाले जुडो, तेक्वान्दो, कुस्ती, दौडलगायत खेलका खेलाडीलाई खेल मैदान अभाव भएको हो । प्रतियोगिता भइहाले अभ्यासविनै खेल खेल्नुपर्दा भनेअनुरुप नतिजा प्राप्त गर्न नसकिने खेलप्रेमीहरुको ठहर छ । प्रतियोगितामा समावेश हुने ३७ खेलमध्ये १७ खेल बाँकेमा हुनेछन् । (रासस)