बाँकेमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरिने

visionkhabar
प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  || 1320 Views   ||   |  

बाँके । बाँकेको कर्णाली उपनामले परिचित नरैनापुर गाउँपालिमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरिने भएको छ । नरौनापुर गाँउपालिका वडा नं २ को अलिनगरमा निर्माण गर्ने भनिएको क्रिकेट मैदानको शनिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

प्रदेश सरकारको एक स्थानीय तह एक रंगशाला अभियानलाई सार्थक बनाउन बाँकेको नरैनापुर गाँउपालिकामा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माण प्रक्रिया अगाडी बढाईएको बताईएको छ । प्रदेश सभा सांसद कृष्ण केसी नमुना, संविधान सभा सदस्य दिनेशचन्द्र यादव र गाउँपालिकाका अध्यक्ष मो। ईस्तियाक अहमद शाहले बिहीबार रंगशालाको शिलन्यास गरेका हुन ।

रंगशालाको शिलन्यास गर्दै संविधान सभा सदस्य तथा पूर्व मन्त्री दिनेश चन्द्र यादवले नरैनापुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुने बघौडा क्षेत्रमा विकासको मूल फुट्न थालेको संकेतको रुपमा भएको आफुलाई आभाष भएको बताए ।

रंगशालाको शिलन्यास गर्दै प्रदेश सांसद नमुनाले रंगशाला निर्माणपछि बाँकेको नरैनापुरको परिचय नै बदलिने दाबी गरिन । उनले भनिन, ‘नरैनापुरलाई अव अन्तराष्ट्रिय क्रिकेट मैदानले विकास र पहिचान दुवैमा परिवर्तन ल्याउने छ ।’

प्रदेश सांसद केसीले प्रदेश सरकारले बहुवर्षिय योजनाको रुपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको बताउदै संघ तथा स्थानीय सरकारले पनि अपनत्व लिन आव्हान समेत गरिन । आधुनिक क्रिकेट मैदान, स्वीमिङ्ग पुल, लङ्ग टेनिस, बास्केट वल, भलिवल कोर्ट निर्माण गरिनुको साथै भिआइपी, भिभिआईपी र सर्वसाधारणको लागि प्याराफिट सहितको मैदान निर्माण गर्ने योजना रहेको बताईन ।

नरैनापुर गाउपालिकाका अध्यक्ष मो। इस्तियाक अहमद शाहले नरैनापुरको विकासमा प्रदेश सरकारको पहलका कारण चाँडै नयाँ रुप र गति लिने विश्वास व्यक्त गरे । उनले पहिलो चरणमा हुलाकी सडकदेखि सो रंगशाला जानको लागि करिव डेढ किलोमिटर बाटो निर्माणको लागि १७ लाख बजेट छुट्टयाईएको जानकारी दिए ।

१ अर्व ८ करोड ५४ लाखको लागतमा सात दशमलभ १ विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको सो रगशालाको डिजाईन दंगिशरण कन्सल्ट दाङ्ग तुलसीपुर किर्तिपुर काठमाण्डौले तयार पारेको हो ।

काँचुलीखबरबाट