जाजरकोटमा मासुको नयाँ मुल्य निर्धारण

visionkhabar
प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  || 686 Views   ||   |  

जाजरकाेट । बिहिवार सदरमुकाम खलंगामा बसेको समन्वयात्मक बैठकले मासुको मुल्य निर्धारण गरेको छ । मासु व्यवसायी र सरोकारवालाहरु बिचको समन्वयात्मक बैठकले मासुको मुल्य निर्धारण गरेको हो ।

उद्योग बाणिज्य संघ, जाजरकोटको आयोजना र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटद्धारा संचालित पहल कार्यक्रमको समन्वय तथा सहजीकरणमा बिहिवार मासु व्यवसायी र सरोकारवालाहरु बिचको समन्वयात्मक बैठक सम्पन्न भएको थियो । उक्त बैठकले जिउदो खसीको प्रति किलो ३ सय ३५, काटेको खसीको प्रति किलो ६ सय ५० रुपैया मुल्य निर्धारण गरेको उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिए । त्यसैगरी जिउदो बोइलर प्रति किलोको २ सय २० र काटेको बोइलरको प्रति किलो ३ सय ५० रुपैया मुल्य निर्धारण गरिएको अध्यक्ष खत्रीले बताए ।

समन्वयात्मक बैठकले निर्धारण गरेको मासुको मुल्यलाई अनुमोदन गरिदिन आगामी दिनमा बस्ने जिल्ला दर रेट निर्धारण समितिको बैठकलाई अनुरोध गर्ने निर्णय भएको पहल कार्यक्रमका जिल्ला संयोजक मदनबहादुर कार्कीले जानकारी दिए । त्यसैगरि मासु व्यवसायीले मासु काट्ने स्थल ९बद्शाला० लाई सरसफाईयुक्त राख्नलाई तोकिएको मापदण्ड अनुसारको संरचना निर्माण गर्ने निर्णय भएको संयोजक कार्कीको भनाई रहेको छ ।

मासु उपभोक्ता, उत्पादक र व्यवसायी सवैको हितमा तोकिएको मापदण्ड अनुसार मासु व्यवसाय संचालन भए नभएको नियमित निरिक्षण तथा अनुगमन गर्नका लागि स्थानीय प्रशासन, नगरपालिका र उद्योग बाणिज्य संघले सक्रियता बढाउने निर्णय भएको संयोजक कार्कीले बताए । उक्त बैठकले जिल्लामा रहेका सवै मासु व्यवसायीहरुले आ–आफ्नो व्यवसायको कानुनी बैधानिकताका लागि अनिवार्य रुपमा व्यवसाय दर्ता गर्नुको साथै नविकरण गर्नु पर्ने निर्णय भएको पनि संयोजक कार्कीले जानकारी दिए ।

उक्त समन्वयात्मक बैठकमा मासु उत्पादन गर्ने बाख्रा पालन फर्मका संचालकहरु, मासु व्यवसाय संचालन गरिरहेका ९वद्शाला० संचालकहरु, भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि गोपाल शाही, घरेलु विकास समितिका प्रतिनीधि जनक सुनार, कृषि ज्ञानकेन्द्रका प्रतिनीधि टोपबहादुर नेपाली, भेटनरी अस्पताल सम्पर्क कार्यालय प्रमुख भुपेन्द्र पुन, भेरी नगरपालिका पशुपंछी विकास शाखा प्रमुख धनबहादुर विक लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।