कविता बाचन गरेर मनाइयो कविशिरोमणि पौड्यालको जन्मजयन्ती

visionkhabar
प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  || 55 Views   ||   |  

जाजरकाेट । कविता बाचन गरेर जाजरकोटमा कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती मनाईएको छ । नेपाली साहित्वमा कविशिरोमणिका नामले परिचित लेखनाथ पौडेलको १३५ औं जन्म जयन्तीको अवसरमा लेखनाथ साहित्य प्रतिष्ठान जाजरकोटले विहिवार सदरमुकाम खलंगामा कविता बाँचन कार्यक्रमको आयोजना गरेको थियो ।

कविता वाचन कार्यक्रममा जिल्लाका कवि तथा कवयित्रीहरुले कविताहरु वाचन गरेका थिए । उनीहरुले कवितामा सरकार, राजनिति, प्रशासन र गणतन्त्रका विकृतिहरुका विपक्षमा कविता बाचन गरेका थिए । कन्चनपुरमा वलत्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तले न्याय नपाएको, लामो समय देखि चिकित्सा क्षेत्रमा सुधारको माग राखी अनसन बसिरहेका गोविन्द केसीको मागको सुनुवाइ नभएको, लगाएतका विषयमा कविता वाचन गरेका थिए ।

नेताहरुले नैतिकता गुमाउदै गएको, जताततै भ्रष्टाचार मौलाउदै गएको, लाखौं युवाहरु जीवनको सुनौलो भविस्य खोजीमा देश छोडेर विदेशिनु परेका घटनालाइ कविताका विषय बनाएर कविता बाचन गरिएको थियो ।

सरकार र राजनैतिक दल विरुद्ध कडा प्रहार गरेका थिए । कार्यक्रममा जाजरकोट जिल्लाका नयाँ र पुराना गरि एक दर्जन वढी साहित्यकारहरुले आफना कविताहरु वाचन गरेका थिए ।

१३५ औं जन्मजयन्तीका अवसरमा लेखनाथको शालिक रहेको जिल्ला समन्वय समितिको प्रांगणमा आयोजित कविता वाचन कार्यक्रममा जाजरकोटका साहित्यकारहरु हरि सन्दर्भ, जनक सम्वेदक, बालकुमार शर्मा, अच्युतप्रसाद शर्मा, मित्रगणेश श्रेष्ठ, जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत, कवयित्री सुनीता शर्मा र टुकमाया घर्ती तथा निरोज विक, करण शाही र यज्ञराज घर्ती लगाएतले विभिन्न शिर्षक र विषयमा कविता वाचन गरेका थिए ।

कविता सुन्नका लागि जिल्ला समन्वय समितिको प्रांगणमा स्थानीय सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । लेखनाथ साहित्य प्रतिष्ठान जाजरकोटले लेखनाथ पौडेलको जन्मदिनका अवसरमा वर्षेनी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । प्रतिष्ठानले आगामी फागुन ४ गते जिल्लामा राष्टिय स्तरका साहित्यकारहरुको उपस्थितिमा भव्य साहित्य सम्मेलन गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हरि सन्दर्भले जानकारी दिए ।

जिल्लाको साहित्य क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुरयाउन आफुहरुले विभिन्न साहित्यीक कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले साहित्य मार्फत समाज देश वदल्न सकिने वताए । समाज र मुलुक परिवर्तनका लागि कला र साहित्यको भुमिका अमुल्य रहेको उनले वताए ।

कुशेमालिकावाट