देउताको डरले छाउ बार्न बाध्य

visionkhabar
प्रकाशित मितिः सोमवार, पुस ३०, २०७५  || 183 Views   ||   |  

जाजरकोट । छाउगोठ बसेकी महिलाको मृत्यु भइरहने समाचार सुन्नुपर्दा जाजरकोट जुनीचाँदे–४ लुहादहकी १७ वर्षीया मनीषा खड्कालाई नरमाइलो लाग्छ।

फेरि महिनावारिका बेला छाउ नबारी घरभित्रै बस्दा देउता रिसाउँछन् कि भन्ने पीर पनि उत्तिकै छ उनी भन्छिन्, ‘छाउ नबारे देउता रिसाउँछन । देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उनको मस्तिष्कमा छ। महिनावारीका बेला चिसोले ज्यान जाने त्रास मात्रै होइन, एक्लै सुत्नुपर्दा यौन दुव्र्यवहारमा परिइन्छ कि भन्ने सधैंको पिरलो पनि छ उनलाई।

जाजरकोटका दुर्गम भेगका महिला अझै मासिक श्रावका बेला छाउगोठमै खान्छन्, त्यहीँ बस्छन्, त्यहीँ सुत्छन्। महिनावारीका बेला छाउगोठमै बस्नुपर्छ भन्ने उनीहरूलाई अझै लाग्छ। चेतना अभाव र धार्मिक अन्धविश्वासका कारण रजस्वाला हुँदा महिलाहरू गोठमै बस्नुपर्ने बाध्यतामा छन्। जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन अद्यापि छ। सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्छन्।

छाउपडीलाई महिलाहरूले निरन्तरता दिइरहेका छन्। यस्तो समस्या ग्रामीण अशिक्षित महिलामा धेरै रहेको जुनीचाँदेका स्थानीय हरिबहादुर खड्का बताउँछन्। ‘पढेलेखेका विद्यार्थी पनि परिवारको दबाबमा छाउ बार्न बाध्य छन्।’ महिनावारीका बेला घर बस्दा जिउमा देउता चढ्ने भन्दै छाउगोठमा बस्ने गरेको जुनीचाँदे–४ की १७ वर्षीय लक्ष्मी खड्का बताउँछिन्। उनले भनिन्, ‘रजस्वाला भएका महिलाले दूध दही खाँदा भैंसीले दूध दिन छाड्ने भन्दै खान दिँदैनन्, यस्तो बेलामा फलफूलका बिरुवा पनि छुन दिँदैनन्।’ युवतीहरू मिलेर यो प्रथा अन्त्य गर्न लागिपरे पनि परिवारले महिनावारीकै बेला समयमा छाउगोठमै राखिदिने गरको जुनीचाँदे–११ कि शारदा बस्नेत बताउँछिन्।

छाउपडी उन्मुलनका लागि पहल गरे पनि पुराना मानिसहरू धर्म परम्परा भन्दै त्याग्न नमान्दा समस्या भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।