कविता : वा! तुल्सी गिरी वा!

Visionkhabar
प्रकाशित मितिः आइतवार, पुस २९, २०७५  || 463 Views   ||   |  
  • दयालबहादुर शाही

कविता : 

हरेक बृद्ध आदरणीय हुन्छ
हरेक मृतक श्रद्धेय हुन्छ
तर बुढा, तिम्रो अन्त्यष्टीले
राजकीय स्वरुप लिनु पर्ने हो
आफ्नै गरिकमाइ र विगत
आखिरमा आफैलाई भारी पर्न गयो
वा! तुल्सी गिरी वा!

नेता जनतासँग जोडिएको हुनुपर्छ
सत्ता जीविकासँग जोडिनु पर्छ
पृथ्वी नारायण शाह
बिशे नगर्चीको घरसम्म झुके
रित्तो हात आफूसम्म पुगेकालाई
झुपडीले सदबुद्धि दिएर पठाउने गर्छ
वैभवशाली नेपाल उपत्यका
हप्कीदप्की गर्ने जुम्ला
समृद्ध मकवानपुरको वीचमा
सानो पर्वते राज्य गोर्खा
पौरखको वलमा उठन सक्छ
वलियो कोष र हातियारको जोहोले
गोर्खाको भाग्यरेखा कोर्न सक्छ
खाली खोपडी लिएर
नगर्ची वस्तीमा पुगेका पृथ्वी
नेपाल उठाउने, नेपाली जुटाउने
जुक्ति कुम्ल्याएर फर्केका थिए ।
बुढा तिमीले त
आफ्नो समयका पृथ्वीलाई
उल्टो सल्लाह दियौ
वा! तुलसी गिरी वा!

काजी बनाउन चाहेर
विराज बखेतीलाई खुशी पारे
जनताको चाहनालाई शिरोपर गरी
कालु पाण्डेलाई काजी बनाए
एकातिर फर्केपछि
अर्कापट्टिलाई उपेक्षा नगर्ने
दिल र कलाको आपूर्ति गरे
अनि पो पृथ्वीले
जनएकताको किल्ला खडा गरी
गोर्खालाई भित्रैदेखि मजबुत पार्नसके ।
पाँडेको तरवार र बस्नेतको ढाल
यो सद्बुद्धि र खुराक
मातृभूमिले त्यसै पाएको थिएन
बुढा तिमी त
शुरुमा राजालाई निन्दावर्षा गर्ने
दुच्छरको भूमिकामा उभियौ
पछि असली अनुहारका आएर
आफ्नो समयका कालु पाण्डे
जननिर्वाचित प्रधानमन्त्री वीपीलाई
जेल ठोक्न र नेल हाल्न लगायौ
आफ्नो समयका पृथ्वी र कालु वीच
बेमेलको रेखा कोर्नु
जीवनमा तिमीले गरेको
गर्नै नहुने कुकृत्य थियो ।
भातको निम्ति देशको भविष्यमाथि
हुनसम्म खेलवाड गर्‍यौ
वा! तुल्सी वा!

शुरुवाति कालमा काँग्रेस
बडा दुखले उठेको थियो
सपना सजाएका तरुणहरुको
रगत, पसिना र आँशुको
एउटा त्रुवेणी थियो ।
पैसाको बिटो बुझाएर
हुलमुलमा मिसिएको भिडमा
घाँसमा हरियो सर्प लुकेझैं
काँग्रेसमा लुकेर बस्यौ ।
मौका पाउँदा साथ डसेरै छाड्यौ
अन्ततः तिमी र तिमी जस्तैका कारण
समय उल्टिन गयो
राजनीति उल्टोपाल्टो खेल बन्न गयो
जनताले अब पृथ्वीको
चेतना बोक्ने तर नश्ल नबोक्ने
दृढ निर्णय लिइसके
नश्ल र चेतनालाई
नअलग्याई नहुने भयो
किनकी चेतनाले
जनताको भावनालाई जोड्छ
तर संकीर्ण नश्ल र नश्लीय सोचले
देशको एकतालाई नजोड्ने रहेछ
जनता धन्न बिबश भए-
‘‍माफ गर पृथ्वी
घोडा तर्ने भए लिड बग्ने भए
हामी तिम्रो चेतना बोक्छौं तर
तुलसी र तुलसीहरु रुपी
स्ट्राइकरद्वारा सञ्चालित
क्यारेमबोर्डका गोटी बोक्न नसक्ने भयौं ।’
नकारात्मक ढंगले नै सही
जनतालाई यस्तो दिब्य ज्ञान
प्रतिपादन र अनुशरण गर्न
उत्प्रेरित गर्‍यौ
वा! तुल्सी गिरी वा!

टुप्पोबाट पलाएका थियौ
भुईँबाट उठेका थिएनौ
बिद्वताको जलप लगायौ
बैभवताको भर्‍याङ्ग चढ्यौ
आधारतह गोठसम्म पुगेनौ
गोबर देखेनौ, भकारो पुछेनौ
राजनीतिरुपी दूध ब्यबशायको
क्यास काउन्टरमा मात्र बस्यौ ।
झोपडीमा पुग्नु परेन
चिसो च्हुलोको पिडा देख्नु परेन
बिरामी कुर्नु परेन
जन्ती जानु परेन
मलामी बन्नु परेन
पसिनामा पसिना,आँशुमा आँशु
रगतमा रगत बगाउनु परेन
त्यसैले त यो देशका तरुणहरुले
तिम्रो भँडुवा पश्चगामी बाटो
झुक्किएर पनि अनुशरण गरेनन्
तिम्रा छोरा, भतिजा, छोरी र ज्वाँइले समेत
तिम्रा आफन्त हुँ भन्न रुचाएनन्
द्वन्द्वमा खेलेर
एउटाको काँध चढी
अर्कोको टाउकोमा लठ्ठी बर्साएर
पाए टप्काउने नत्र टाप कस्ने
अक्कड र अनौठो काइदा
अबसरवादको टि गिरी नमुना
उही र उस्तै भए पनि
बेला बेला झस्किन बिर्सिदैनन् ‍उनीहरु
कौशलतापूर्वक सम्हालिने गर्छन्
फरक आवरणमा आफूलाई ढाल्न
खपत गर्न र छिपाउन
अभ्यस्त र बिबश छन उनीहरु
यो धर्तीमा नहेरर पनि
आफ्नै सन्तान र कुटुम्बलाई
हुनसम्म सास्ती दियौ
वा! तुल्सी गिरी वा!

भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस :