स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

visionkhabar
प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५  || 107 Views   ||   |  

स्मार्टफोनको चोरी आजभोलिको बढ्दो विषय बनेको छ । तपाईंको पनि स्मार्टफोन चोरी नहोला भन्न सकिदैन । यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् :

१. सिम हराएको दाबी गर्नुहोस्
यदि तपाईंको नम्बरमा कल लाग्दैन भने तुरुन्तै सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गरेर आफ्नो नम्बर हराएको दाबी गर्नुहोस् । सिम हराएको दाबी गरिसके पछि उक्त नम्बरबाट कल अथवा मेसेज गर्नु मिल्दैन । चोरी भएको निश्चित भएपछि मात्र सिम हराएको दाबी गर्नुपर्छ ।

२. आफ्नो स्मार्टफोनलाई लक गर्नुहोस्
हराएको स्मार्टफोनलाई तुरुन्तै लक गर्न मिल्ने सुविधा एप्पल र गुगल दुवैले उपलब्ध गराएका छन् । एप्पलको आइफोनमा फाइन्ड माइ आइफोन (Find My iPhone) मार्फत आफ्नो आइफोनलाई लक गर्न सक्नुहुनेछ । यसै गरि गुगलको फाइन्ड माइ डिभाइस (Find My iPhone) बाट पनि एन्ड्रोइड स्मार्टफोनलाई लक गर्न सक्नुहुनेछ । लक गरेपछि उक्त फोनलाई सहि युजरनेम र पासवर्ड बिना प्रयोग गर्न मिल्दैन । गुगलले लक गर्ने लगायत आफ्नो स्मार्टफोनलाई रिंग गराउने र स्मार्टफोनमा मेसेज देखाउने फिचर पनि उपलब्ध गराएको छ ।

३. आवश्यक कागजातहरु जम्मा पार्नुहोस्
स्मार्टफोन हराएको वा चोरी भएको उजुरी दर्ता गर्नका लागि चोरी भएको वा हराएको स्मार्टफोनको खरिद बिल अथवा सक्कल बट्टाको आवश्यकता पर्छ । उक्त बिल वा बट्टा नभएको खण्डमा उजुरी दर्ता गर्न मिल्दैन ।

४. उजुरी दर्ता गर्नुहोस्
उजुरी दर्ता गर्नका लागि हनुमान ढोका, टेकुमा जानु आवश्यक पर्छ । त्यहाँ थुप्रै स्टल हरुमध्ये कुनै एकमा स्मार्टफोन चोरीको दर्ता गर्ने स्टल पनि रहेको छ । त्यहाँ पाउने फारममा आवश्यक जानकारी दिएर भरेपछि उजुरीको काम लगभग सकिन्छ । उजुरी दर्ता गर्ता आवश्यक पर्ने कुराहरु :

-सक्कल खरिद बिल वा मोबाइलको बट्टा
– IMEI नम्बर ( बिल र बट्टामा पनि लेखिएको हुन्छ )
– उजुरी गर्ने व्यक्तिको परिचय

IMEI ट्रयाकिंगले कसरी काम गर्छ ?
तपाईंले उजुरी दर्ता गरेको लगभग एक साता भित्रमा नै उक्त स्मार्टफोनको IMEI ट्रयाकिंग मार्फत खोजि सुरु भइसकेको हुन्छ । तपाईंको स्मार्टफोनलाई टेलिकमले ब्ल्याकलिस्टमा राखेको हुन्छ र उक्त स्मार्टफोनमा नयाँ सिम हाल्ना साथ उक्त नयाँ सिमको जानकारी मार्फत स्मार्टफोन पत्ता लाग्छ ।