पचास रोपनीमा फैलियो इन्द्राको अलैँची खेती (तस्बिरसहित)

Visionkhabar
प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५  || 248 Views   ||   |  

जाजरकोट । नेपालमा पुर्वी पहाडबाट सुरु भएको कालो सुन नामले परिचित अलैची खेतीमा जाजरकोटका कृषकहरुको आर्कषण बढेको छ । छोटो समयमा राम्रो आम्दानी दिने र निर्यातको पनि राम्रो सम्भावना भएको अलैंची खेतीमा यहाँका कृषकहरुको आकर्षण बढेको हो । अलैंची खेतीले अन्य वाली भन्दा धेरैगुणा बढि आम्दानी दिने भएकोले पछिल्लो समय जिल्लाका कृषकहरु यसको खेती गर्न उत्साहित भएका हुन् ।

दुई बर्ष देखी अलैची खेतीको सुरुवात गरेकी भेरी नगरपालिका वडा नम्बर १० स्यालामा बस्दै आएकी इन्द्रा घर्तीको अहिले ५० रोपनी क्षेत्रफलमा अलैची खेतीको विस्तार भएको छ । पुर्वि जिल्लाको अलैची खेतीबाट प्रभावित भई उनले यहाँ यो खेतीको सुरुवात गरेकी हुन । थोरै लगानी र दुःख गरे तिन, चार बर्षमै लाखौको आम्दानी गर्न सकिने उनको भनाई छ । राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रुपमा यो खेतीको थालनी गरेको उनले बताइन् ।

कविर २२ लाखको लागतमा इन्द्राले ५० रोपनी जमीनमा अलैंचीको विस्तार गरेकी छिन् । पुर्व इलमबाट आफ्नै लगानीमा बिरुवा ल्याएर अलैची रोपीएको छ । छहरी कृषि फार्म स्थापना गरेर उनले डम्बर शाही र जिर्मल जातको अलैंची रोपेकी छिन् । जन्म घर सुर्खेत र कर्म घर ताप्लेजुङ भई हाल यहाँ बस्दै आएकी उनले परम्परागत अन्य खेतीवाली भन्दा अलैची खेतीबाट धेरै राम्रो आम्दानी गर्नसकिने उनको विश्वास छ । नगरपालिकाबाट आफ्नो खेतीको लागि विशेष सहयोग गर्ने बचन पाएको उनले बताईन । अहिले उनको अलैंचीको उत्पादन समेत सुरु भएको छ । उनको फर्ममा १५ सय देखी २ हजार किलो अलैची उत्पाद हुने छ ।

कृषक इन्द्राको अलैंची खेतीवाट आफु निकै प्रभावित भएको भेरी नगरपालिका कृषि उपशाखाका प्रमुख यज्ञ अधिकारीले बताए । उनको अलैची खेतीले आफुलाई इलामको झल्को दिएको छ उनले भने । फार्म यो क्षेत्रकै नमुना रहेको र यो त घुम्नलाइक ठाउँ पनि छ ।

उक्त फार्मको अनुगमन गरेर फर्केका उपशाखा प्रमुख अधिकारीले अलैंचीको अवस्था निकै राम्रो भएको बताए । उक्त खेतीमा सिंचाईको लागि करिव ५ वटा पानी टेंकी, ५० क्वाइल पाइप, २०० वटा स्प्रिङकलरको आवश्यकता रहेको अधीकारीले बताए । उनको अलैचीको विस्तारले नगरपालिकाको आर्थिक समृद्धिमा ठुलो योगदान गर्ने अधिकारीले विश्वास व्यक्त गरे ।

नगरपालिकाले इन्द्राको अलैची फार्मको लागि विशेष सहयोग गर्ने जनाएको छ । इन्द्रा जस्ता परिश्रमी कृषकलाई सहयोग गरिने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । व्यावसाय गर्ने युवाहरुलाई नगरपालिकाले कुनै कसर वाँकी नराखेर लगानी गर्ने उनले बताए ।

भेरी नगरपालिक कृषकहरुलाई अलैंची खेतीतर्फ आकर्षित गर्न बिभिन्न सहयोगका कार्याक्रम ल्याउने तयारी गरेको छ ।

अलैंचीको अन्तराष्ट्रि बजारमा अहिले मुल्या घट्न थालेको छ । सुरुमा यसको एक किलाको २५ सय सम्मम विक्री हुने गरेको थियो । अहिले ६ सय देखी १२ सय सम्ममा विक्री भइरहेको जनाइएको छ ।  अलैचीबाट बिभिन्न प्रकारका मसला, बिस्कुट, बासनादार तेल, औषधि लगायत बनाइने गरिन्छ ।

तस्बिरहरु : 

भिडियो हेर्नुहोस :