बदलिदै महिला सवालहरु

visionkhabar
प्रकाशित मितिः आइतवार, मंसिर २, २०७५  || 270 Views   ||   |  

सरस्वती गिरी
राजनीतिक रुपान्तरणको प्रक्रिया संगै परिवर्तनशील समयमासामाजिकजीवनका सबै आयामहरुमा बहुआयामिक परिवर्तन हुदै आएका छन् । यस्तो परिवर्तन संस्थागत, संरचनागत र प्रबृत्तिगत रुपमाहुंदै आएको छ । परिवर्तनको लक्ष्यभएतापनि ठोस दिशाअपेक्षा गरे अनुरुप अगाडी वढ्दैन । यो त एउटा अबिरल चलिरहने प्रक्रिया हो । यही साश्वतप्रक्रियाको प्रभाबमा आज मानवीय क्रियाकलाप पनि विभिन्न रुप र रंगमा बदलिदै जाने गरेका छन् । नीति, पद्धति, प्रक्रिया र प्रबृतिहरु क्रमश समयानुकुल बन्ने र बनाउने क्रम आज पनि चलिरहेकै छ । तर हिजो गरेको अभ्यास र प्राप्त अनुभवहरु मध्य केही समय क्रम संगै अर्थहीन बन्न जान्छन् । यही यथार्थताको धरातलमा उभिएर हेर्दा पित्तृसत्तात्मक सामाजिक अभ्यासहरुले पीडा दिएका नेपाली महिलाको जीवन संग गांसिएका सवालहरु पनि समय क्रममा बदलिएका छन् । पुराना मुद्दाहरुको गर्भबाट नै नयाँ मुद्दाहरु जन्मने गर्छन् । एकातिर नेपाली महिलाका सदियौं देखिका पुराना मुद्दाहरु संबोधन गर्नै वांकी छ भने अर्को तर्फ युग अनुकुलका नयाँ मुद्दाहरुको पहिचान र प्राथमिकता निर्धारण गर्नु आजको अपरिहार्यता हो । सदियौ देखि पितृसतात्मक मुल्यमान्यता कायम रहेको नेपाली समाजमा नेपाली महिलाहरुको अवस्था एक्काईसौँ सताव्दीमा समेत नाजुक रहेको तथ्य स्वीकार्दै राजनीतिक कोणवाट मात्रनभै आर्थिक र सामाजिक कोणवाट समेत विश्लेषण गरी सम्वोधन गर्नु पर्ने हुन्छ ।

यी तथ्यहरुलाई विश्लेषण गर्ने हो भने महिलाहरुको अवस्था, वर्गीय आधार,भौगोलिक क्षेत्र, जातजाती तथा संस्कृतिमा समयक्रम अनुसार परिवर्तन हुदै गरेको छ । तर समय अनुकुल यो परिवर्तनको गति अति कमजोर छ । यो गतिले विश्व परिदृष्यमा प्रतिष्पर्धात्मक र सम्मानजनक स्थानमा पुग्नन सकिने स्पष्ट छ । नेपाली महिलाहरुको वर्तमान अवस्थाको मापन गर्दा यही तीतो सत्य उजागर हुन्छ । संघीय शासन प्रणालीको अन्तरआत्मा अन्तरनिहीत नेपालकोे संविधान र अन्य कानुन तथा नीति नियमहरु महिलामैत्री देखिएता पनि कार्यान्वयनको पक्ष भने धेरै कमजोर छ । तथापी व्यावसायिक एवं पेशागत,सेवा तथा वस्तु संग सम्वन्धित व्यापार क्षेत्र, प्रशासनिक तथा राजनीतिक क्षेत्र लगायत सार्वजनिक जीवनमा महिला सहभागिता बृद्धि हुंदै गइरहेको आशालाग्दो पाटो पनि विद्यमान छ ।

दीगो विकास लक्ष्यहरु र देशमा परिवर्तित राजनीतिक शासन प्रणालीका कारण उपलव्ध विभिन्न अवसरहरु, जिम्मेवारी, संघीयताको प्राण दीगो र समावेशी विकास स्वीकार गरिनुले संघीय शासन प्रणालीका संघ, प्रदेश र स्थानीयतहका जनप्रतिनिधिहरुका अतिरिक्त अन्य निकायहरु महिला नेतृत्वमा संचालन हुनथालिनुलाई गौरवको विषय मान्न सकिन्छ । विश्वमै चर्चा हुने गरी नेपाल महिलाले धेरै जिम्मेवार अंगहरुमा नेतृत्व गरेर राज्य संचालन गर्ने देशहरुको अग्रसुचीमा पर्न सकोस् भन्ने हामीहरुको साझा चाहना हो ।

त्यस्तै गणतन्त्र स्थापना पछि देशको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनु, संसदको पहिलो महिला सभामुख पदमा ओनसरी घर्ती चयन हुनु, केही समय अगाडी सम्म प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सुशीलाकार्किले वहनगर्नु, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा डा.सुधा त्रिपाठी नियुक्त हुनु,नयाँ संविधानमै महिलालाई नेतृत्वमा पुर्याउने गरी व्यवस्था गरिनु आदि महिला नेतृत्वदायी भुमिकामा रहेका उदाहरण मात्र हुन् । पहिले पहिले महिलाको नेतृत्वमा सरकारी कार्यालयहरु रहदा आश्चर्य हुन्थ्यो र महिला कार्यालय प्रमुख रहेको कार्यालय कुन छ भन्दा जिल्लामा साविक महिला तथा बालवालिका कार्यालयको नाम मात्र आउंथ्यो । अहिले संयोग नै भन्नु पर्छ. संघ, प्रदेश र स्थानीय तह अन्तरगतका विभिन्न सरकारी कार्यालय, जिल्लामा अवस्थित विभिन्न कार्यालयहरु, सुरक्षा निकाय, सामाजिक संघ संस्था, शिक्षण संस्था, कलाकार, धार्मिक संस्था, संचार माध्यममा आवद्ध व्यक्तिहरु विकास साझेदार संघ संस्था, व्यापारी र निजी क्षेत्र, नागरिक संगठन, मध्य महिलाहरुको सहभागिता निर्णायक देखिन्छ । विगत केहि वर्ष यता विभिन्न अधिकारकर्मी तथा महिला अधिकारको वकालत गर्ने संघ संस्थाहरुले ग्रामीण स्तरमा रहेका महिलाहरुको मुद्धाहरुलाई विश्लेषण गरिश्रोत र साधनमा कसरी पहुँच बढाउन सकिन्छ भनेर योजना तर्जुमा गरी समानताको मुद्धा र सशक्तिकरणको मुद्धा अघि सार्न जोड दिएको पाईन्छ जसले गर्दा स्थानीय स्तरमा रहेको प्राकृतिक श्रोत र साधनमा नियन्त्रण, संगठन निर्माण, सहभागिता सचेतना,पहुंचको विकास गराउन वकालत र पैरवीको विकास गर्ने र कल्याणकारी कार्यक्रम जस्ता प्रयासहरुका वावजूद वास्तविक लक्षित महिलाहरु समक्ष विकास र रुपान्तरणका सीमित अभ्यासको लाभ पुग्न नसक्दा अझैं पनि धेरै सवालहरु विद्यमान छन् ।

लैंगिक न्याय र समानताका लागिसम्वोधन हुनु पर्ने सवालहरु
केहि वर्ष यता अधिकारका लागि संगठनहरु निर्माण हुनुका साथै क्षमता विकास, औपचारिक र अनौपचारिक शिक्षा, आधुनिक प्रबिधि, सूचना, शीप, पारिवारिक भूमिका, सामाजिक संस्कारसंस्कृति र परम्परा, लैङ्गिक समानता र समता, नेतृत्व, अगुवाइ र अग्रसरता, कुशलता, सशक्तिकरण, घरेलु कार्यबोझ, संकुचितदायरा, उपेक्षा र बिभेद, शोषण र हिंसाले प्राप्त अबसरको सदुपयोग पर्याप्त मात्रामा हुंन दिएको छैन र सीमित कानूनी अधिकार र सुविधा तथा अवसरहरुको कार्यान्वयन पनि झिनो मात्रामा मात्र भएको पाइन्छ ।

अवको वाटो
परिवर्तनशील समय संगै महिला सवालहरु बदलिएता पनि ग्रामीण स्तरका महिलाहरुले अधिकारका लागि संगठन निर्माण गरेता पनि कार्यान्वयन हुन सकेको छैन । त्यस्तै नेतृत्व तथा निर्णायक क्षमताको समसामयिक विकास, औपचारिक र अनौपचारिक शिक्षा उच्चतम मात्रामा हासिल गर्ने, युग सापेक्ष आधुनिक प्रबिधि, सूचना, शीप र ज्ञान वारे जानकार हुने, पारिवारिक भूमिकामा महिला मैत्री चरित्र स्थापित गर्ने, राज्यका ३ तहका सरकारहरु, सार्वजनिक निकाय, नागरिक समाज र राजनीतिक दलको संरचना र निर्णय प्रक्रियामा लैङ्गिक समानता र समता प्रवद्र्धन गर्ने, नेतृत्व, अगुवाइ र अग्रसरता कुशलता वढाउने, समसामयिक आयामहरुमा संस्था, समुदाय र अगुवाहरुको सशक्तिकरण गर्ने, प्रत्येक घरलाई घरेलु हिंसा मुक्त राख्ने, घरेलु कार्यबोझ कम गर्ने, व्यक्तिगत र सामाजिक सोचको संकुचित दायरा त्याग गर्नेृ, उपेक्षा र बिभेद विरुद्ध आवाज निकाली राख्ने,स्थानीय तहहरुले दीगो तथा समावेशी विकासका लागि वाल विवाह, महिला माथीका हिंसा विरुद्ध सशक्त योजना वनाई कार्यान्वयन गर्ने,शोषण र हिंसा विरुद्ध जनमत वनाउने र प्रतिकार गर्ने,अबसरको सदुपयोग गर्ने क्षमता वढाउने जस्ता अभियान तथा कार्यक्रमहरु संचालित भएतापनि कार्यान्वयनमा सवै सरोकारवाला निकायहरुले आत्मसात गर्न खाँचो देखिन्छ ।

समाजको गतिशील र परिवर्तनशील यात्रालाई विभिन्न पक्षहरुले प्रभावित पारिरहेका हुन्छन । परिवर्तन तर्फ उन्मुख मानवीय अभिरुचिलाई मुर्त रुप दिन महत्वपूर्ण भूमिका हुन्छ । सत्यमा आधारित तथ्यहरुको खोजी तथा आधुनिक जीवन यापनका सहज र उपयोगी पद्धतिको विकास र विस्तारमा महिला सशक्तिकरणले महत्वपुर्ण भूमिका खेल्दछ । पछिल्लो समयमा समावेशी विकासका लागी सवै क्षेत्रमा समावेशी अधिकारको अवधारणागत र सैद्धान्तिक पक्षलाई सवैले आत्मसात गर्दै आएका छन । तर ब्याबहारिक रुपमा यसबाट प्राप्त परिणाम र देखिने परिवर्तनको गती भने अति सुस्त नै छ । परिवर्तित सन्दर्भमा वस्तुगत आवश्यकता एवं ग्रामिण क्षेत्रका महिलाहरुका हक अधिकार संग समावेशी विकासको गतिलाई जोडदै लैङ्गिक सवालहरुमा केन्द्रित हाम्रा महिला मुखी नीति र कार्यक्रमले अपेक्षा गरेको अवस्था हाँसिल गर्न सवै तह र क्षेत्रको संस्थागत, समुहगत र बैयक्तिक भुमिका अपरिहार्य हुन्छ । सामाजिक न्यायमा आधारित समतामुलक मानव विकासका लागी सर्वप्रथम लैङ्गिक सवाल तथा मुद्दा र महिला नेतृत्वको भुमिका पहिचान र प्रयोगमा ल्याउन आवश्यक छ । यहाँका महिला, किशोरी र वालिकाहरुले घर,समुदाय र विद्यालयमा भोग्नु परिरहेका विभेद,उपेक्षा,दुरुत्साहन, शोषण र हिंशाको अवस्था अन्त्य गर्न संस्थागत र योजनाबद्ध अभ्यासको थालनी गराउन अपरिहार्य देखिनुका साथै किशोरी र वालिकाहरुको सवै तहको शैक्षिक अभ्यासका लागि अनुकूल एबं सकारात्मक वातावरण निर्माण गर्दै घरेलु कार्यबोझ र हिंशा हुन नदिन निरन्तर सचेतना जगाउन आवश्यक देखिन्छ ।

महिला नेतृत्वको भुमिका
यस सन्दर्भमा महिला सवालहरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनका सवै तहमा कार्यान्वयन गर्न ग्रामीण स्तरका महिलाहरुको जीवनस्तर सुधार र समुन्नतिको आधारको रुपमा महिलाका सवालहरुको कार्यान्वयन हुनु अपरिहार्य भएकाले महिलाहरुको आत्मवल र आत्मविश्वास वढाउन र अवसरहरुको उपयोग तथा हिंसाको प्रतिकार र सामाजिक संवेदनशीलता वढाउन अपरिहार्य छ । हाल सम्मको महिला सश्क्तिकरणको प्रवृत्ति केन्द्रीकृत स्वरुपको भएकाले जीवन उपयोगी शीप, अधिकार, सभ्यता र प्रणालीलाई संस्थागत गर्न पर्याप्त सफलता प्राप्त नभएकाले यसलाई तत्कालै सुधार गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा
महिलाका सवालहरुको सम्वोधन गर्ने वारेमा नेपालको संविधानले समेत दिशा निर्देश गरेको हुंदा संविधानमा व्यवस्था गरिएका विभिन्न महिला सम्वन्धी र लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी वनेका नीति तथा कार्यक्रमहरुमा टेकेर महिला सवालहरुलाई स्थानीय विकासमा मूल प्रवाहीकरण गर्न अपरिहार्य छ ।

वर्तमान अवस्थामा स्थानीय स्तरदेखि नै महिला नेतृत्वको सहभागिता प्रवद्र्धन गर्न स्थानीय तहहरु, नागरिक संगठन, सामाजिक सस्था र सामुदायिक संस्थाहरु, संचारकर्मी, राजनीतिक दलहरु लगायत सम्बन्धित पदाधिकारीहरुले संवेदनशील भई विशेष पहल गर्नु पर्ने, स्थानीय स्तरका विभिन्न संजालहरु तथा नागरिक संगठनमा आवद्ध महिलाको नेतृत्व तथा क्षमता विकास र महिलाहरुका मुद्दाहरुमा आफ्नो क्रियाशीलता, सचेतना र सहजीकरणका लागी विशेष आग्रह समेत गर्दछु ।

लेखक : माउन्टेन टेलिभिजनकी जिल्ला सम्वाददाता र सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जाजरकोटकी शाखा प्रमुख  हुन