उपेन्द्र यादवलाई सकस : सिंहदरबारमा बसेर कालो दिवस ?

visionkhabar
प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५  || 296 Views   ||   |  

काठमाडौं । संघीय समाजवादी फोरमकी उपाध्यक्ष एवं प्रदेश २ की अध्यक्ष रेणु यादवले संविधान दिवसको दिन कालो दिवस मनाउने घोषणा गरिन् ।

त्यसको २४ घन्टा नबित्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सर्कुलर जारी गर्दै भने ‘निर्णय छैन, कालो दिवस मनाउने कार्यक्रममा सहभागी नहुनू ।’

यादव र अधिकारीको बेग्लाबेग्लै घोषणाले सरकारमा सहभागी फोरमभित्रको अन्तरविरोधलाई छरपस्ट पारेको छ ।

असोज ३ गते संविधान दिवस परेको छ । संविधान संशोधनको माग गर्दागर्दै ओली सरकारमा सहभागी भएका फोरमका अध्यक्ष उपेन्द्र यादव संविधानविरुद्ध कालो दिवस मनाउन नसक्ने गरी नैतिक बन्धनमा परेका छन् ।

तर, प्रदेश २ मा पार्टीभित्रको ठूलो जनमत असोज ३ लाई ‘कालो दिवस’ का रुपमा मनाउने पक्षमा छन् । राष्ट्रिय जनता पार्टीले कालो दिवस मनाउने भन्दै शीर्ष नेताहरुलाई नै खटाएपछि फोरमका नेता कार्यकर्ता दबावमा परेका छन् । त्यसैले रेणु यादवले प्रदेश समितिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेकी हुन् ।

कालो दिवस नमनाउने केन्द्रीय कार्यालयबाट जारी सर्कुलरलाई सरकार र संसदमा नरहेका फोरमका बहुसंख्यक नेता कार्यकर्ताले सत्तामोहका रुपमा व्याख्या गरेका छन् ।

‘सरकारमै बसेर कालो दिवस मनाउने कार्यक्रममा उहाँ सहभागी हुन नमिल्ला तर, कार्यकर्तालाई मनाउन दिएको भए हुन्थ्यो’ एक नेता भन्छन्, ‘कालो दिवस नै नमनाउनु भन्नु ठीक होइन । यसले उहाँलाई गच्छदार पथमा नपुर्‍याओस् ।’

कतिपयले यसलाई पार्टी अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच बढ्दो दूरीका रुपमा अर्थ्याएका छन् । आफूलाई मन्त्री नबनाएका कारण नेतृ रेणु पार्टी अध्यक्ष उपेन्द्रसँग असन्तुष्ट रहेको चर्चासमेत फोरमभित्र चल्दै आएको छ ।

तर, अहिलेको विवादको मूल कारण यो होइन । पार्टी केन्द्र सरकारमा जानासाथ संविधानप्रति पार्टीको विरोधलाई कसरी जनाउने भन्ने विवाद देखिन्छ ।

संविधान दिवस (३ असोज) को पूर्वसध्यामा फोरमको त्यो विवाद सतहमा आउनु स्वाभाविक छ । किनभने, फोरम सरकारमा पनि छ र संविधान संशोधनको एजेण्डा पनि छाडेको छैन ।

पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादव भने सरकारमा पनि बस्ने र कालो दिवस पनि मनाउने गर्नु उपयुक्त नहुने भएकाले मौन बस्ने निर्णय गर्नु परेको बताउँछन् अनलाइन खबरले लेखेकाे छ ।