श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियाे, अाज हङकङ र भारत भिड्दै

visionkhabar
प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५  || 219 Views   ||   |  

काठमाडौं । एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अफगानिस्तासँग पराजित भएपछि श्रीलंका समूह चरणबाटै बाहिरिएको छ।

श्रीलंकालाई सोमबार भएको खेलमा अफगानिस्तानले ९१ रनले पराजित गर्यो। श्रीलंकाको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले हराएको थियो। लगातार दोस्रो खेलमा पराजित भएर श्रीलंका बाहिरिएसँगै १–१ खेल जितेका बंगलादेश र अफगानिस्तान अन्तिम खेल अघि नै सुपर–४ मा पुगेका छन्।

सोमबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा २ सय ४९ रनमा अलआउट भयो। अफगानिस्तानका लागि रहमत साहले ७२ रनको योगदान गरे। उनले ९० बलमा ५ चौका प्रहार गरे। इसानुल्लाहले ४५ रन बटुले भने मोहमद साहजादले ३४ रनको योगदान दिए। बलिङमा श्रीलंकाका थिसारा परेराले ५ विकेट लिए। अकिला धनन्जयले २ विकेट हात पारे।

२ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१।२ ओभरमा १ सय ५८ रनमा अलआउट भयो। उसका लागि उपुल थारांगाले सर्वाधिक ३६ रन जोडे। थिसारा परेराले २८ रन बटुल्दा धनन्यजय डे सिल्भाले २३ रन बनाए। श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा अफगानिस्तानका ४ बलरले २–२ विकेट लिए। मुजिर उर रहमान, रसिदा खान, गुल्बादिन नइब र मोहमद नाबीले २–२ विकेट लिएका हुन्।

आज हङकङ र भारत भिड्दै

एसिया कप क्रिकेटमा आज  हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ ।

हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।

यता, भारत भने रोहित शर्माको कप्तानीमा पहिलो पटक जारी एसिया कपमा खेल्दैछ । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।